कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
291

नेपालगन्ज-नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल मुटु रोग विभागका करारका कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । अस्पतालमा कार्यरत दुईजना डाक्टर र ८ जना नर्सले साउनदेखिको तलब नपाएका हुन् ।
समयमै पारिश्रमिक नपाएपछि करारमा कार्यरत कर्मचारी जागिर छाड्ने मनस्थितिमा पुगेका छन् । तलब नपाएकै कारण कार्यरत कर्मचारीले जागिर छाड्न थालेपछि मुटुरोगसम्बन्धी सेवा प्रभावित हुने देखिएको छ ।

तलबभत्ताकै लागि पटकपटक अस्पताल प्रशासनलाई दबाब दिए पनि आश्वासन मात्रै दिने गरेको कार्डियोलोजी विभागका डाक्टर विपिन आचार्यले बताए । “पटक पटक अस्पताल प्रशासनलाई पारिश्रमिक उपलब्ध गराउनका लागि जानकारी दिएका छौं,” उनले भने, “सरकारले कार्डियोलोजी जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टरलाई पारिश्रमिक दिन बेवास्ता गरेको छ ।”
लामो समयसम्म पारिश्रमिक बिना काम गर्नुपर्दा अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई निकै समस्या भएको छ । भाडामा बसेर जागिर गर्ने डाक्टर तथा नर्सलाई यति लामो समयसम्म तलब बिना काम गर्नुपरेपछि राजीनामा दिन थालेको राजीनामा पत्र देखाउँदै भेरी अन्चल अस्पताल क्याथल्याब विभागकी मेडिकल अधिकृतमा कार्यरत समीक्षा थापाले बताइन् ।
समयमै तलब नपाउँदा मुटुरोगसम्बन्धी सेवा प्रभावित हुने देखिएको छ । त्यहाँ कार्यरत एकजना नर्सले समयमै तलब भत्ता नपाएका कारण स्कुटर बिक्री गरेर खर्च चलाउनु परेको बताइन् ।
सरकारले क्याथल्याब सेवाका लागि बजेट छुट्याएको थिएन् । तर अस्पताल प्रशासनको दबाबपछि भेरी अस्पतालका लागि करिब डेढ करोड रुपैयाँ ढिलै गरी विनियोजन गरेको छ । प्रदेश सरकारबाट पठाउनुपर्ने बजेट प्रक्रियागत कमजोरीका कारण ढिला भएकाले समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारीले बताए । “केही दिनभित्रै रकम निकासा हुने जानकारी प्राप्त भएको छ,” उनले भने ।
क्याथल्याब सेवामा कार्यरत कर्मचारीका लागि करिब १२ लाख रुपैयाँ आवश्यक पर्ने भेरी अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।