गोपाल संग्रौला
सोमवार, भदौ २५, २०७५
444

वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू ठगिने क्रम नरोकिएपछि सरकारले म्यानपावर कम्पनीमाथि थप कडाइ गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
वैदेशिक रोजगारीमा जाने र गएका युवा इजाजतवाला कम्पनीहरूबाट नै ठगिने गरेको गुनासो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म नै आउन थालेपछि सरकारले थप कडाइ गरेको हो । विभागले इजाजतवाला कम्पनीलाई परिपत्र गरेर सुधारका कार्यक्रम ल्याउन निर्देशन दिएको छ । कानुनी रूपमा इजाजतपत्र लिएका कम्पनीले कानुनी छिद्र प्रयोग गरेर नै विभिन्न बहानामा कामदारलाई ठगी गर्ने गरेको गुनासो आएपछि विभागले ११ बुँदे निर्देशन दिँदै थप कडाइ गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले वैदेशिक रोजगारीसँग सम्बन्धित कम्पनीका अवान्छित कार्यहरूको विशेष कडाइका साथ अनुगमन र कानूनी दायरामा ल्याउन आवश्यक महशुस भइरहेको जनाउँदै परिपत्र जारी गरेको बताएका छन् ।

“वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवती ठगिने क्रम नघटेको र धेरै युवाले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगिने गरेको अवस्था अझै देखिएको छ,” महानिर्देशक चापागाईंले भने, “वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी आएका अधिकांश उजुरीमध्ये कामदारलाई विदेश पठाइदिन्छु भनी रकम, राहदानी लिने, सम्झौता अनुसारको रोजगारी नपाउने, बढी तलबको आकर्षण देखाइ कम तलबमा पठाउने, सरकारले तोकेको सेवा शुल्क भरपाइ गराई अवान्छित रूपमा थप रकम लिने गरेको पाइएको छ ।” कतिपय कम्पनी कामको लागि चाहिने न्यूनतम विज्ञताको ज्ञानबिना पनि हचुवाको आधारमा पठाउने युवालाई प्रलोभन देखाएर विदेश पठाउने गरेको सरकारी अधिकारीको भनाइ छ । यसैगरी सम्झौतापत्र समायमा उपलब्ध नगराउने लगायतका विषयमा ठगी हुने गरेको सरकारले नै स्वीकार गरेको छ ।
विभागले म्याननपावर कम्पनीका लागि जारी गरेको परिपत्रमा प्रक्रियाको चरणमा कामदारको पासपोर्ट लगायतका कागजात नियन्त्रण लिने, समयमा काममा नपठाउने र त्यस बीचमा कुनै कामदारले नजाने इच्छा गरेमासमेत सबै कागजातहरू फिर्ता नदिने, विभिन्न धम्की र दुःख दिनेजस्ता घटना हुने गरेको उजुरीलाई कडाइ गरिने जनाइएको छ । विभागले जनाएको गन्तब्य मुलुकमा पुगेपछि कामदारका पहिचानका कागजात नियन्त्रण लिने र सम्पर्कविहीन अवस्थामा राख्ने घटनाहरू गरेको पटक पटक उजुरी आउने गरेको जनाउँदै अब कडाइ गरिने जनाइएको छ ।
नेपाल सरकारले यस्ता समस्याहरूको निराकरण गरी सुरक्षित वैदेशिक रोजगारको वातावरण सिर्जना गर्ने सम्बन्धमा धेरै कार्य गरेको भए पनि विकृति अभैm सोचेजस्तो कमी आएको छैन । यसले गर्दा वैदेशिक रोजगारीसँग सम्बन्धित कम्पनीका अवान्छित कार्यहरूको विशेष कडाइका साथ अनुगमन र कानुनी दायरामा ल्याउन आवश्यक छ । यस्ता समस्या पुन नदोहरिने आवश्यक सुनिश्चिता हुने गरी व्यवस्था गर्नका सरकारले परिपत्र जारी गरेको हो ।
कम्पनीले अब कामदारको पासपोर्ट कम्पनीमा संकलन भएपछि अनिवार्य रूपमा नाम, पासपोर्ट नम्बर र कति समयसम्म कम्पनीमा पासपोर्ट रहने हो, सोको अभिलेख पनि राख्नुपर्ने छ । कामदारको पासपोर्ट कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भरपाई दिने व्यवस्था अनिवार्य गर्नुपर्ने छ । यसैगरी कम्पनीको कार्यालयमा आधिकारिक व्यक्ति आफनो परिचयपत्र लगाएर बस्ने व्यवस्था गर्नुपर्नेछ भने अनधिकृत व्याक्तिलाई कम्पनीमा बसाई कामदारसँग लेनदेन र अन्य कुनै प्रकारको कारोबार गराई कामदारलाई ठगी गरेमा सम्बन्धित कम्पनीले नै जवाफदेही बन्नु पर्ने नियम बनाइएको छ ।
यस्तै, सबै म्यानपावरले कामदारको अभिलेख खोजेको समयमा सहजै प्राप्त हुने गरी अभिलेख व्यवस्थापन प्रभावकारी बनाउनु पर्नेछ भने कम्पनीको भिजिटिङ कार्डमा इजाजत नम्बर, कम्पनीको सञ्चालकको नाम, मोबाइल नम्बर राखी कति कामदारले के कति भिजिटिङ कार्ड बनाएको हो को जानकारी विभागलाई कार्डसहित जानकारी गराउनुपर्ने छ । सबै कम्पनीले अनिवार्य रूपमा कम्पनीको वेबसाइट बनाउनु पर्ने र आफ्ना गतिविधि नियमित रूपमा अद्यावधिक गर्नुपर्ने छ । यसरी नै कम्पनीमा कार्यरत र्काचारीलाई शीष्टता र आतिथ्यतासम्बन्धी अभिमुखीकरण तालिम दिनुपर्ने छ ।