कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
363

लमजुङ - पर्यटन व्यवसायबाट लमजुङका अधिकांश गाउँहरुले छलाङ मारेपछि मध्य नेपालको डढुवा गाउँमा पनि व्यावसायिक होमस्टे सुरु भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्दै गाउँमै रोजगारीको अवसर सृजना गर्न मध्यनेपाल–८ डढुवाका स्थानीयले होमस्टे शुरुवात गरेका हुन् ।
गुरुङ समुदायको बाहुल्य रहेको डढुवा गाउँमा व्यावसायिक होमस्टे शुरुवातको लागि स्थानीय लागिपरेका हुन् । होमस्टे प्रवद्र्धनको निम्ती मध्यनेपाल नगरपालिकाले विशेष सहयोग गरेको छ । गाउँमा व्यावसायिक होमस्टेका लागि स्थानीयलाई पहिलो चरणमा तालिम प्रदान गरिएको मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले बताए ।

“डढुवा गाउँलाई हामीले नगरपालिकाकै नमूना गाउँको रुपमा प्रवद्र्धन गर्न थालेका छौँ,” नगर प्रमुख पाण्डेले भने, “यहाँका स्थानीयलाई व्यावसायिक होमस्टेका लागि तालिम दिइसकेका छौँ, अब संरचना विकासको काम हुँदैछ ।”
नगरपालिका अन्तर्गत सबैभन्दा बाक्लो गुरुङ बस्ती रहेको सो गाउँमा स्थानीय उत्पादनबाट नै स्थानीयको आर्थिकस्तर उकास्न व्यावसायिक होमस्टे शुरुवात गरिएको होमस्टे व्यवस्थापन समिति अध्यक्ष आशा गुरुङले बताइन् । “हाम्रो गाउँका प्रत्येक घरमा कम्तीमा एकजना लाहुरे थिए, आम्दानीको चिन्ता थिएन,” गुरुङले भनिन्, “अहिले विस्तारै लाहुरे हुने क्रम घटेको छ, गाउँमा युवाहरु बेरोजगार छन्, अब गाउँमै बसेर आम्दानी गर्न होमस्टेको अवधारणा ल्याएका हौँ ।”
होमस्टे प्रवद्र्धनका लागि पहिलो चरणको तालिम लिएका स्थानीय हाल पूर्वाधार तथा संरचना निर्माणमा जुटेका छन् । पूर्वाधार तथा संरचना निर्माण भइसकेपछि औपचारिक रुपमा होमस्टे शुरुवात गरिने स्थानीयले बताएका छन् ।
मध्यनेपाल नगरपालिका अन्तर्गतको पहिलो व्यावसायिक होमस्टे भएकोले नियमित पर्यटकहरुको आगमन हुने र स्थानीयको जिवनस्तरमा सुधार आउने होमस्टे सञ्चालकहरुको अपेक्षा छ । होमस्टे सञ्चालनसँगै स्थानीय सस्कृति संरक्षणमा थप मद्दत पुग्ने विश्वास लिएको होमस्टे व्यवस्थापन समितिकी सचिव उर्मिला गुरुङले बताइन् ।
“अग्रजहरुमा परम्परागत सस्कृति हराउने चिन्ता छ,” उनले भनिन् “व्यावसायिक होमस्टे सञ्चालन हुँदै गर्दा कला संस्कृति हस्तान्तरण र संरक्षण पनि हुने रहेछ ।” जिल्लाका उत्तरीभेगमा धेरै गाउँहरुमा व्यवसायिक घरवास कार्यक्रम शुरु भएपनि पश्चिम भेगमा नयाँ भएकोले डढुवा गाउँ होमस्टेको लागि उपयुक्त भएको सरोकारवालाहरुको भनाइ छ । श्रोत, सम्पदा र सस्कृतिमा धेरै धनी भएकोले डढुवा होमस्टेले छोटो समयमै उचाइ लिने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।
“जिल्लामा दुई दर्जन भन्दा बढी होमस्टे छन्,” अध्यक्ष थापाले भने “तर यो अलिक फरक भेगमा भएकोले यसले छिट्टै नै नयाँ उचाई प्राप्त गर्नेछ ।” एकसय भन्दा बढी घरहरु रहेको डढुवा गाउँका २८ जनाले व्यावसायिक होमस्टे सञ्चालनको लागि आधारभूत तालिम लिइसकेका छन् । डढुवा होमस्टेमा स्थानीय समूदायको चलन चल्तीका खाना, संस्कृतिको अनुभव गर्न पाइने स्थानीयले बताएका छन् ।

सन्देश पौडेल