विद्यालय गाभ्दै स्थानीय सरकार
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५
531

जिल्लाका स्थानीय सरकारले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय
मर्ज गर्ने अभियान थालेका छन् । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ ।
जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भएका विद्यालयहरूमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मर्जको अभियान सुरु गरेका हुन् । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयहरूलाई उपमहानगरपालिका तथा गाउँपालिकाहरूले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माका अनुसार शिक्षा कार्यविधिलाई आधार मानेर तुलसीपुर उपमहानगरपालिका १६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभूत विद्यालय लक्ष्मीपुरमा र वडा नम्बर ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाभिएको छ । पहिलो चरणमा उपमहानगरपालिकाका १६ वटा विद्यालयहरू मर्ज गर्ने र विस्तारै विद्यार्थीको संख्या हेरेर अन्य विद्यालयहरू पनि मर्ज गर्ने विकले बताए ।
“विद्यार्थीको संख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौं,” संयोजक विकले
भने, “त्यसको सुरुवात भैसकेको छैन ।”
उपमहानगरपालिकाले विकट क्षेत्रमाकम्तीमा पनि एउटा विद्यालयमा १० जना विद्यार्थी र सुरुमा २० जनासम्म हुनुपर्नेनियम बनाएको छ । उनले हाल ५० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयहरूलाई उपमहानगरपालिकाले मर्ज गर्ने बताए । नगर क्षेत्रभित्रका दुर्गम क्षेत्रका विद्यालयलाई भने एक वष भित्र विद्यार्थी संख्या बढाउने मौका दिएको उनले बताए । “हामीले अब १६ वटा विभिन्न विद्यालयहरू यस वर्ष मर्ज गर्दैछौं । केही विद्यालयलाई एक वर्षको समय दिएका छौं,” शिक्षा संयोजक विकले भने । उनले नियमीत अनुगमन गर्ने र आवश्यकता अनुसार शिक्षा विधिलाई टेकेर काम अगाडि बढाउने बताए ।

त्यस्तै गाउँपालिकाहरूले पनि न्यून विद्यार्थीहरू भएका विद्यालयहरूलाई मर्ज गरेको जनाएको छ । पश्चिम दाङका विभिन्न गाउँपालिकाहरूले पनि स्थानीय स्तरमा शिक्षा कार्यविधि बनाएर विद्यालय मर्ज गरेको जनाएका छन् । शान्तिनगर गाउँपालिकाले यस वर्ष तीनवटा विद्यालयहरू मर्ज गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । उनका अनुसार एउटा विद्यालयमा १ जना विद्यार्थी, एउटा विद्यालयमा ८ र अर्को विद्यालयमा ११ जना विद्यार्थी छन् । गाउँपालिकाले रात्रि प्राविलाई काँसीपुर विद्यालयमा, प्रावि खैरेनीलाई हातिखाल विद्यालयमा र कालिका प्राविलाई शिव सुन्दरपुर मावि बाघमारेमा मर्ज गरेको छ ।
जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । घोराही उपमहानगरपालिकाले पनि विद्यार्थी न्यून रहेका विद्यालय मर्ज गर्ने तयारी गरेको जनाएको छ । उपमहानगरपालिकाले दोस्रो भर्ना अभियान सकिएपछि त्यसको अवस्था हेरेर अगाडि बढ्ने घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए ।
“हामी पहिलो परीक्षा सञ्चालन हुनुभन्दा पहिले नै विद्यालय मर्ज गर्ने सोचमा
रहेका छौं । पहिलो परीक्षा सकिएपछि विद्यार्थीलाईसमेत मनोवैज्ञानिक रुपमा असर पर्ने भएकाले त्योपूर्व नै विद्यालय गाभ्ने काम हुन्छ,” उनले भने ।
-अमरराज आचार्य