कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
302

चुमनुब्री गाउँपालिकामा नै पहिलो पटक सिर्दीबास स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ । गत भदौ १५ गतेबाट प्रयोगशाला सेवा सुरु भएको हो ।
नेपाल सरकारबाट आवश्यक उपकरण प्राप्त भएपछि कम्युनिटी एक्सन नेपाल क्यानले कर्मचारी व्यवस्थापन गरी ल्याब सेवा सुरु भएको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् । रोगहरुको रोकथाम तथा निदानका लागि स्वास्थ्य प्रयोगशाला आवश्यक भए पनि अहिलेसम्म चुमनुब्रीमा यो सेवा सुरु भएको थिएन ।

स्वास्थ्यचौकीमा रहेको प्रयोगशालामा जण्डीस, युरीक एसिड, किड्नीसम्बन्धी समस्या, एचआईभी, हेपाटाइटिस, गर्भ परीक्षण, क्षयरोग, टाइफाइडलगायतका समस्याको जाँच गरिने ल्याब टेक्निसियन बुद्ध गुरुङले बताए ।
प्रयोगशालामा हालसम्म ६० जनाले सेवा लिएका छन् । चुमनुब्रीका सबै वडासहित धार्चे गाउँपालिकाको उहिया, यारु, हुल्चोकलगायतका ठाउँबाट पनि स्थानीय आउने गरेका उनले जानकारी दिए ।