कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५
460

वीरगन्ज- भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको खाद्य वस्तुको गुणस्तर परीक्षण गर्दै आएको खाद्य क्वारेन्टाइनले अब खाद्य पदार्थमा हुने सुक्ष्म जिवाणु र विषादीको पनि परीक्षण गर्ने भएको छ । भन्सार हुँदै आयात हुने खाद्यवस्तुको खाद्य गुणस्तर तथा मिसावट परीक्षण गर्दै आएको खाद्य क्वारेन्टाइन प्रयोगशालाले अब भन्सारबाट आउने सबै वस्तुको सुक्ष्म जिवाणु र विषादीको प्रयोगशाला परीक्षण गर्न लागेको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।
सुक्ष्म जिवाणु परीक्षणका लागि प्रयोगशाला तयार भइसकेकाले अब खाद्य बाहेक जिवाणुको पनि परीक्षण सुरु गर्ने उनले बताए । नेपालमा विषादीको आयात धेरै हुने भएकाले कार्यालयले विषादीको पनि प्रयोगशाला विधिबाट परीक्षण गरिने उनले बताए । नेपाल आयात हुने खाद्य पदार्थमा हुने सुक्ष्म जिवाणु र विषादीको परीक्षण सुरु गरेपछि हरेक किसिमका वस्तुमा हुने जिवाणुको पहिचान हुने र कुन खाद्य पदार्थमा कति विषादी हुन्छ भन्ने जानकारी प्राप्त हुने उनले जानकारी दिए । उपभोत्ताको स्वास्थ्यको जोखिम कम गर्न यसले सहयोग पुग्ने विश्वास उनको छ । अहिलेसम्म आयात हुने गरेको खाद्य पदार्थमा कति मात्रामा विषादी हुन्छ भन्ने भन्सार विन्दूमा जानकारी नभएको भन्दै उनले खाद्य पदार्थमा कति मात्रामा विषादी मिसिएको र जिवाणु छ भन्ने थाहा पाउन सकिने बताए ।