कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५
620

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरी रोजगारी सिर्जना गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान गर्ने ८ उद्यमीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरकार व्यवस्थापन कार्यविधीले निर्धारण गरेअनुसार १ जनालाई सर्वोत्कृष्ट र अन्य ७ जनालाई उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मान गरिएको हो । सर्वोत्कृष्ट हुनेलाई १ लाख रुपैयाँ, कदरपत्र र उत्कृष्ट हुनेलाई जनही ५० हजार रुपैयाँ र कदरपत्रले सम्मान गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार गरिएको कार्यक्रममा मन्त्री गोकर्ण बिष्टले कदरपत्र र नगदसहित सम्मान गरेका हुन् ।
सर्वोत्कृष्ट उद्यमी पुरस्कार सुन्दरबजार नगरपालिका लमजुङमा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीका सञ्चालक सोमनाम लामालाई प्रदान गरिएको छ । १ लाख रुपैयाँसहित सम्मानित लामाले यूएई र इजरायलमा २-२ वर्ष रोजगारी गरेर स्वदेश फर्कि १६ करोड रुपैयाँको लगानीमा एकीकृत कृषि फर्म सञ्चालन गरेका थिए । यसैगरी ५० हजार राशीको उत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गर्नेमा बाग्लुङको काँठेखला गाउँपालिका–५ मा १ करोडको लगानीमा राष्ट्रिय अलैंची कृषि कम्पनीका सञ्चालक देवीप्रसाद खत्री, कतारबाट फर्केर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ लाख लगानीमा मनकामना होटल तथा भुलभुलले नमुना कृषिफर्म सञ्चालन गर्ने हरि लुईंटेल रहेका छन् । त्यसैगरी साउदी, युएई र इजरायलबाट फर्केर काठमाडौंको कलंकीमा ५५ लाख रुपैयाँ लगानीमा नेपाल थोपा सिँचाइ सञ्चालक खोजराज कटुवाल, साउदी अरबमै १२ वर्ष रोजगारी गरी फर्केर ७५ लाखको लगानीमा मोदी गाउँपालिका पवर्तमा वैशाली कृषि तथा बाख्रा फर्म सञ्चालक गणेश पुन मगर, साउदी अरबमै ३ वर्ष रोजगारी गरी फर्केर ठाकेरबाबा नगरपालिका बर्दियामा २७ लाख लगानीमा प्रेसिका एग्री फर्मका सञ्चालक प्रेमप्रसाद लामिछानेलाई पनि उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको हो । यसैगरी १ करोड ७५ लाख रुपैयाँ लगानी गरेर सैनामैना नगरपालिका शंकरपुरमा पायोनियर एकीकृत कृषि केन्द्रका सञ्चालक द्रोणप्रसाद न्यौपाने र इजरायलमा १ वर्ष रोजगारी गरी फर्केर बढैयाताल गाउँपालिका–७ बर्दियामा नादा एग्रो एन्ड सिड प्रडक्ट सञ्चालक रामदिपाल थारुलाई पनि सम्मान गरिएको छ । सो अवसरमा मन्त्री बिष्टले अब रोजगारीकै लागि नेपालीले विदेश जानुपर्ने अवस्था नरहने गरी सरकारले योजना ल्याउने बताए ।