कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५
334

डडेल्धुरा-डडेल्धुराका ७९ सामुदायिक विद्यालयले दुई लाख रुपैयाँ अनुदान पाउने भएका छन् । कुल २५१ विद्यालयमध्ये ७९ विद्यालयले अनुदान पाउन लागेका हुन् ।
सामुदायिक विद्यालयको पढाइ सुधारका लागि अनुदान दिइन लागेको हो । यहाँका सबै सामुदायिक विद्यालयमा गुणस्तरीय तथा प्रभावकारी शिक्षा आर्जनका लागि पुनर्निर्माण, दौतरी शिक्षा, अभिभावकले आफ्ना बालबालिकालाई एक दिनमा कम्तीमा पनि १० मिनेटलगायतका कार्यक्रम सञ्चालन गरिने जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिअन्तर्गत २ लाख अनुदान पाउने ७९ विद्यालयमा कक्षा १ देखि ३ सम्म प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षा पढाइ उपसमिति गठन गरिँदै छ । प्रारम्भिक कक्षामा अध्ययनरत बालबालिकाका अभिभावकलाई समावेस गरी उपसमिति गठन गरिएको छ । विद्यालयमा पठनपाठनका लागि बालबालिकामैत्री वातावरण भए नभएको अनुगमन गर्ने, आफ्ना नानीबाबुलाई खाना, खाजा राम्ररी खुवाउने, सरसफाइमा ध्यान दिने, पढाइतर्फ आकर्षित गर्न आफूले समय दिने, आफूले पनि विभिन्न किताब पत्रपत्रिका वा अन्य सामग्री अध्ययन गर्ने लगायतका क्रियाकलाप गरी कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई पढ्न सिकाउने आदि क्रियाकलापका लागि उपसमितिहरू गठन गरिएका छन् । अनुदान पाउने सबै विद्यालयमा उपसमिति गठन गरिने विद्यालयमध्ये अहिलेसम्म आठवटा विद्यालयमा उपसमिति गठन गरिएको विद्यालयसँग समन्वय गरिरहेको लुनिभा बालसरोकार डडेल्धुराले जनाएको छ ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बालबालिकालाई पढ्न सिकाउने भएकाले सिकाइका लागि पढ्नुभन्दा पहिले बालबालिकालाई पढ्न सिकाउन अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै यसतर्फ विशेष ध्यान दिन गन्यापधुरा गाउँपालिकाका शिक्षा प्रमुख र विद्यालय निरीक्षक हेमन्त पन्तले सबैलाई आग्रह गरे । शिक्षकभन्दा पनि बढी समय बालबालिकाले घरमा आफ्ना अभिभावकसँग नै बिताउने भएकाले पढाइतर्फ आकर्षित गर्ने खालका क्रियाकलाप गर्न जरुरी छ, उनले भने, “बालबालिकालाई समय दिने, आफूले पनि अध्ययन गर्ने, बालबालिकाका कुरा सुन्ने, पढ्न लगाउने, गृहकार्य गर्न लगाउने, गरेको हेर्ने, छरछिमेकीले आफ्ना नानीबाबुलाई कसरी पढाइरहेका छन् हेर्ने अथवा सिकाउने काम गर्नु पर्दछ ।