कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
503

जिल्लाका ६ गाउँपालिका र ३ नगरपालिकाका ८२ वडामध्ये ३० वटा वडामा मात्र स्वास्थ्य संस्था रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्यांकअनुसार ३० वटा वडामा स्वास्थ्यचौकी रहेको र ५२ वटा वडा स्वास्थ्यचौकीविहीन छन् ।
खाँडाचक्र नगरपालिकाका ११ वडामध्ये वडा नं. १ मा एक जिल्ला अस्पताल र २ वटा वडामा स्वास्थ्य चौकी, रास्कोट नगरपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी, तिलागुफा नगरपालिकामा ११ वडामध्ये ५ वटा वडामा स्वास्थ्यचौकी रहेको छ । यसैगरी पलाता गाउँपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी, पचालझरना गाउँपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी, सान्नित्रिवेणी गाउँपालिकामा ९ वटा वडामध्ये ३ वडा वडामा मात्र स्वास्थ्यचौकी छ । त्यस्तै नरहरिनाथ गाउँपालिकामा ९ वटा वडामध्ये ५ वटा वडामा मात्र स्वास्थ्य चौकी, शुभकालिका गाउँपालिकामा ८ वटा वडामध्ये ३ वडा वडामा स्वास्थ्य चौकी र महावै गाउँपालिकामा ७ वटा वडामध्ये २ वटा वडामा मात्र स्वास्थ्य चौकी रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साविकका ३० वटा गाविसमा रहेका ३० वटा स्वास्थ्य संस्थाले नै अहिलेको नयाँ संरचनाअनुसार सेवा प्रवाह गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विवश पराजुलीले बताए । “नयाँ संरचनाअनुसार स्वास्थ्य चौकी स्थापना भएका छैनन् ।” उनले भने, “पुरानै संरचनाअनुसार साविकका गाविस रहेका ३० वटा स्वास्थ्य संस्थाले नै अहिले सेवा प्रवाह गरिहरहेका छन् ।”
जिल्लाका अधिकांश स्थानीय तहमा नजिकमा स्वास्थ्य संस्था नहुँदा भौगोलिक विकटताका कारण घण्टौं हिँडेर अर्को वडामा आधारभूत स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिका वडा नं. ६ का लालवीर बटालाले बताए । “नजिक स्वास्थ्य संस्था छैनन्,” उनले भने, “नजिक स्वास्थ्य संस्था नहुँदा सिटामोल किन्न पनि घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ ।”
जिल्लाका सबै वडामा स्वास्थ्य चौकी नहुँदा गर्भवती जाँच तथा प्रसूति सेवा लिने महिलालाई थप समस्या भएको तिलागुफा नगरपालिका–१० चिल्खाया स्वास्थ्य चौकीका इन्चार्ज दुर्गा आचार्यले बताए । “नजिक स्वास्थ्य चौकी नहुँदा सामान्य बिरामीले उपचार पाउँदैनन्,” उनले भने, “गर्भवती जाँच गर्न पनि समस्या भएको छ ।”
-रमेश रावल