कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
480

बागलुङ-सामाजिक स्वास्थ्य सुरक्षा बिमा कार्यक्रम सुरु भएपछि जिल्लाका करिब ६ हजार परिवारले स्थास्थ्य बिमा गराएका छन् । दुई वर्षको अवधिमा यहाँका ५ हजार ९ सय ७२ परिवारका २६ हजार २ सय ५५ जनाको स्वास्थ्य बिमा गरिएको हो ।
स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारले गत आर्थिक वर्षको सुरुदेखि सामाजिक स्थास्थ्य सुरक्षा विकास समितिमार्फत स्थास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो । बागलुङ जिल्लाभरका करिब ५५ हजार घर परिवारका २ लाख ७० हजार नागरिकको बसोवास छ । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि दुई वर्षको अवधिमा करिब १० प्रतिशतको हाराहारीमा नागरिक विमित बनेका छन् । ६१ जना दर्ता सहयोगीले जिल्लाभरका नगरपालिका तथा गाउँपालिकाका वडा–वडामा रहेर आम नागरिकको स्वास्थ्य बिमा गराउने काममा खटिरहेको कार्यक्रमका जिल्ला संयोजक जीवलाल खरेलले बताए ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता १५ हजार ५३० जनाले निःशुल्क उपचार सेवासमेत लिइसकेका छन् । पहिलो चरणमा नमुना कार्यक्रमको रुपमा गत असार महिनावाट मुलुकका तिन जिल्ला बागलुङ, कैलाली र इलामबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।
कार्यक्रमअन्तर्गत वार्षिक २ हजार ५ सयको स्वास्थ्य बिमा गराउने पाँच जनासम्मको परिवारले वर्षमा ५० हजारसम्मको सेवा तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन पाउनेछन् ।
परिवारमा ५ जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिर्नुपर्ने खरेलले बताए । योगदान रकम बिमाबापतको २ हजार ५ सय सदस्यता लिने क्रममा एकमुष्ठ बुझाउनुपर्ने प्रावधान छ । “हरेकवर्ष २ हजार ५ सय रुपैयाँ तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकमपछि फिर्ता हुँदैन,” संयोजक खरेलले भने । सो रकमले वर्षभरिमा ५० हजार बरावरको स्वास्थ्य उपचार सेवा सरकारले निःशुल्क प्रदान गर्छ । स्वास्थ्य विमा साझेदारी आधारित कार्यक्रम भएको र यसले नागरिकको स्वास्थ्य उपचारमा लाग्ने व्ययभारलाई कम गर्ने खरेलले बताए ।
गरिबको निःशुल्क स्थास्थ्य बिमा गरिँदै
गरिबीको सूचीमा सूचीकृत यहाँका घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । नेपाल सरकारले प्रदान गरेको गरिब घर पहिचान परिचयपत्र प्राप्त गर्ने सबै परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको हो ।
राष्ट्रिय योजना आयोगले जिल्ला समन्वय समितिमार्फत गरेको अध्ययनबाट जिल्लाभरमा ११ हजार २ सय १ गरिब घरपरिवारको पहिचान भएको जिल्ला समन्वय समिति बागलुङले जनाएको छ । सूचीकृत सबैलाई परिचयपत्र दिइसकेपछि आर्थिक वर्ष ०७५÷७६ का लागि निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । “पहिलो चरणमा जिल्लाकै दुर्गम मनिने निसीखोला गाउँपालिकाबाट परिचयपत्र वितरणको काम थालेका छौं ।” प्रमुख ढुंगानाले भने, “क्रमशः जिल्लाभर यो कार्यक्रम लागू गर्ने छौँ ।” परिचयपत्र पाएका घर परिवारलाई राहत स्वरूप न्यूनतम सेवा दिने गरी तयारीसमेत थालिएको हो । परिचयपत्र पाएकाहरूलाई पहिलो चरणमा कम्तीमा निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय भएको ढुंगानाले बताए । “आर्थिक रूपमा बिपन्न भएकाले उनीहरूलाई राज्यका सेवा सुविधामा पनि राहत दिनुपर्छ भनेका छौं,” ढुंगानाले भने, “गरिब भएर पहिचान भएकालाई रोजगारीका अवसरमा पनि प्राथमिकता दिनुपर्छ ।” झन्डै एक वर्ष अघिदेखि सबै स्थानीय तहमा पुगेर गरिएको खोजी अभियानबाट उनीहरूको संख्या पत्ता लगाइएको हो ।
सूचीकृत भएकाहरूलाई जतिसक्यो छिटो परिचयपत्र वितरण गर्ने योजनासमेत बनाइएको छ जिससको छ । त्यसका लागि हरेक स्थानीय तहका कर्मचारीलाई तालिम पनि दिइसकेको जिल्ला समन्वय अधिकारी नारायणप्रसाद सापकोटाले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा १ करोड ९६ हजार रुपैयाँ खर्च गरेर पहिचान र परिचयपत्र वितरणको काम गरिएको हो । उनीहरूको बिमा रकमका लागि व्यहोर्ने रकम प्राप्त हुनासाथ अनिवार्य बिमा गराइनेछ । पहिचान भएको वर्षमै १ हजार ३३ जनालाई परिचयपत्र समेत वितरण गरिसकिएको हो ।
-त्रिलोचन रिजाल