कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
440

कांग्रेसको ७ बुँदे फरक मत
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । बुधबार बसेको समितिको बैठकमा प्रतिपक्षी दल कांग्रेसको फरक मतका बीच प्रतिवेदन बहुमतले पारित भएको हो ।

सो विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले ७ बुँदे फरक मत व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य गगन थापा र चित्रलेखा यादवले समिति बैठकमा फरक मत राखेका हुन् । थापा र यादवले विधेयकमा सात ठाउँमा असहमति जनाउँदै परिवर्तन गर्नुपर्ने बुँदासमेत बैठकमा पेस गरेका छन् ।
प्रतिवेदनको क्रम संख्या १ मा ‘चिकित्सा शिक्षा सम्बन्धि नीति तर्जूमा उच्चस्तरीय कार्यादलको प्रतिवेदन, २०७२ को मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ राख्न उनीहरुको माग छ । त्यस्तै, ‘ऐन प्रारम्भ भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । यसअघि सम्बन्धन दिइसकेका चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यका बाहिरको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरे बमोजिम हुनेछ’ राख्न माग गरिएको छ । सिटिइभिटीमार्फत् सञ्चालित प्रविणता प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्रावधिक कार्यक्रमहरु ५ वर्षभित्रमा क्रमशः हटाउँदै (फेज आउट) जाने व्यवस्था राख्न सांसद थापा र यादवको माग छ ।
समिति बैठकबाट बाहिरिँदै कांग्रेस सांसद थापाले नेकपाका सांसदहरुले बहुमतको आधारमा डा. गोविन्द केसीसँग भएको सहमति तोडेको आरोप लगाए । उनले समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गरे । “त्यहीँ सरकार, जसले डा. केसीसँग सम्झौता ग¥यो, सम्झौताको पाठ संसदमा पढ्यो, अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो,” संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने । केही व्यापारिक मानिसहरुको स्वार्थमा विधेयक पास भएको भन्दै उनले त्यसलाई सच्याउन संसद्मा लडाइँ जारी राख्ने पनि बताए ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन बसेका छन् । यसपटक अनशन बस्न केसी इलाम पुगेका छन् । केसी इलामको सहरी विकास तथा भवन निमाण विभाग डिभिजन कार्यालयमा अनशन बसेका छन् । अनशन बस्न केसी मंगलबार नै इलाम पुगेका थिए ।
डा. केसीको १६ औं अनशन सुरु

१५ औं अनशनका क्रममा आफूसँग भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी इलाममा आमरण अनशन बसेका छन् । “दुई तिहाइ बहुमतको सरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुट्ठीभर माफियाहरुको स्वार्थअनुसार कानुनै बनाउन लागिपरेको छ,” अनशन सुरु गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग भने, “चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णायक घडीमा आएर सरकार र सत्तारुढ पार्टीका नेताहरुले तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुट्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् ।”
डा. केसीले १५ औँ अनशन जुम्लामा गरेका थिए । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरीत सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो । अस्पताल र स्थानीय जनताको क्षति हुने देखेपछि केसी काठमाडौं आउन तयार भएका थिए । आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने डा. केसीसँग सरकारले सहमति गरेपछि गत साउन १० गते २७ दिने लामो अनशन उनले तोडेका थिए ।
१५ औं सत्याग्रह नेकपा सांसद सुवास नेम्वाङ र शिक्षाविद् केदारभक्त माथेमाले संयुक्त रुपमा डा. केसीलाई जुस खुवाएर अनसन तोडाएका थिए । १६ औं अनशन बस्न डा. केसी नेम्वाङकै निर्वाचन क्षेत्रमा पुगेका छन् ।