गोपाल संग्रौला
मंगलबार, श्रावण २२, २०७५
458
१६ देशमध्ये नेपाली युवाको कार्यक्षमता उत्कृष्ट

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जाने युवाले बेहोर्दै आएको लागत शुल्क घटेको छ । सरकारले ईपीएसअन्तर्गत कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क घटेको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरिया जाने कामदारको हवाई भाडा प्रतियात्रु १ सय १८ डलर अर्थात करिब १३ हजार रुपैयाका दरले घटेको जनाउँदै लागत शुल्क पनि घटेको बताए । “नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाई भाडामार्पmत तिर्दै आएको ५ सय ३० अमेरिकी डलरबाट २३ प्रतिशत घटाएर ४ सय ११ डलर कायम गरेको छ,” निर्देशक खनालले सोमबार राजधानी आयोजित पत्रकार सम्मेलनमा भने । कोरिया जाने कामदारले राहदानी बनाउँदादेखि कोरिया प्रवेश गर्दासम्म विभिन्न ११ शीर्षकमा पटक–पटक गरेर ९ सय ३३ डलर सेवा शुल्क बुझाउँदै आएका छन् । शाखाका सूचना अधिकृत शोभाकर भण्डारीका अनुसार हवाई भाडा घटाइएपछि अब कामदारले ८ सय १३ डलरमात्र बुझाए पुग्नेछ ।
सन् २००८ मा ईपीएस लागू भएपछि नेपाली कामदारले एकतर्फी हवाई भाडाबापत सम्बन्धित ट्राभल एजेन्सीलाई ५ सय ४१ डलर बुझाउँदै आएका थिए । २०७३ पुसदेखि भने सामान्य घटेर ५ सय २९ डलर भएकोमा अबदेखि ४ सय ११ डलरमात्र तिर्नुपर्ने भएको छ । आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत गरेपछि ४५ हजार रुपैयाको हाराहारीमा तिर्नुपर्ने भएको ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएस प्रणालीमार्पmत हाल वार्षिक करिब ८ हजार नेपाली युवा रोजगारीका लागि कोरिया जाने गरेका छन् । सरकारले हवाई शुल्क घटाएपछि यसरी कोरिया जाने नेपाली कामदारबाट वार्षिक १० करोड रुपैया बचत हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले खुल्ला प्रतिस्पर्धामार्पmत कोरिया जाने हवाई टिकटको लगात घटाउन निर्देशन दिएपछि शाखाले विद्युतीय बोलपत्र आह्वान गरी हवाई टिकटको लागत घटाएको थियो । शुल्क घटेको आधारमा वायुसेवाले दिने सेवालाई गुणस्तरीय बनाउन कोरिया जाने कामदारलाई ट्रान्जिटमा ६ घन्टाभन्दा बढी राख्न नपाउनेगरी व्यवस्था गरिएको शाखाले जनाएको छ । सन २००८ देखि असार मसान्तसम्म ईपीएस प्रणालीअन्तर्गत ६२ हजार ४ सय ७३ युवा भाषा परीक्षामा पास भएकोमा ३ हजार ३ सय ३८ महिला र ५१ हजार २५ पुरुषगरी ५४ हजार ३ सय ६३ युवा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ ।
२०१८ को भाषा परीक्षा (पीबीटी) बाट कोरिया जाने कामदार ७ हजार ९ सय ९८ जना अहिले कोरिया जाने प्रक्रियामा रहेका छन् । यो वर्षको जुन १४ सम्म मात्र ४ हजार १६५ युवा कोरिया प्रवेश गरिसकेका छन् । नेपालबाट पीबीटी (नयाँ), सीबीटी तथा कमिटेड (पुराना) गरी ३ प्रकारका कामदार कोरिया जाने गरेका छन् । ईपीएसमार्पmत कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये उत्पादन क्षेत्रमा नेपालीको कार्यक्षमता दोस्रो र कृषिमा पहिलो रहेका कारण कोरियाले नेपाललाई सबैभन्दा बढी रोजगारीको अवसर दिँदै आएको छ ।
कामदार कोटा बढाउने
सोमबार श्रममन्त्री बिष्टसँगको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क यूङ्सीकले नेपाली कामदार इमानदार र मेहनति भएकोले कामदारको संख्या थप गर्ने बताए । नेपाली कामदारको माग नभएको कोरियाको सेवा क्षेत्रमा समेत नेपाली कामदार लैजाने प्रक्रिया अघि बढाइने भएको छ । राजदूत पार्कले नेपाली कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र केही कामदारका आफन्तहरूले भेटघाट गरेर आइसकेको बताए । साथै, कोरियाले प्रतिष्ठानस्तरका सीप विकास केन्द्रहरूको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्नेभएको छ ।