गोपाल संग्रौला
बुधवार, मंसिर १९, २०७५
279

वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारहरूको लागि निःशुल्क सीप परीक्षण गरी रोजगारी दिने गरी सरकारले कार्यक्रम शुरु गरेको छ । वैदेशिक रोजगारीबाट सीप, अनुभव र ज्ञान हासिल गरेर फर्के पनि आधिकारिक प्रमाणपत्र नहुँदा स्वदेश फर्केर बेरोजगार बस्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना ल्याइएको हो ।
विदेशमा विभिन्न पेशामा लामो समय काम गरेर फर्केका युवा यो योजनाबाट लाभान्वित हुने सरकारी भनाइ छ । वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका व्यक्तिहरूले आफूले सिकेको सीप परीक्षण गराई सीप आर्जनको प्रमाणपत्र लिने गरी कार्यक्रम अघि बढाइएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । विभिन्न पेशासँग सम्बन्धित सीपको निःशुल्क परीक्षण गराउने कार्यक्रम बोर्डले सञ्चालन गरिसकेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

कार्यक्रम सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिले निर्धारण गरेका फाराम सङ्कलन केन्द्रबाट फाराम सङ्कलन गरी सीप परीक्षण तथा प्रमाणीकरण गराउने कार्यक्रम रहेको बोर्डले जनाएको छ । सीप परीक्षण गराउन इच्छुक व्यक्तिहरूले राष्ट्रिय सीप परीक्षण समितिको बेवसाइट तथा बोर्डको वेबसाइट जानकारी लिन सक्ने जनाइएको छ ।
सीप परीक्षण कार्यक्रममा सहभागी वैदेशिक रोजगारीबाट फर्केको प्रमाण पेश गर्नुपर्ने बोर्डले जनाएको छ । सीप परीक्षणका लागि विभिन्न २० वटा कामका क्षेत्र निर्धारण गरिएको छ । विदेशमा विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काफोल्डर, सटरिङ, कार्पेन्ट्री, स्टोन लेएर मेसिन (डकर्मी), विल्डिङ इलेिक्ट्रसिएन, इन्डस्ट्रिएल इलेक्ट्रसिएन आदि रहेका छन् ।
यस बाहेक सेवामूलक क्षेत्रमा असिष्टेन्ट ब्यूटिसिएन, असिष्टेन्ट वेटर, केएर गिभर, हाउस किपिङ क्लिनरलगायत रहेका छन् । यसैगरी आर्क वेल्डर, आल्मुनिएम फेब्रिकेटर, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन, जुनियर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटर क्षेत्रमा काम गरेका कामदारले पनि सीप परीक्षण गराउन पाउनेछन् ।
सीप परीक्षणमा धेरै भन्दा धेरैको सहभागिता होस् भन्नका लागि बोर्डले अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको छ । विदेशबाट फर्केका युवाहरूका लागि फाराम तथा सीप परीक्षणमा कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ । देशभरका युवाको सहभागिता होस् भनेर जिल्ला जिल्लामा फाराम सङ्कलन कार्य गरिने बताइएको छ । सीप परीक्षण गर्दा तोकिएका २० वटा पेशामध्ये एक व्यक्तिका लागि एक पेशाको लागि मात्र सीप परीक्षण हुने भएकाले आफ्नो दक्षता भएको क्षेत्र छनोट गर्न अनुरोध गरिएको छ ।
चालू आर्थिक वर्षमा बढीमा १ हजार युवाको सीप परीक्षण सम्पन्न हुने बोर्डले जनाएको छ । स्वदेशबाट फर्कने युवाको संख्या भन्दा सीप परीक्षणको कोटा कम भएका कारण एक वर्षमा सबै युवाले सीप परीक्षण गर्ने सम्भावना भने देखिएको छैन । यसका लागि बोर्डले यो वर्ष हजार भन्दा बढी आवेदनहरू आएमा क्रमशः सीप परीक्षण कार्यमा सहभागी गराउने जनाएको छ । यसरी सीप परीक्षणका लागि निर्धारण गरिएका पेशा क्षेत्रहरूको राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत सीप प्रमाणिका अनुसार सीप परीक्षण गरिने उल्लेख छ । सम्बन्धित पेशाको सीप प्रमाणिका समितिको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ । सरकारले सीप परीक्षणलाई व्यस्थित त विश्वसनीय बबनाउन राष्ट्रिय सीप परीक्षण समितिलाई जिम्मेवारी दिएको छ । सीप परीक्षणका देशभर १९ भन्दा बढी जिल्ला निर्धारण गरिएको छ ।
सरकारले सीप प्रमाणपत्र लिएका युवालाई देशका विभिन्न क्षेत्रमा रोजगारी अवसर दिने योजना समेत ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि तथा पशु विकास, ऊर्जा, सिँचाइ, खानेपानी, वन र वातावरण, पर्यटन प्रबद्र्धन, सडक यातायात, पुनर्निर्माण र ठूला तथा राष्ट्रिय गौरवका आयोजनालगायतलाई सम्भावित रोजगारीका क्षेत्र निर्धारण सीप सिकेका युवालाई रोजगारी दिने जनाएको छ ।
सरकारले चौधौं योजनाको उद्देश्य तथा रणनीति योजनामा रोजगारी उन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्धारा दु्रत गतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्ने उद्देश्य राखेको छ । यो उद्देश्य प्राप्तिको लागि योजनाले पाँच प्रमुख रणनीतिहरू अवलम्बन गरेको छ । कृषि क्षेत्रको रूपान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तार मार्फत् उत्पादन वृद्धि गर्ने रहेको छ । ऊर्जा, सडक तथा हवाई यातायात, सूचना तथा सञ्चार र ग्रामीण–शहरी तथा त्रिदेशीय आबद्धता विकासका लागि पूर्वाधार निर्माण गर्ने भनिएको यस्ता पूर्वाधारमा रोजगारी सृजना गर्न सो रकम खर्च गर्न सके रोजगारी वृद्धि हुने देखिएको छ ।