कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
495

तेह्रथुम-सरकारले जनतालाई निःशुल्क रूपमा वितरण गर्दै आएको औषधि आठराई गाउँपालिकाको संक्रान्ति बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीले बिक्री गरेको खुलासा भएको छ । संक्रान्ति बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य केन्द्रभित्रै औषधि बिक्री गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
स्वास्थ्य केन्द्रभित्रै चर्को मूल्यमा औषधि बिक्री गरी जनता ठग्ने कार्य भएको स्थानीय सेवाग्राहीले बताएका छन् । सेवाग्राहीको गुनासो आउन थालेपछि गत आइतबार स्थानीयहरू स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्यकर्मीलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको स्थानीय महेन्द्र विमलीले बताए । स्वास्थ्य केन्द्रका प्रमुख डा.सन्तोष शाहले सेवा केन्द्रबाट औषधि बिक्री भएको स्वीकार गरेकोे बिमलीले बताए ।

स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई स्वास्थ्यकर्मीबाट चर्को मूल्यमा औषधि बिक्री गरी ठग्ने काम भएको स्थानीय वासु बरालले बताए । विभिन्न बहानामा बिरामीलाई आर्थिक रूपमा स्वास्थ्य केन्द्रले बोझ थप्ने काम गरेको उनले बताए । निःशुल्क उपलब्ध हुने औषधिबाहेक स्थानीय मेडिकलमा नपाइने औषधि बिरामीलाई स्वास्थ्य केन्द्रमै किन्न लगाइएको आठराई गाउँपालिकाका स्वास्थ्य प्रमुख एवं प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख शाहले बताए । जनताको सेवाका लागि इमरजेन्सी औषधिमात्र बिरामीलाई बिक्री गरिएको उनले बताए ।
स्वास्थ्य केन्द्रमा भएको औषधि बिक्री वितरण र जनगुनासोका विषयमा चाँडै छलफल गरी समस्याको समाधान गरिने आठराइ गाउँपालिका–१ वडाध्यक्ष कमलबहादुर लिम्बूले बताए । सेवा केन्द्रमा आठराई, फेदाप गाउँपालिका र ताप्लेजुङका निगुरादिन, फुलबारीलगायतका स्थानबाट स्थानीय सेवा लिन आउने गरेका छन् ।