कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
188

यही मंसिर २१ र २२ गते काठमाडौंमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सोसाइटी अफ लाइफ साइन्सेज नेपाल र डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरले सम्मेलन प्रज्ञा भवन कमलादीमा हुने जानकारी दिए ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले वंशाणुगत रोगका बारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले भने, “वंशाणुगत रोगको निदान, रोकथाम, कसरी जानकारी लिनेजस्ता विषयका बारेमा सम्मेलनमा चिकित्सकहरुले जानकारी दिनुहुनेछ । ७ वटा सत्रमा विभाजन गरेर हाम्रो कार्यक्रम चल्नेछ ।”
कार्यक्रममा आयोजक समितिका सचिव उद्धव खड्काले उक्त स्वास्थ्य सम्मेलनमा उपस्थित भएर वंशाणुगत रोगका बारेमा जानकारी लिन आम नागरिकहरुलाई आग्रह गरेका छन् । उनले भने, “हामीले पहिलो पटक वंशाणुगत रोगको क्षेत्रमा देखा परेका जटिल रोगहरु र यसमा गरिएका पछिल्ला अनुसन्धान बारेमा जानकारी दिने उद्देश्यले यो सम्मेलनको आयोजना गरेका हौं ।”