गोपाल संग्रौला
बिहिवार, चैत्र २८, २०७५
466

मलेसिया जाने श्रमिकको स्वास्थ्यमा परीक्षणमा केही पोलिक्लिनिकहरूको सिन्डिकेट तोड्दै सरकारले अब निजी तथा सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ । निजी अस्पताललाई सूचीकरणका लागि सरकारले आवेदन माग गरेसँगै यसअघिको सिन्डिकेट तोडिने भएको हो । सीमित पोलिक्लिनिकले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएकोमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएका निजी अस्पतालले पनि यो सेवा दिनका लागि सूचीकरणमा पर्न निवेदन दिएका छन् । सरकारी अस्पतालले भने निवेदन नदिइ सिधै स्वास्थ्य परीक्षण गर्नसक्ने छन् । सूचीकरणका लागि ४८ निजी अस्पतालले आवेदन दिएका छन् । आवेदनको म्याद गत आइतबार सकिएको छ । जसमा विभिन्न मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र पोक्लिनिकलगायतका १२६ स्वास्थ्य संस्थाले आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि २०७१ मा सूचीकरण भएका पुराना २ सय २६ वटा स्वास्थ्य संस्थामध्ये केहीले मलेसियाको मेडिकलमा सिन्डिकेट लगाउँदै आएकोमा सरकारले ती संस्थाको एकाधिकार तोड्दै मापदण्ड पुगेका तर सूचीकरण नभएका स्वास्थ्य संस्थालाई सूचीकरण गर्न आह्वान गरेको हो । पहिला नै सूचीकरण भएका पुराना २२६ र नयाँ सूचीकरणका लागि निवेदन दिएका १२६ संस्था छन् । यस्तै, अब स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा नै आउनु पर्ने बाध्यता पनि हटेको छ ।
मलेसियाको स्वास्थ्य परीक्षणमा सूचीकरण हुन उपत्यकाका तीन जिल्लाबाट १६ भन्दा बढी निजी अस्पतालले मन्त्रालयमा निवेदन दिएको छन् । उपत्यकाबाट अन्नपूर्ण न्युरो अस्पताल, एभरेष्ट अस्पताल, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल, अल्का अस्पताल, हेल्पिङ हेन्ड, ग्रिन सिटीलगायतले निवेदन दिएका छन् । उपत्यका बाहिरबाट ३३ अस्पतालले निवेदन दिएका छन् । सूचीकरणको निवेदन दिएका र सूचीकरण भएका स्वास्थ्य संस्थाहरूलाई मलेसिया सरकारले पठाएको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि अनुमति दिने छ ।