प्रकाश पाक्साँवा
शुक्रवार, भदौ २९, २०७५
230

तेर्हथुम ः लालीगुराँस नगरपालिकाको नौसंसारेकी विष्णु सुवेदीको हातका आंैला फुटेर चिराचिरा भएका छन् । हातैभरि घाउको दाग अनि औंलाको काप पाकेका छन् । यो सबै हुनुको कारण विष्णुले चियाबगानमा काम गर्नु हो ।
उनले सोल्मा चियाबगानमा काम गर्न थालेको ३० वर्ष भयो । ४५ वर्षीय सुवेदीलाई बगानको काँटछाँटदेखि हरियो पत्ती टिप्ने र प्रशोधन केन्द्रसम्म लैजाने जिम्मेवारी छ । तर, उनलाई कम्पनीले कामप्रतिको सम्मान र न्याय नगरेको दुःखेसो छ । “बगानमा काम गर्ने मजदुरका लागि चाहिने अत्यावश्यकीय उपकरण कम्पनीले दिएको छैन,” उनी भन्छिन्, “बिनाउपकरण काम गर्दा मेरो हातभरि चोट लागेको छ ।” खाली हातखुट्टा अनि नांगो आँखाले बगानमा काम गरेकाले अरू मजदुरको पनि हालत यस्तै छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा लालीगुराँस नगरपालिकाको सोल्मामा सञ्चालित सोल्मा चियाबगानमा काम गर्ने मजदुरहरू न्यायोचित ढंगबाट काम गर्न नपाएको गुनासो गर्छन् । बगानमा काम गर्ने महिला कामदार असुरक्षित भएको र काम लगाउनेबाट विभिन्न किसिमका गालीगलौज सुन्नुपर्ने बाध्यता रहेको अर्की मजदुर तेजकुमारी श्रेष्ठले बताइन् । “बोर्डद्वारा सञ्चालित चिया विस्तार आयोजनामा काम गर्ने महिला शोषित छन्,” उनले भनिन्, “काम गर्दा कति अश्लील गाली र दुव्र्यवहार सहनुपर्छ ।” यस्तो खालको व्यवहार एक–दुई मात्र नभई आमकामदार महिलाको साझा समस्या भएको ट्रेड युनियन महासंघ तेर्हथुमका सदस्य इसारा सुवेदीको भनाइ छ ।
चिया मजदुरहरूले दैनिक ज्यालामा समेत ठगिएको गुनासो गरेका छन् । बगानमा काम गर्ने कामदारको दैनिक ज्याला ३ सय २३ रुपैयाँ तोकिए पनि २ सय ५३ मात्र पाउँदै आएको मजदुर केशव भण्डारीले बताए । नेपाल सरकारले मजदुरका लागि श्रमजीवी ऐन, २०७४ अन्तर्गत मासिक पारिश्रमिक ९ हजार ७ सय तोकेको छ । श्रमिकले उपयुक्त सेवासुविधा नपाएको र सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट पनि आफूहरू वञ्चित रहेको भण्डारी बताउँछन् । “दसदेखि पाँच बजेसम्म झरी बादल नभनी काम गर्नुपर्छ,” उनले भने, “तर दाम भने चित्तबुझ्दो छैन ।”
चियाबगानको कार्यालयदेखि एक डेढ किलोमिटर दूरीसम्म कतै पनि शौचालय नबनाएका कारण शौच लाग्दा आधा घण्टा लगाएर कार्यालयमै आउनुपर्ने बाध्यता रहेको सोल्माकै मजदुर कर्मप्रसाद पोखरेलले बताए । “बगानमा काम गर्ने आधा दर्जन मजदुर छौं, तर शौचालय बनाउन कम्पनीले जानेन, दिसा–पिसाब लाग्दा अरूको घर खोज्नुको विकल्प छैन,” उनले भने ।
वर्षायाममा पुरै रुझ्दै भिज्दै र हात खुट्टामा चोट लाग्ने गरी काम गरे पनि कम्पनीले समय अनुकूलको उपचार खर्च नदिएको अर्का मजदुर जीवनप्रसाद पोखरेल बताउँछन् । उनी भन्छन्, “वर्षभरिमा औषधि उपचारका लागि ५ सय र छाता खरिदमा २ सय पाइन्छ, त्यसले छेउ पनि पुग्दैन ।” सबै कुरामा मूल्य वृद्धि हुदा पनि आफूहरू भने पुरानै मूल्यमा काम गरिरहेको उनले बताए ।
बगानमा काम गर्दा अंगभंग हुँदासमेत मजदुरहरूको बिमा नगरिँदा झनै खतरा छ । “बिमाका बारेमा त चिया तथा कफी विकास बोर्ड बेखबरझंै छ,” चिया उद्यमी टेकबहादुर केप्छाकी मगर भन्छन्, “मजदुरका समस्या बढ्दै गए पनि यहाँका अगुवा उद्यमीलाई नै बिमाका बारेमा जानकारी नै छैन ।” बगानमा कार्यरत मजदुरहरूले चियाको गोडमेल, मलजल, छाँटकाँट, पत्ती टिप्ने, काट्ने तथा भण्डारण गर्ने काम गर्दैै आएका छन् । मजदुरहरूले उमेरको हदमा ५८ वर्षसम्म काम गर्न पाउँछन्, तर निवृत्त सेवाअन्तर्गत २० हजारमात्र उपदान बोर्डले दिँदै आएको छ । यो उपदान समयसापेक्ष नभएको एक वर्षअघि रिटायर्ड भएका बगान मजदुर यमनाथ सुवेदीले बताए ।
विभिन्न समस्या र अभावमा जेलिएका चिया मजदूरहरू बगानप्रति दुःखी छन् । दशकौं काम गर्दा पनि दैनिक ज्याला र सेवासुविधामा चिया विकास बोर्डले ठगेकाले काम गर्ने मनसाय कम हँुदै गएको मजदुर सूर्यमान समालले बताए । “अब हाम्रो समस्या र माग सम्बोधन नभए विकल्प खोज्छौं,” उनले भने ।
यता राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना सोल्माका कार्यालय प्रमुख विजय नारायण मिश्रले मजदुरहरूको माग आगामी साउनपछि सम्बोधन हुने बताए । “नयाँ आर्थिक वर्षपछि सरकारले तोकेको ज्याला कायम हुनेछ,” उनले भने, “वार्षिक उपचार खर्च ५ हजार र बिदा ३० दिनका लागि केन्द्रीय विकास बोर्डमा सिफारिस गरिएको छ ।” उनका अनुसार उपदान पनि २० हजारबाट बढाएर १ लाख पु¥याउने लक्ष्य छ । “विनियम संशोधन हुनेमा मजदुर ढुक्क भए हुन्छ,” मिश्रले भने । १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानले वार्षिक १० लाख आम्दानी गर्दै आएको चिया विस्तार योजना सोल्माले जनाएको छ ।