कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५
278

•पुरानै डिजाइन र तोकिएकै मितिमा निर्माण हुने विश्वास : मन्त्री पोखरेल

•चीन र नेपालको मित्रताको चिनो : राजदूत यु होङ्

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)को शिलान्याश भएको छ ।
भूकम्पले क्षति पु-याएको देशकै जेठो विद्यालय दरबार हाइस्कुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङ्ले संयुक्त रूपमा शिलान्याश गरेका हुन् ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालय दरबार हाइस्कुलको नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौताअनुसार पुनर्निर्माण सुरु भएको हो ।
विद्यालय पुनर्निर्माणको शिलान्याश गदै मन्त्री पोखरेलले एउटा छुट्टै इतिहास बोकेको दरबार हाइस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने बताए । कार्यक्रममा मन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयलाई सम्पूर्ण विद्यालय बनाउने आफ्नो अवधारणा रहेको दोहो¥याउँदै दरबार हाइस्कुल पनि सम्पूर्ण विद्यालय बन्ने अपेक्षा व्यक्त गरे ।
मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश गरेको जनाउँदै पुनर्निमाणपछि दरबार हाइस्कुल त्यही अवधारणामा अघि बढ्ने बताए । विद्यालय पुनर्निर्माणमा सघाएकोमा चीन सरकारलाई धन्यवाद ब्यक्त गर्दै मन्त्री पोखरेलले तोकिएको समयमा काम सम्पन्न हुने र विद्यार्थीले पढ्न पाउने कुरामा विश्वस्त रहेको पनि उल्लेख गरे ।
यस्तै कार्यक्रममा राजदूत यु होङ्ले नेपालको विकास र समृद्धिका लागि चीन सदैव साथ रहने प्रतिबद्धता ब्यक्त गर्दै, भूकम्पपछि चीनले सुरु गरेका विभिन्न २५ परियोजनामध्ये २ वटा सम्पन्न भएका, १७ वटा निर्माणको चरणमा रहेका र ६ वटाको सम्भाव्यता अध्ययन जारी रहेको जानकारी दिइन् । सोही सहयोगअन्तर्गत देशकै गौरवका रूपमा रहेको दरबार हाइस्कुल निर्माणकार्य सुरु भएको राजदूत होङ्ले बताए । “सुरक्षित, सुन्दर र परम्परागत विशेषता भएको विद्यालय बन्ने छ,” राजदूत होङ्ले भनिन्, “यो विद्यालय चीन र नेपालको मित्रताको चिनो बन्ने छ ।” विद्यालय पुनर्निमाणको यो चरणसम्म आइपुग्दा ‘धेरै कठिनाइ’ आइपरेको स्मरण गर्दै राजदूत होङ्ले कठिनाइ माथि विजय गरेर राम्रो सुरुवात भएको उल्लेख गरिन् ।
चिनियाँ सरकारको सहयोगमा २० महिनाभित्र निर्माण सक्ने गरी बन्न लागेको उक्त विद्यालय भवन निर्माणका लागि चिनियाँ मुद्रा ५ करोड ३० लाख (नेपाली ९० करोड १० लाख रुपैयाँ) को लागत इस्टिमेट गरिएको छ । १६५ वर्ष पहिले स्थापना भएको दरबार हाइस्कुल मुलुककै जेठो विद्यालय हो ।