कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
288

मुगु-मध्यपश्चिम विश्वविद्यालयले आफ्नो मातहतमा आएका क्याम्पसलाई आंगिक गर्ने कार्य मुगुको रारा शिक्षा क्याम्पसबाट सुरु गरेको छ । विश्वविद्यालयले हिमाली जिल्ला मुगुमा रहेको रारा क्याम्पसलाई मंगलबार विधिवत रूपमा आंगिक बनाएको हो ।
२०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सामुदायिक रूपमा सञ्चालन हुँदै आएको रारा क्याम्पस मंगलबारबाट मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब मध्यपश्चिमको आंगिक क्यामपसका रूपमा सञ्चालन हुनेछ । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुगु जिल्लाबाट संघीय संसद्मा निर्वाचित सांसद गोपालबहादुर बमले २०६४ सालमा काठमाडौंमा पूर्वशिक्षाराज्यमन्त्री हस्तबहादुर मल्ल र आफू बसेर मुगुमा उच्चशिक्षा पढाउन क्याम्पस स्थापना गर्न छलफल गरी जिल्लास्तरमा छलफल गर्न र कागजात जुटाउन लगाएको स्मरण गरे । उनले भने जिल्लामा त्यति बेलाका राजनैतिक नेतृत्व, नागरिक समाज, उद्योग वाणिज्य संघ, प्रशासक र माथीतुम, कार्कीवाडाका जग्गादाताको सहयोगले जिल्लामा सामुदायिक रूपमा क्याम्पस स्थापना गर्न सहयोग पुगेको बताए ।

रारा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर मल्लले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाए पनि समुदायबाट चलाउनु पर्ने भएकाले कर्मचारी र प्राध्यापकलाई तलब खुवाउन समस्या परेको स्मरण गर्दै तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति व्यापारी र यार्सागुम्बा शुल्कबाट उठेको पैसाले जसोतसो आजका मितिसम्म चलेको बताए । भौतिक संरचनामा राष्ट्रिय योजना आयोग, दुर्गम क्षेत्र विकास समिति र विश्वविद्यालय अनुदान आयोगको सहयोग अतुलनीय रहेको उनले बताए । गाउँघरको विकास बजेट काटेर क्याम्पस सञ्चालन हुँदै आए पनि मध्यपश्चिम विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस भएसँगै अब मुगुका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र त्यो पनि सस्तो शुल्कमा भन्दै मल्लले क्याम्पसमा अझै भौतिक संरचनको अभाव भएकाले आगामी दिनमा विश्वविद्यालयले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
रारा क्याम्पसले २०७१ सालबाट मध्यपश्चिम विश्वविद्यालयको आंगिकका लागि प्रक्रिया सुरु गरेको र ५ वर्षपछि सबैभन्दा पहिलो आंगिक क्याम्पस भएको घोषणा गदै विश्वविद्यालयका रजिष्टार यमबहादुर कार्कीले रारा क्याम्पसबाट आंगिक गर्न सुरु गरेर चैत मसान्तसम्म कणाली प्रदेशका ८ क्याम्पस र प्रदेश ५ गरी १० क्याम्पस आंगिक हुने जानकारी गराए । रजिष्टार कार्कीले मंगलबारबाट रारा क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक दायित्व सरकार मातहतको सरकारी विश्वविद्यालय मध्यपश्चिमको मातहत आएको बताए । कार्यक्रमा रजिष्टार कार्कीले गत साउनबाट माघसम्म ७ महिनाको कर्मचारी तथा प्राध्यापकको तलब ९ लाख २०५ रुपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए ।
सरकार मातहत रहेको विश्वविद्यालयको मातहत गएसँगै यहाँको शैक्षिकस्तरमा सुधार, भौतिक संरचनामा सुधार र गरिब निमुखा जनताका छोराछोरीले सस्तो शुल्कमा उच्च शिक्षा पाउने आशा गरेका छन् । हाल क्याम्पसमा विभिन्न संकायका ३२० जना विद्यार्थी अध्यनरत छन् ।

दानबहादुर बुढा