सागर परियार
आइतवार, जेठ २७, २०७५
300

जुम्ला- सिंजा गाउँपालिका–२ चुलेलगाउँमा अवस्थित श्री आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरू विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुटेका छन् । गाउँको जंगलमा दुर्लभ जनावर रेडपाण्डा पाइने भएकाले त्यसको संरक्षणका लागि उनीहरू आवाज उठाउन थालेका हुन् । सामुदायिक वन घोषणा हुँदा पनि दिनप्रतिदिन वन विनास तथा चोरी सिकारी बढ्दै गएपछि त्यहाँ बस्ने रेडपाण्डा पनि दुर्लभ हँुदै गएको विद्यार्थी र शिक्षक–शिक्षिकाको भनाइ छ ।
रेडपाण्डा संरक्षण नेटवर्क काठमाडौँ र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सुरु गरेको रेडपाण्डा संरक्षण अभियानलाई उनिहरूले पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार रेडपाण्डा संरक्षण नेटवर्कको सहयोग र कर्णाली विकास हातेमालो सेवा समाजको आयोजनामा सम्पन्न रुट्स एण्ड सुट्स ग्रुपअन्तर्गत बाल क्लब पुनर्गठन तथा भित्ते लेखन अभिमुखिकरणमार्फत् उनीहरूले रेडपाण्डाको विषयमा पूर्ण जानकारी पाएपछि संरक्षण अभियानमा जुट्ने घोषणा गरेका थिए ।

अभियानअन्तर्गत रेडपाण्डाको विषयमा नियमित भित्ते लेखन लेख्ने, सूचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा जानकारीमूलक कार्यक्रम गर्ने विद्यालयका बालक्लव अध्यक्ष विनोद शर्माले बताए । विद्यालयले गर्दै आएको अतिरिक्त क्रियाकलाप अनुसार रेडपाण्डा संरक्षणका लागि वृक्षरोपणका कार्यक्रम गरिने बालक्लवको भनाइ छ ।
कक्षा ८ सम्मका विद्यार्थी र शिक्षक–शिक्षिकाले पनि त्यस्तो अभियानलाई प्रभावकारी बनाउन समुदायमा छलफल गर्ने बताएका छन् । साथै भित्ते लेखनका विषयमा जानकारी पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक जयलाल खत्रीले भने, “विश्वको दुर्लभ जनावर रेडपाण्डा हाम्रो वनजंगलमा पहिले प्रशस्त पाइन्थ्यो । तर अहिले देखिन छाड्यो । त्यसको प्रमुख कारण वन विनाससँगै पानीको स्रोत घट्दै जानु हो ।” रेडपाण्डको बासस्थान असुरक्षित भएपछि उनीहरूको जिवन प्रक्रियामा असर पर्नुका साथै त्यो जनावर लोप हुँदै गएको उनको भनाइ छ ।
रेडपाण्डा संरक्षण परियोजना प्रमुख पुरुषोत्तम जैशीले चुलेल गाउँ नजिकैको सामुदायिक वनहरूमा पनि रेडपाण्डा हुन सक्ने भन्दै विद्यार्थी, शिक्षक, सामुदायिक वन उपभोक्ता समिति र अन्य समुदायलाई पनि त्यसको संरक्षणका लागि अभियानमा जुट्न आग्रह गरे ।
उनले भने, “यसको संरक्षणको अभियानमा हामी मात्र लागेर हुँदैन, सबैको साथ चाहिन्छ । दुर्लभ जंगली जनावरको संरक्षणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउनुका साथै प्रत्यक्ष अभियान स्थानिय तहले पनि चलाउनु आवाश्यक छ ।” रेडपाण्डा संरक्षणका लागि वनजंगल फडानी तथा आगलागी र चोरी शिकारी कार्य रोक्नुपर्ने उनको भनाइ छ ।
त्यस गाउँको वनमा रेडपाण्डाको अवस्थाका विषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रम संचालन गरिने उनले बताए । सोही अवसरमा रेडपाण्डाको विषयमा उनले विद्यार्थी, शिक्षक, शिक्षिका, व्यवस्थापन समिति र सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया गरेका थिए ।