कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
498

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालको औद्योगिक सम्बन्ध एसियामै उदाहरणीय रहेको बताएका छन् । जापान अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको औद्योगिक सम्बन्ध र श्रम नीति विषयक कार्यक्रमको उद्घाटन गर्दै श्रमसचिव दाहालले नेपालको औद्योगिक सम्बन्ध उदाहरणीय रहेको बताएका हुन् ।
उनले औद्योगिक सम्बन्ध राम्रो भए मात्र औद्योगिक शान्ति हुने, उत्पादकत्व वृद्धि हुने, श्रमका विवाद कम हुने बताए । सरकारको केन्द्रीय श्रम सल्लाहकार समिति, न्यूनतम पारिश्रमिक बोर्ड, सामाजिक सुरक्षा कोषलगायतका संरचनामा ट्रेड युनियनहरू र रोजगारदाताको त्रिपक्षीय प्रतिनिधित्व रहेकाले पनि श्रम विवाद मिलाउन सजिलो भएको उनको भनाइ थियो । सचिव दाहालले होटल क्षेत्रमा कार्यरत श्रमिक र रेवानबीचको १० प्रतिशत सेवाशुुल्कबारेको विवाद समाधान गर्न पनि सरकारले छलफल सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विदेशवाट पठाएको रेमिट्यान्सले देश सञ्चालन गर्नेतिर लाग्नुभन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । उनले सवै क्षेत्रमा ऐन कानुन र सम्झौता लागू भएमात्र औद्योगिक सम्बन्ध राम्रो हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिन सरकारलाई सुझाव दिए । ऐन र सम्झौतामा भएको होटल श्रमिकले पाउँदै आएको १० प्रतशत सेवा शुल्क रेवानले एकतर्फी भंग गर्नु कानुनविपरित भएको उनको भनाइ थियो ।
जापानी राजदूतावासका उपप्रमुख योसिकाले नेपालका धेरै श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत रहेको र यस क्षेत्रलाई श्रम ऐनले नसमेटेको भन्दै श्रमिकको जिवनस्तर माथि उठे मात्र मुलुक समृद्ध बन्ने बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भरतराज आचार्यले औद्योगिक सम्वन्ध असल भएमात्र उत्पादकत्व वृद्धि हुने बताए । जिफन्टका उपाध्यक्ष विदुर कार्कीले नेपालको औद्योगिक सम्बन्ध त्यति नराम्रो नभए पनि सम्झौता र कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।