कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
1652

डडेल्धुरा-बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कृषि फर्म सञ्चालन गरिएको छ । गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा कृषि फर्म सञ्चालन गरी युवालाई कामको जिम्मेवारी दिइएको हो । कृषि फर्ममा नर्सरीदेखि कृषिजन्य वस्तु उत्पादन र पशुपालनसमेत थालिएको छ ।
गाउँपालिकाअन्तर्गत कृषि र पशु शाखाको प्राविधिकसँगै केही रकम पनि कृषि फर्ममा लगानी गरिएको छ । कृषि फर्ममा व्यावसायिक रूपमा च्याउ उत्पादनसँगै गिरीराज जातका कुखुरा, स्थानीय गड्डी भैंसी, बाख्रापालन र सिमी, खुर्सानीलगायतका तरकारी खेती पनि गरिएको छ । बाँझो रहेको करिब ३ सय रोपनी जमिनमा कृषि फर्म सञ्चालन गरिएको हो । ४० परिवारको साझा रुपमा रहेको आवादी बाँझो जमिन स्थानीयले १५ वर्षसम्म निःशुल्क रुपमा गाउँपालिकालाई दिने निर्णय गरेपछि कृषि फर्म सञ्चालन गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबल मल्लले बताए । स्थानीय देउवाहरुको नाममा आवादी जमिनसम्म सडक पुगेको, पानीको सुविधा भएको तथा गाह्रा कान्ला भएको खेती पातीपाती योग्य जमिनमा खेतीपाती गर्न छाडेपछि बाँझो रहेकाले बहुउद्देश्यीय कृषि, पशु, नर्सरी सञ्चालन गरी बढ्दो बेरोजगारीलाई कम गर्न गाउँपालिकाले कृषि फर्म सञ्चालन गरेको अध्यक्ष मल्लको भनाइ छ ।

कृषि फर्ममा पशु शाखाले तीन वटा स्थानीय गड्डी जातका भैंसी खरिद गरी अनुदान दिएसँगै अहिले दुई वटा भैंसीले दूघ दिने गरेका छन् । भैंसीपालनको जिम्मेवारी सम्हालेका युवाले अहिले दुई वटा भैंसीको दूध बडाल बजारमा बिक्री गर्न थालेका छन् । फर्ममा आबद्ध युवाले व्यावसायिकरुपमा च्याउ खेती सुरु गरी च्याउ पनि बिक्री गरेको बताए । कृषि फर्ममा पहिलो पटक चार सय बलमा च्याउ खेती थालिएपछि १० क्विन्टल जती बजारमा बिक्री गरेको अरू उत्पादन स्थानीयलाई समेत बाँडिएको च्याउ खेती सञ्चालन गरेका स्थानीय हिरा भण्डारीले बताए ।
स्थानीय किसान जुन देउवाले बाँझो जमिनमा पहिलो पटक तरकारी खेती गर्न थालिएको बताए । उनले सिमी, खुर्सानीसँगै अनार, चुक, मौसम र कागतीका बिरुवा पनि रोपेको बताए । नर्सरीमा विभिन्न फलफूल, डाले घाँस, रिठा, पुष्प गरी ७५ हजार बिरुवा उत्पादन गरिएका छन । कृषि फर्ममा भूक्षय रोक्न र पशुलाई आहारको व्यवस्था गर्न ईलाका वन कार्यालय गन्यापधुराले पाँच हजार डालेघाँस र कल्कि फूलका बिरुवा सहयोग गरेको छ ।