कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५
306

जाजरकोट-जाजरकोट सदरमुकाममा एक जना युवा उद्यमीले बैंकबाट ऋण लिएर खोलेको उद्योगले धेरै युवालाई रोजगारी दिएको छ । भेरी नगरपालका–३ थाप्लेकी ३५ वर्षीया शारदा हमालले १० लाख रूपयाँको लगानीमा सुरु गरेको शारदा होजियारी उद्योगमा धेरै युवाले रोजगारी मात्र पाएका छैनन् उत्पादित वस्तुले समेत राम्रो बजार पाएको छ ।
होजियारी उद्योगबाट उत्पादित सामानको माग धेरै भएकाले पु¥याउनै समस्या भएको हमालले बताइन् । उद्योगबाट दैनिक ८० देखि एक सयवटा स्वीटर उत्पादन हुने गरेको छ । यो उद्योगले पाँच जनालाई रोजगारी दिएको छ ।

स्नातक तह उत्तीर्ण गरेकी शारदाले गत चैतदेखि सदरमुकाममा उद्योग सञ्चालनमा ल्याएको बताइन् । “उद्योग सञ्चालन गरेपछि धेरैलाई अवसर मिल्ने सोचेर नै लगानी गरेकी हुँ,” उनले भनिन् । स्वीटर उद्योगबाट हमालले मासिक ५० देखि ६० हजारसम्म आम्दानी गरिरहेको बताइन् । उद्योगमा विद्युतीय पावर, ह्यान्ड फ्लाइट, सिलाइ र इन्टरलग लगायत मेसिनबाट स्वीटर बनाउने गरिएको छ ।
विभिन्न रंग र साइजका स्वीटर उत्पादन हुने यो उद्योगमा बालबालिकादेखि वृद्धसम्मका लागि स्विटर उत्पादन भइरहेको छ । विशेषगरी विद्यालय पोशाकका लागि स्वीटर उत्पादन हुने गरेको छ । बैंकबाट ऋण लिएर उद्योग खोलेको बताउने हमालले आफ्नै व्यवसायबाट सन्तुष्टि र राम्रो कमाइ भएको जानकारी दिइन् । उनका अनुसार स्थानीयलाई स्वीटर बुन्न सिकाउने र मेसिन सञ्चालनबारे तालिम दिन भारतको हरिद्वारबाट प्रशिक्षक ल्याएको बताइन् ।
उद्योगबाट अहिलेसम्म तीन हजार थान स्वीटर उत्पादन भइसकेको छ । उत्पादित स्वीटर सबै खपत भइसकेकाले माग धान्नै समस्या आउन थालेको उनले बताइन् ।

सञ्जय केसी