कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५
1003

रुकुम -रुकुम पश्चिमको एक विद्यालयमा विद्यार्थीहरु एक्कासि बेहोस हुने समस्या देखिएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–१ लागिममा रहेको जनएकता आधारभूत विद्यालयमा यस्तो समस्या देखिएको हो । विद्यार्थीहरुमा आँखा राता हुने, मुटु दुख्ने, भुइँमा लड्ने, मुर्छा पर्ने र हातखुट्टा बांिगनेलगायतका समस्या देखिएको हो । यस्तै समस्याका कारण विद्यालयका २ दर्जन विद्यार्थी बिरामी परेपछि विद्यालय पनि आश्चर्यमा परेको छ ।
विद्यार्थीहरुमा दैनिजसो यस्तो समस्या देखिन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरेर बिरामीको उपचार भैरहेको प्रध्यानाध्यापक गोविन्द मल्लले जानकारी दिए । “विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालय लगायतसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको छ,” उनले भने, “यस्तो समस्या देखिनेमा अधिकांश छात्रा रहेका छन् ।”
उनका अनुसार यस्तो समस्या विद्यालयमा सोमबारदेखि देखा परेको हो । बेहोस हुने समस्या भएका विद्यार्थीहरुको उपचार जारी रहेको र समस्या नियन्त्रण उन्मुख रहेको स्वास्थ्य चौकी पीपलका इन्चार्ज सन्देश चन्दले बताए । उनका अनुसार १४/१५ वर्ष उमरका विद्यार्थीहरु बिरामी दोहोरिएको समस्या देखिएको र नयाँ विरामी थप भएका छैनन् । “यस्तो समस्या बेलाबेला विद्यालयहरुमा देखिने गरेको छ, यो मास हिस्टेरियाको लक्षण हो,” इन्चार्ज चन्दले भने, “आवश्यक उपचारको काम भैरहेको छ, त्यस्तो डराउनुपर्ने अवस्था छैन ।” विद्यालयमा यसअघि पनि पटक पटक यस्तो खालको लक्षण देखिएर केही विद्यार्थी बिरामी भएका थिए ।