विद्यालय भवन बनाउँदै सेना
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
269

बागलुङ-जीर्ण भवन र अव्यवस्थित भौतिक संरचनाका कारण दैनिक पठनपाठनमा समस्या भएपछि नेपाली सेनाले यहाँको एक विद्यालय भवन निर्माण सुरु गरेको छ । दूरदराजका बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस् भनेर सेनाले जिल्लाको निशिखोला–२ स्थित हिमालय प्राथमिक विद्यालयको भवन निर्माण सुरु गरेको हो ।
विद्यालयको भवन निर्माणमा नेपाली सेनाको घोडाबाँधेस्थित अर्जुनबाँण गणका ३५ जना जवान खटिएका छन् । गणले श्रमदान र आर्थिक सहयोगसमेत गरेको छ । सामाजिक उत्तरदायित्व बोध गरेर आफ्नो गणबाट १ लाख ५० हजार रुपैयाँ नगद र दुई लाख ५० हजार रुपैयाँबराबरको श्रमदान गरेर ४ लाखबराबरको सहयोग गरेको गणपति भुवनराज देवकोटाले बताए । विद्यालयमा पुराना र जीर्ण भवन छन् ।
धेरै बालबालिका पढ्ने लेख्ने भएपनि यहाँ बालबालिकाले पर्याप्त कोठा पाएका थिएनन् । “विद्यार्थीको चाप र शिक्षाको गुणस्तर निकै राम्रो रहेछ,” देवकोटाले भने, “भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या छ भन्ने थाहा पाएपछि सहयोग गर्न कस्सिएकाा हौं ।” स्वतस्फूर्त रुपमा उत्तरदायित्व बोध गरेर भवन निर्माणमा सघाएको उनले बताए ।
पुरानो र जीर्ण भवनमा बस्दा दुर्घटनाको जोखिम थियो । भूकम्पको समय र गत वर्षको बाढी पहिरोले पनि यो विद्यालयमा थप क्षति पुराएको प्रधानाध्यापक टेकबहादुर छन्त्यालले बताए । विद्यालयको खेल मैदानमा पनि खाडल परेकोले विद्यार्थीहरु जान डराउँथे । कुल १२ लाख रुपैयाँको भवनका लागि गाउँपालिकाले पहिलो चरणमा ५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
सेनाले १ लाख ५० हजार रुपैयाँ नगद र दुई लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेर ४ लाखको सहयोग पुराउन लागेको हो । गाउँपालिकाले दिएको ५ लाखले नपुग्ने भएपछि पुनः ३ लाख थप गरेर ८ लाख पुराईदिएको प्रधानाध्यापक छन्त्यालले बताए । भवन जीर्ण भएपछि आर्थिक अभावले गाउँलेले भवन बनाउन सकेका थिएनन् । गाउँपालिकाले सहयोग गर्न योग्य विद्यालय देखाइदिएपछि सेनाले गतेदेखि गाउँमै बसेर भवन बनाइरहेको हो । भूकम्प प्रतिरोधी र ढलानसहितको भवन बनाईदिने निर्णयले स्थानीय खुसी भएका छन् ।
-त्रिलोचन रिजाल