केशव समर्पण
बुधवार, चैत्र २७, २०७५
343

हेटौंडा-३ नम्बर प्रदेश सरकारले प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाएको छ । हेटौंडा अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने गरी मदन कुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विज्ञान प्रतिष्ठान आवश्यक भएको प्रस्तावित विधेयकको प्रस्तावनामा उल्लेख छ ।

प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रस्ताव गरिएको छ । उपकुलपति नियुक्तिको सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुई जना सदस्य रहेको समिति गठन हुने विधेयकमा प्रस्ताव गरिएको छ । उपकुलपतिका लागि आवश्यक योग्यता, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सेवा तथा सुविधा लगायतका विषय तोकिए बमोजिम हुने प्रस्ताव गरिएको छ ।
प्रतिष्ठानका कुलपतिलाई अध्यक्ष, सहकुलपतिलाई उपाध्यक्ष र प्रतिष्ठानको मुख्य कार्यालय रहेको निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्य सदस्य रहने गरी सभा रहने प्रस्ताव गरिएको छ । सभालाई प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा राखिएको छ ।
सभाका सदस्यहरूमा प्रदेशभित्रका महानगरपालिका प्रमुख, प्रदेश नीति तथा योजना आयोगको स्वास्थ्य क्षेत्र हेर्ने सदस्य, स्वास्थ्य विज्ञानसम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा अन्य प्रतिष्ठानका उपकुलपतिहरूमध्ये कार्यकारी परिषदको सिफारिसमा सभाबाट मनोनित दुई जना सदस्य, प्रदेशभित्रका उपमहानगरपालिका प्रमुख सदस्य, सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य, शिक्षाध्यक्ष, डिन, शिक्षकहरूमध्ये प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एकजना महिलासहित दुई जना, प्रदेश स्वास्थ्य र शिक्षा निर्देशनालयका निर्देशकलगायत सदस्य रहने गरी प्रस्ताव गरिएको छ ।
विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ । प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन भने नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ । विधेयक पास भई लागू भएपछि प्रदेशभित्रका अस्पताल सञ्चालन तथा व्यवस्थापन आदेशबमोजिम हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति खारेज हुनेछ ।
प्रतिष्ठानका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेटमा २ करोड रुपैयाँ विनियोजन गरेको थियो । १ सय २० बेड क्षमताको हेटौंडा अस्पताललाई नै स्तरोन्नति गरेर प्रतिष्ठान सञ्चालन गर्ने सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी बजेट बिनियोजन गरिएको थियो । अस्पतालको ७० शैैय्या विस्तारका लागि संघीय सरकारले २८ करोड १६ लाख रकम बराबरको ठेक्का लगाएर काम सुरु भएको छ ।
निर्माणपश्चात् १ सय ९० बेड क्षमता तयार हुने र त्यसमा प्रदेशको बजेटमार्फत थप १ सय बेड क्षमताका लागि भवन निर्माण गरी मेडिकल कलेजसहितको कम्तीमा ३ सय बेड क्षमताको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।