गोपाल संग्रौला
मंगलबार, आश्विन २३, २०७५
1283

घरेलु श्रमिकसमेत सामाजिक सुरक्षाको दायरामा

श्रमिक आउटसोर्सिङ कम्पनीमार्फत सेवा गर्ने श्रमिकले समेत सञ्चयकोष, उपदान र कानुनद्वारा तोकिएका अन्य सुविधा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा ५८ ले दिएको अधिकार प्रयोग गरी श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई लगाउन सकिने कामको सूची प्रकाशन गरेर सेवा सुविधा निर्धारण गरेको हो ।
राजपत्रमा सूचना प्रकाशन गरेर हाल सञ्चालनमा रहेका श्रमिक आउटसोर्सिङकर्ताहरूले आगामी पुस ७ गतेभित्र श्रम ऐन र नियमावलीअनुसार दर्ता भइ कानुनमा तोकिएअनुसार सेवा सुविधा दिने गरी सम्झौता गरी श्रमिकलाई काममा लगाउनुपर्ने उल्लेख छ । शुक्रबार राजपत्रमा प्रकाशित गरिएको सूचनाअनुसार यो सेवा सुविधा सुरक्षा सेवा, सहजकारी सेवा, व्यवसाय सहयोग सेवा, घरेलु सहयोगी सेवा क्षेत्रका लागि निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई लगाउन सकिने कामको सूचीअनुसार सुरक्षा सेवाअन्तर्गत काम गर्ने सुरक्षाकर्मी, सहजकारी सेवाअन्तर्गत काम गर्ने सबै प्रकारका सरसफाई तथा फोहोर व्यवस्थापनलाई आवश्यक पर्ने श्रमिक पर्ने छन् । राजपत्रमा प्रकाशित सूचनाअनुसार बगैंचा व्यवस्थापन गर्ने मालीलगायत कृषि श्रमिक, कार्यलय सहायक क्यान्टिन तथा क्याटरिङ श्रमिक भनी निर्धारण गरिएको छ । यसरी नै व्यवसाय सहयोग सेवाअन्तर्गत चालक, परिचालक, लोड अनलोडको ओसारप्रसार तथा भण्डारण व्यवस्थापन गर्ने श्रमिक, मर्मतसम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मीलगायतका निर्माण श्रमिकले यो सुविधा पाउनेगरी निर्धारण गरिएको सहसचिव घिमिरेले बताए । अब घरेलु सहयोगी सेवामा हाउसमेड, केयरगिभर लगायतका घरेलु श्रमिकले पनि अन्य श्रमिकसरह सुविधा पाउने गरी कानुनी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
श्रमिक आउटसोर्सिङकर्ताले श्रमिकलाई कुनै काममा लगाउँदा सरकारले तोकेको न्यूनतम पारिश्रमिक, श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत रकम कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी सञ्चयकोषबापतको रकम जम्मा गर्ने विषय प्रष्ट रुपमा उल्लेख गर्नुपर्ने छ । श्रमिकको आधारभूत पारिश्रमिकको ८.३३ प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदानवापतको रकम जम्मा गर्ने र सामाजिक सुरक्षा योजना लागू भएपछि सो बमोजिम सामाजिक सुरक्षा कोषले तोकेको रकम वा सो व्यवस्था कार्यान्वयन नहँुदासम्म औषधि उपचारबापत वार्षिक १ लाखको बिमा र ७ लाखको दुर्घटना बिमाको प्रिमियमबापतको रमक रोजगादाताले बेहोर्नुपर्ने छ ।
श्रमिकले प्रत्येक वर्ष चाडपर्व खर्चवापत एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्राप्त गर्ने छन् भने श्रमिकले काम गरेको अवधीको २० दिनको एक दिनका दरले पारिश्रमिक सहितको घर बिदा र वार्षिक १२ दिन पारिश्रमिकसहितको बिरामी बिदा पाउने छन् । ओभरटाइम, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा तथा प्रचलित कानुनबमोजिम बहन गर्नुपर्ने अन्य दायित्वसमेत पूरा हुनेगरी सम्झौता गर्नुपर्ने छ ।
हाल सञ्चालनमा रहेका श्रमिक आउटसोर्सिङ कम्पनीहरूले पुस ७ गतेभित्र श्रम ऐन २०७४ को परिच्छेद ११ तथा श्रम नियमावली २०७५ को परिच्छेद ६ बमोजिम श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयबाट इजाजत लिनुपर्नेछ । यस्ता श्रमिकलाई काममा लगाउँदा रोजगारदाताले व्यवसाय स्थापना गर्दा उल्लेख गरिएको मुख्य काम र सोसँग प्रत्यक्ष रुपमा सम्बन्धित काममा आउटसोर्सिङ कम्पनीमार्फत श्रमिक आउटसोर्सिङ गर्न भने नपाउने शर्तहरू अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।