रेशमराज रोकाया
सोमवार, श्रावण २१, २०७५
778

हुम्ला-कामको खोजीमा जिल्ला बाहिर जाने र भारतमा गई आयआर्जन गर्ने युवाका लागि हुम्ला राम्रो गन्तव्यस्थल बनेको छ । विकास निर्माण र स्थानीय खेतीबालीको कामका लागि हुम्लामा पुग्नेहरूको संख्या बढ्दै गएको छ । जिल्लामा कामदारको अभाव भएपछि बाहिरी जिल्लामा मानिस पुगेर काम गर्न थालेका हुन् । हुम्लामा कामका लागि पाल्पा र बाजुराबाट धेरै युवा पुग्ने गरेका छन् ।
कामको प्रकृति हेरेर समूहमा नै काम गर्न आउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ । आम्दानीको सबै हिस्सा जोड्ने र कामका लागि आनाकानी नगर्ने हो भने महिनामै एक लाख रुपैयाँको हाराहारीमा कमाइ हुने गरेको कामदारहरू बताउँछन् ।

पाल्पाबाट आएर हुम्लामा काम गर्नेहरूको संख्या करिब ५० जनाको छ । जिल्लामा विभिन्न विकासे काम, विद्यालय भवन र स्वास्थ्यचौकी भवन निर्माण, स्थानीयको नयाँ घर निर्माणमा काठ तथा ढुंगाको काम गर्दै आएका सिकर्मी र डकर्मीको माग दिनदिनै बढ्दै गएको छ । ग्रामीण भेगमा दक्ष सिकर्मी र डकर्मीको अभाव हुँदा यस्ता कामदारले राम्रो आयआर्जन गर्ने गर्दछन् । एक दशकदेखि हुम्लामा काम गर्दै आएका बाजुराका सर्जन कामीले प्रतिदिन १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म ज्याला लिने गरेको बताए । नियमित कामको समय बिहान ९ बजेदेखि ५ बजेसम्म हुने र त्यसबाहेकको समयमा पनि काम गर्न भ्याइनभ्याइ हुने गरेको सर्जनले बताए ।
कामका लागि हजारौं युवा विदेश गइरहेका बेला स्वदेशमा नै विकास निर्माणको काम गर्न पाएकोमा कामदार पनि दंग पर्ने गरेका छन् । “कामको भ्याईनभ्याइ छ, हातमा सीप भए कोही कसैले दयाको पात्र बन्नु नपर्ने रहेछ,” एक कामदारले भने । आफूमा आँट र सीप भए काम खोज्न कहिँ कतै जानु नपर्ने उनले बताए । हुम्लामा स्थानीय कामदार थोरै रहेको र उनीहरू बजारको मागभन्दा निकै कम संख्यामा रहेकाले बाहिरी जिल्लाका कामदारले काम पाउने गरेका छन् । हाल सदरमुकाम र आसपासका क्षेत्रमा कामदारको माग बढी हुने गरेको छ । स्थानीय सरकारले निर्माण गर्न लागेका विभिन्न विकासे आयोजनामा पनि यस्ता कामदारले मौका पाउने गरेका छन् ।
स्थानीय खेतीपातीको कामदेखि घर निर्माण, ग्याविन बुन्ने, सिमेन्टसम्बन्धी काम गर्नेलगायतका कामदारको बढी माग हुने गरेको छ । त्यसैगरी भरियाको कामसमेत धेरै पाइने गरेको बाजुराका वीर सार्कीले बताए । “कामलाई ठूलोसानो केही भनिँदैन,” कामीले भने, “काम पाएपछि खाली नबस्ने गरेको छु ।”
“काम गरी खान के को लाज, चोरी र ठगी गरेको छैन,” स्थानीय नरजन विकले भने, “विदेशमा काम गर्न जानुभन्दा स्वदेशमै काम गरे देश विकास पनि हुने र आम्दानी पनि राम्रो हुने भएकाले हुम्ला धेरैको रोजाईमा परेको छ ।” हुम्लाका बासिन्दाको अतिथी सत्कार र कामदारप्रति गर्ने व्यवहार राम्रो भएकाले यस्ता कामदारको संख्या हरेक वर्ष बढ्दै गएको छ ।
अधिकांश कामदारले सिकर्मी र डकर्मीको काम पाउने गरेका छन् । त्यति मात्रै होइन जिल्लामा रहेका फर्निचर उद्योगमा फर्निचर निर्माणका लागि समेत जिल्ला बाहिरबाट कामदार आउने गरेका छन् । सुर्खेतबाट आएर तीन वर्षदेखि हुम्लामा काम गर्दै आएका राकेश सार्कीले दैनिक १ हजार ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । बिहान बेलुका काम गरे थप फाइदा हुने उनको भनाइ छ ।
जिल्ला समन्वय समितिले भने प्रतिदिन कामदारको ज्यालादर १ हजार ३ सय ५० रुपैयाँ तोकेको छ । जिल्ला दररेटमा यहाँको महँगीका कारणले थेग्न नसक्ने भएकाले कामदारले प्रतिदिन १ हजार ५ सयभन्दा कम ज्यालामा काम नलिने गरेका छन् ।