रासस
बिहिवार, भदौ २८, २०७५
721

उपप्रधान एव्म स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँगाउँमा स्वास्थ्य सेवा पु-याउन सरकारले यस वर्ष मुलुकभर एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालनमा ल्याएको अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उनले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु-याउनका लागि सरकारले स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको बताए ।
“नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी धेरै समस्या छन् तर चिकित्सकहरु काठमाडौँमा सरुवाको माग गर्दै मन्त्रालयमा ओइरो लाग्ने गर्छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,” उनले भने, “सरकारी अस्पतालमा अझै डाक्टर पुग्न सकेका छैनन्, राम्रो प्रयोगशाला सेवा सबैमा अझै पुग्न सकेको छैन । भवनहरु जीर्ण छन् । राम्रो नर्स, स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।”

उपप्रधानमन्त्री यादवले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको तर ८० प्रतिशतभन्दा बढी डाक्टर शहरमा बस्ने गरेको उल्लेख गर्दै गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने गरेको र यो असमानता हटाउनुपर्ने बताए । उपप्रधानमन्त्री यादवले अर्बुदरोग, मुटु, मिर्गौलालगायत जटिल खालका रोगको उपचार गर्न अब विदेश जानु नपर्ने उल्लेख गर्दै नेपालमै सबै रोगको उपचार सम्भव भएको बताए ।
केन्द्र प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म केन्द्रले ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तानलगायत विभिन्न देशबाट उपचारका लागि केन्द्रमा बिरामी आउने गरेको जानकारी दिए । केन्द्रबाट ३२ हजार बिरामीले वार्षिक रुपमा ओपीडी सेवा लिइरहेको उल्लेख गर्दै उनले १०० शैय्याबाट ३०० शैय्यामा क्षमता वृद्धि गर्ने केन्द्रको लक्ष्य रहेको बताए ।