रासस
बिहिवार, जेठ २४, २०७५
681

बाबियाचौर, म्याग्दी -जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ । 
जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरेर आयआर्जन गर्ने अवसर मिलेको मालिका गाउँपालिका–५ देवीस्थानका मनबहादुर पुनले बताए। मालिका गाउँपालिकाको देवीस्थानमा ‘वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट’ तथा अन्नपूर्ण गाउँपालिकाको नांगीमा ‘हिमाञ्चल सामुदायिक हाते कागज उद्योग’ सञ्चालनमा छ । 

मालिकाको अदिभारा, धौलागिरिको लमसुङ र रघुगंगाको पाखापानीस्थित नेपाली कागज उद्योग मौसमीरुपमा सञ्चालन हुँदै आएका छन् । एउटा उद्योगमा कम्तीमा चारजनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । 
देवीस्थानका वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योगका सञ्चालक लोकेन्द्र पुनका अनुसार प्रतिकिलो कागज रु ८०० देखि रु छ हजारसम्ममा बिक्री हुन्छ । सरकारी काममा बढी प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुकलगायत सामग्री बनाउन सकिन्छ । 
घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाले स्थानीय स्रोत र सीपमा आधारित उद्योगको विकासका लागि सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सीपमा आधारित उद्यम र व्यवसायमार्फत खेर गइरहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी र आयआर्जनको वातावरण मिलाउने उहाँको भनाइ छ ।