कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५
683

डा. गोविन्द केसीले सरकारले तोकिएको समयमा माग पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन आमरण अनशन बसेका केसी र सरकारबीच ९ बुँदे सहमति भएपछि अनसन टुंगिएको थियो । आफूसँग सरकारले त्यस्तो सहमति गरेको १३औं दिनमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
कुनै बहाना वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । “सहमतिअनुरुप हाल संसदीय प्रक्रियामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५ मा सत्तारुढ तथा विपक्षी दलका सांसदहरुबाट संशोधन समेत हालिएको छ,” केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने प्रतिवद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधनसहित तथा थप तोडमोड नगरि चिकित्सा शिक्षा ऐन शिघ्र जारी हुने विश्वास हामीले लिएका छौं ।”

सम्झौतालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउनुपर्नेमा १३ दिन भइसक्दा पनि नगराएकाले तत्काल सो काम पूरा गर्न केसीले स्मरण गराएका छन् । सम्झौता कार्यान्वयनका लागि सरकारलाई आफूले १५ दिनको समय दिएको भन्दै केसीले सरकारले छलछाम गरे कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन् । ६ दिन लामो आसियुको बसाइसहित १३ दिनको अस्पताल बसाइपछि केसी मंगलबार डिस्चार्ज भएका छन् । आफूले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा था स्वास्थ्य शिक्षाका अन्य विषय पढ्ने अधिकारका लागि संघर्ष गरेको केसीले बताए ।
“यो अनसन मेरा निम्ति बाध्यता थियो । यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु,” डा.केसीले भने । उनले चिकित्सा शिक्षा ऐनसम्बन्धि बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने र जाँचबुझ आयोगले दोषी ठह-याउका पदाधिकारीहरुलाई कारवाही गर्ने लगायत सम्झौताका ६ बुँँदा तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।