सागर परियार
सोमवार, बैशाख २, २०७६
276

जुम्ला-कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अभियान जारी छ ।
यस अभियानअन्तर्गत बिहीबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परीक्षणमा झण्डै ६० जना चालकको स्वास्थ्य चेकजाँच गरिएको छ । चेकजाँच गरिएका सबै चालकको स्वास्थ्य अवस्था विगतको भन्दा सुधार हुदैँ गएको सिअनमी मालिका थापाले बताइन् । विलासी खानपानका कारण चालकमा स्वास्थ्य समस्या देखिनु स्वाभाविक हो । तर यसमा नियन्त्रण गर्न नसके आमयात्रुको जीवन नै जोखिममा पर्ने उनको भनाइ छ ।

बढ्दो अल्कोहलको प्रयोगले प्रेसरको समस्या बढी हुन्छ । विगतमा गरिएको चेकजाँचमा दिएको सल्लाहअनुसार चालकहरूले नियमित औषधी सेवन गरेकाले सुधार आएको अनमी थापाको भनाइ छ । यसअघि माघ २७ गते चेकजाँच गराएका ५० जना चालकमा प्रेसरको समस्या थियो अहिले सुधार हुदै गएको छ भने आँखाको समस्यामा पनि सुधार भएको आईवर्कर सुपरभाइजर दलबहादुर महताराले बताए ।
पहिलाको भन्दा आँखा चेक गर्ने भिजन चार्ट चालकले स्पष्टसँग भनेको उल्लेख गरे । कर्णाली राजमार्गमा गुड्ने ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबाहक गाडीका चालकहरू स्वास्थ्य चेकजाँचलाई निरन्तरता दिइएको ट्राफिक निमित्त प्रमुख कुशराज शाहीले बताए । उनले भने, “अब प्रत्येक महिनाको एकपटक चेकजाँच गर्ने तयारीमा छौं ।
आँखाको कलर भिजनदेखि ट्राफिक नियम पालानासम्मका विषयमा पनि सुधार हुदैँ आएको उनको भनाइ छ । ‘मदिरा सेवनकै कारण चालकहरूको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण पनि विस्तारै कम हुन थालेका छन् । नियमित चेकजाँच गर्ने यसबाट दुर्घटनाको नियन्त्रण गर्ने लक्ष्य छ । सवारी चालकले आफू स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान छोड्न सुझाव दिएको ट्राफिक प्रमुख शाहीले बताए ।
छोटो तथा लामो दूरीका सवारीमा हुने मनपरि लगायत चालकको व्यवहार परिवर्तनमा ट्राफिक प्रहरी नियमित लागिपरेको छ । सरकारी चालकदेखि अन्य चालकलाई सवारी ओभरट्याकबारे जानकारी पनि दिने गरिएको छ ।
शिविरको अवसरमा अधिकांश सवारी चालकले सुरुसुरुमा सहजै आफ्नो स्वास्थ्य परीक्षण मानेका थिएनन् । तर पछिल्लो समय स्वास्थ्य परीक्षणका विषयमा धेरै कुरा बुझेपछि चालकहरु उत्साहित भएका छन् । नियमित चेकजाँच नगराउने मदिरा प्रयोग गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु हाल्नेलगायतका गतिविधि गरेमा अब सिधै कारबाही गरिने समेत चेतावनी दिइएको छ ।