खरायो पालनमा अग्रसर चंखेली गाउँपालिकाकी महिला गोरी जैशी
रेशमराज रोकाया
आइतवार, असार १७, २०७५
836

हुम्ला- “पढेका थिएनौं, पढेको भए पो सरकारी र गैरसरकारी कार्यालयमा रोजगार पाउँथ्यौं ।” उ बेला केही पढिएन, घरमा आम्दानी गर्ने कुनै सीप सिकिएन, श्रीमान्को भरमा मात्र घर खर्च आशा गर्नुपर्ने अवस्था रहेको भए तापनि अब त्यो दिन हुम्लाका महिलाका लागि एकादेशको कथा हुन गएको छ । सधैं खेतबारी र घरयासी काममा व्यस्त हुम्ली महिलाहरु आजकाल जीविकोपार्जनका लागि विभिन्न किसिमका नयाँ र छिटो प्रतिफल दिने लघु व्यवसायमा संलग्न हुँदै गएका छन् । समुदायमा आम्दानी गरी जीविको पार्जन सुधार गर्न विभिन्न वैकल्पिक उपायहरु हुँदाहुँदै पनि पुँजीको अभावमा महिलाहरु घरायसी चुलो चौको मै खुम्चिन बाध्य भएको बेला सामुदायिक विकास कार्यक्रमले विभिन्न सीपमूलक तालिमका साथै बीउ पुंजी १ करोड ६३ लाख स्थानीय तहको समन्वयमा वितरण गरेपछि यो सम्भव हुँदै गएको छ
बीउ पुँजी रकमबाट हुम्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली र अदानचुली गाउँपालिकाका जम्मा १ हजार ६७ जना विपन्न महिलाहरुले उपक्षेत्र विश्लेषणका आधारमा प्राथमिकता गरी मागको आधारमा बाख्रा, कुखुरा, बंगुर, याक, मौरी र खरायो पालन, तरकारी र च्याउ खेती र खुद्रा पसलजस्ता कुल ७ सय ४७ व्यवसाय सञ्चालन गरेका छन् । ६ वटा गाउँपालिकाहरुका २ सय ६८ वटा बाख्रापालन, २ सय ३७ वटा खुद्रा पसल, १ सय १९ कुखुरापालन, ८० वटा तरकारी खेती, २५ वटा मौरीपालन, १० वटा खरायो पालन र ५ वटा च्याउ खेती जस्ता व्यवसायमा विपन्न महिलाहरु संलग्न भई नियमित आम्दानी गरिरहेका कुरा कार्यक्रमका जिल्ला संयोजक राजबहादुर रोकायाले बताए ।
केही महिना पहिले गाउँमा सहज र सरल एवं खोजेको समान पाउन मुस्किल हुन्थ्यो, खाद्यान्न, लत्ता कपडालगायत अन्य चाहिने सामग्रीहरु किन्न २ देखि ३ दिन पैदल हिँडेर बाजुरा र मुगुको नजिक बजारमा जानुपथ्र्यो तर अहिले गाउँमा कार्यक्रमको घुम्ती कोषको रकमबाट महिलाहरुले करिब ४७ वटा खुद्रा पसल खोलेर सहज, सस्तो र सरल रूपमा सामान किन्न पाउँदा सहज भएकोे अदानचुली गाउँपालिका–३ का वडा अध्यक्ष दत्त बिष्टले बताए । सुरुमा ५ हजारमा दराजमा सानो खुद्रा पसल गरेकी अदानचुली–५ कि जसपुरा शाहीले कार्यक्रमको घुम्ती कोषबाट ३३ हजार ऋण लिई ठूलो खुद्रा पसल खोलेर दिनमा करिब ४ हजारको व्यापार गर्न पाउँदा धेरै खुसी भएको बताइन् ।
यही व्यवसायबाट आफ्नो परिवारको घर खर्च, पठन पाठन र उपचार खर्च सहज रूपमा गर्ने गरेको व्यवसायी शाहीले बताएन् ।
त्यसैगरी कार्यक्रमबाट १५ दिने बेमौसमी तरकारीसम्बन्धी तालिम र बीउबिजनका साथै प्लास्टिक पाल पाएकी सिमकोट गाउँपालिका–५ कि जस्मती रोकायाले हिउँद याममा ग्रिनहाउस र वर्षायाममा बारीमा तरकारी फलाएर नजिकको बजारमा बेचेर मासिक ५ हजार कमाएर घर खर्चको जोहो गरिरहकी छन् । यो व्यवसायबाट राम्रो आम्दानी हुने देखेर व्यावसायिक रूपमै तरकारी खेती गर्ने योजना रहेको समेत बताइन् । सिमकोट गाउँपालिकाकै–८ किसानले घुम्ती कोषबाट २० हजार ऋण लिई गाउँमा ठूलो बेमौसमी तथा मौसमी रूपमा तरकारी खेती गरेर वार्षिक ३० हजार आम्दानी गर्ने गरेकी छन् । त्यही कमाइबाट उनले बालबच्चाको पढाइ खर्च र घरायासी खर्चसमेत धान्ने गरेको बताए ।