रोजगारदाता र श्रमिक समान उत्तरदायी
गोपाल संग्रौला
मंगलबार, जेठ १५, २०७५
1130
श्रम नियमावली पारित

सञ्चयकोष, उपदान र तलब बैंक खातामा

 नयाँ श्रम ऐन लागू भएको ९ महिनापछि सरकारले यसलाई थप प्रष्ट पार्न निमावली ल्याएको छ । गत वर्ष भदौमा लागू भएको श्रम ऐन २०७४ को दफा १८२ अनुसार आइतबार मन्त्रिपरिषद्ले श्रम नियमावली २०७५ पास गरेको हो । नियमावलीमा सबै क्षेत्रमा काम गर्ने श्रमिकको तलब अनिवार्य रूपमा बैंक खातामा जम्मा गर्नुपर्ने, कामदारको सञ्चयकोष, उपदानको अनिवार्य व्यवस्था गर्नुपर्नेलगायत बुँदा छन् । रोजगारदाताले आफूले काममा लगाएका श्रमिकको सञ्चयकोषबापतको रकम सञ्चयकोषमा, स्वीकृत अवकास कोषमा वा आपैंm छुट्टै खाता खोली जम्मा गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।यसरी नियमावली जारी गरेर रोजगारदाता र श्रमिकलाई आफ्नो दायित्वप्रति थप उत्तरदायीसमेत बनाइएको छ । कतिपय रोजगारदाताले श्रमिकले आफ्नो दायित्वभित्र काम गर्ने नगरेको गुनासो गरेपछि नियमावलीमा श्रमिकको कार्यसम्पादन मूल्यांकन पनि अनिवार्य गर्ने उल्लेख गरिएको छ । यसरी नै घरेलु कामदारको तलब, बिदा तथा अन्य सुविधाका विषयमा पनि किटान गरिएको छ । नियमावलीमा श्रमसम्झौता, घरेलु कामदार, आपूर्ति श्रमिकको अधिकार, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य, श्रमिक शिशु स्याहार कक्षलगायतका विषयमा पनि प्रष्ट पारिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ऐन र नियमावलीमा भएका प्रावधान कार्यान्वयन गर्ने विषयमा आवश्यक पर्ने अन्य संयन्त्र पनि निर्माण गरिने बताए । “नियमावलीमा प्रष्ट नभएका र अन्य आवश्यक विषयलाई कार्यान्वयन गर्न स्वदेश तथा विदेशमा लागू भएका विषयको अध्ययन भइरहेको छ,” मन्त्री विष्टले भने ।अब नयाँ कामदार नियुक्त गर्दा श्रमिक र रोजगारदाताबीच गरिने रोजगार सम्झौतामा ऐनको दफा ११ को उपदफा ३ मा उल्लेख गरिएको विषयका अतिरिक्त विनिमावली सम्झौताको अभिन्न अंग हुने र श्रमिकले दिने सेवा वा कामसम्बन्धी अन्य आवश्यक सर्त पूरा हुनुपर्ने उल्लेख छ । सरकारले नियमावलीमार्पmत् कानुनको दायरामा नआएका घरेलु कामदारको सार्वजनिक र साप्ताहिक बिदाका बारेमा थप प्रष्ट पारेको छ । अब घरेलु कामदारले पनि वर्षमा १२ दिन पारिश्रमिकसहितको सार्वजनिक बिदा र हप्तामा १ दिन पारिश्रमिकसहितको साप्ताहिक बिदा पाउनेछन् । कुनै कारणले घरेलु श्रमिकलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिनमा काममा लगाउनुपरेमा रोजगारदाताले २१ दिनभित्र सट्टा बिदा वा बढी समय काम गरेबापतको थप पारिश्रमिक दिनु पर्नेछ । नियमावलीमा श्रमिकको कार्यसम्पादन मूल्यांकन गर्न रोजगारदाताले प्रतिष्ठानको विनियमावलीमा तोकिएको आधार तथा प्रकृयाबमोजिम श्रमिकको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने उल्लेख छ । यसरी नै नियमावलीमा श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सुरक्षाका लागि नीति बनाउनुपर्ने उल्लेख छ । ५० वा सोभन्दा बढी महिला श्रमिक कार्यरत रहने कार्यस्थलमा महिला श्रमिकहरूका ३ वर्षभन्दा कम उमेरका शिशुको हेरचाहको लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नु पर्नेछ । 

श्रम नियमावलीका मुख्य प्रावधान
» श्रमिकलाई जगेडा राख्दा सूचना दिनुपर्ने 
» श्रमिकलाई अन्य निकाय वा समयमा काममा लगाउन सकिने
» विदेशी कामदारका लागि श्रम इजाजत र स्वीकृति
» काम गर्ने र आराम गर्ने समय निर्धारण
» प्राथमिक उपचार कक्षको व्यवस्था
» निर्माण श्रमिकसम्बन्धी व्यवस्था
» सरुवा सम्झौता गर्नुपर्ने 
» सामूहिक विवादको समाधान
» असल नियतले सामूहिक सौदाबादी गर्नुपर्ने