हरिश चन्द
आइतवार, माघ २७, २०७५
203

डडेल्धुरा-डडेल्धुरामा ५ प्रतिशत बालवालिकामा कुपोषण देखिएको छ । पोषणका क्षत्रेमा सरकारी तथा गैरसरकारी संघ संस्थाले काम गर्दै आए पनि कमी आउन सकेको छैन । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार कुपोषणको अवस्था राष्ट्रिय तथ्यांकको अनुपातमा देखिएको छ । देशभरको तथ्यांकअनुसार डडेल्धुरामा पनि प्रत्येक वर्ष झण्डै ५ प्रतिशत बालबालिकामा कुपोषण देखिने गरेको स्वास्थ्य कार्यालयका पोषण स्रोतव्यक्ति प्रेम ऐरले बताए ।
महिला तथा बालबालिकाको पोषण सुधारका लागि समुदायमा संकलित तथ्यांकको नतिजा आदानप्रदान कार्यक्रममा पोषण स्रोतव्यक्ति ऐरले प्रस्तुत गरेको तथ्यांकअनुसार यो वर्षको पुस मसान्तसम्म झण्डै ४ प्रतिशत बालबालिकामा कुपोषण देखिएको हो ।

डडेल्धुरामा उपक्षेत्रीय अस्पताल र इलाका अस्पताल गरी दुईवटा सरकारी अस्पताल, २४ वटा स्वास्थ्यचौकी, नगरक्लिनिक ४ वटा, कम्युनिटी हेल्थ क्लिनिक २ वटा छन् भने महिनाको १ पटक समुदायमा नै पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य सेवाबारे जानकारी दिने गरेका आधारमा गरिएको सर्वेक्षणले कुपोषित बालबालिकाको अवस्थाका बारेमा जानकारी प्राप्त गरेको उनले बताए ।
डडेल्धुराको महिला जनसंख्या १५ देखि ४९ वर्ष समूहमा कुल ४५ हजार ७ सय ४५ छ । जसमध्ये विवाहित महिलाको संख्या ३४ हजार ६ सय ७५ छ । प्रत्येक वर्ष गर्भवती हुने महिलाको अनुमानित संख्या ४ हजार १ सय ५८ छ ।
एकजना चिकित्सकले ११ हजार १० जनालाई स्वास्थ्य उपचार दिइरहेका छन् । एकजना नर्स बराबर १ हजार ७ सय ३२ पर्छ भने हेल्थ असिस्टेन्स एक जना बराबर १ हजार ६ सयलाई स्वास्थ्य उपचार भइरहेको उनले जानकारी दिए । स्वास्थ्य सेवा र पहुँचमा वृद्धि भए पनि कुपोषणमा कमी आउन नसकेको ऐर बताउँछन् ।
सन २०१६ देखि २०२१ सम्मका लागि डडेल्धुरामा पनि सञ्चालन भएको सु आहाराले शिक्षा, चेतना वृद्धि हुँदै गएपछि स्वस्थ्यकर खाना र स्वास्थ्य चेकजाँचमा स्थानीयको पहुँच बढ्दै गएको सु आहाराले जनाएको छ । सु आहाराका डडेल्धुरा संयोजक अभिम अर्यालका अनुसार रेडियो कार्यक्रम, सन्देश, ग्रामीण बस्तीमा हरेक बार खाना चारलगायत पोषित वस्तुबारे जानकारी दिन थालेपछि पोषणका क्षेत्रमा क्रमिक सुधार आएको छ ।
पहिले विकास भन्दै सडक, भौतिक पूर्वाधारलाई मात्र लिइने प्रचलन रहेकाले सबैभन्दा पहिलो स्वास्थ्यको ख्याल गरी विकास माग गर्नुपर्ने ग्रामीण महिला विकास एकता केन्द्र रुडुकका निर्देशक सरस्वती खड्काले बताइन् । पोषणका क्षेत्रमा विकास भए अन्य भौतिक विकास पनि सम्भव हुने उनको भनाइ थियो । अहिले स्थानीय तहले पनि पोषणका क्षेत्रमा केही रकम छुट्याई काम गरिरहेकाले पोषणमा अझै सुधार आउने अपेक्षा गरिएको छ ।