कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
318

 महोत्तरीको बर्दिवासमा सञ्चालन गरिएको एकदिने निःशुल्क मृगौला चेकजाँच शिविरमा २८ जनालाई मृगौलामा समस्या देखिएको छ । स्वस्थ मृगौला, स्वस्थ नेपाल’ नाराका साथ सञ्चालन गरिएको शिविरमा २३१ जनाको मृगौला परीक्षण गरिएकोमा २८ जनाको मृगौलामा समस्या भएको र ६ जनामा मधुमेह रोग देखापरेको छ ।
अहिले १० प्रतिशत नेपालीमा मृगौलाको समस्या रहेको तथ्यांक रहे पनि यो संख्या बढ्ने क्रममा रहेको शिविरमा उपस्थित वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । उनका अनुसार नेपालीको बदलिँदो जीवनशैली र अस्वस्थकर खानाले मृगौलाको समस्या बढ्दो क्रममा रहेको छ । मृर्गाैला रोगीको उपचार र मृगौला प्रत्यारोपणमा नेपाल सरकारले निःशुल्क गराएको छ । डा. काफ्लेले भने, “तर यो उपचार सजिलो नभएकाले मानिसले दुःख पाइराखेका छन् ।” मृगौलामा हुने समस्या रोकथाम गर्न सरकार लाग्नुपर्ने उनले बताए ।
राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंको प्राविधिक सहयोग र बर्दिवास नगरपालिकाको आयोजना तथा महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिवासको सह आयोजनामा मृगौला बचाऔं अभियानअन्तर्गत शिविर सञ्चालन भएको हो ।