रमेश घिमिरे
बिहिवार, कार्तिक १५, २०७५
856

हावामा आद्रता ग्रहण गर्ने अधिकतम क्षमताको कम्तीमा २५ प्रतिशत आद्रता हुनैपर्छ ।

हिउँदमा घर वा कोठालाई तातो बनाउनुपर्ने बाध्यता पर्छ । यस लेखमा मितव्ययी ढंगले तातो बनाउने तरिकाबारे चर्चा गरिएको छ । साथै तातो सिर्जना गर्दा हुने अदृश्य हानिहरूका बारेमा पनि चर्चा गरिएको छ ।
१. सिसाको झ्याल छ भने पर्दा बाक्लो राख्नुपर्छ । जसले गर्दा राति भित्रको तातो बाहिर जान पाउँदैन र बाहिरको चिसो भित्र आउन पाउँदैन । दिउँसो घाम लाग्दा पर्दा खोल्ने र राति पूरै लगाउने गर्नुपर्छ । दिउँसो तातो भित्र छिर्छ र राति तातो बाहिर निस्कन पाउँदैन ।

२. झ्याल ढोकाको चरप्वालहरू टाल्नुपर्छ, किनकि चरहरू सधैं खुला रहन्छन् । यसबाट भित्रको तातो बाहिर जाने र बाहिरको चिसो भित्र आउने सम्भावना हुन्छ ।
३. भित्ता र सिलिङमा ताप कुचालक वा रिफ्लेक्टर टाँस्नुपर्छ, जसले गर्दा कोठाको तातो भित्ताले सोस्न पाउँदैन र कोठा तातो भइराख्छ ।
४. सोफा, बेड, लुगा र पर्दाको नजिक हिटर राख्नु हुँदैन । त्यस्ता वस्तुले तातो सोस्ने हुँदा कोठा कम तात्छ र मानिसलाई प्राप्त हुने तातो पनि कम हुन्छ । साथै ती वस्तु अधिक तापले बिग्रन सक्छन् ।
५. पानी ट्यांकी र पाइपलाई कुचालकले कोटेड गर्नुपर्छ वा बाहिरबाट र्याप गर्नुपर्छ, जसले गर्दा वातावरणको चिसोले पानीलाई चिसो बनाउन सक्दैन ।
४. एसी वा अन्य हिटर घरबाट बाहिर निस्कनु १५ मिनेट पहिले बन्द गरे हुन्छ, किनकि पहिलेको तातो केही समय रहिरन्छ । यसबाट बिजुली बचत हुन्छ ।
५. गाडीको हिटर अन गर्दा बढी तेल खपत हुँदैन किनकि तेल बलेर तातो सिर्जना हुने होइन । इन्जिनमा तातेको तरलबाट सिर्जना भएको तातोलाई पाइप र पंखाबाट गाडी भित्र ल्याउने मात्र हो ।
६. गाडीको हिटर चलाउँदा कम्प्रेसर वा एसी अन गर्नु पर्दैन । गाडीको हिटर अलग प्रणालीबाट चल्छ ।
७. गाडी स्टार्ट गर्नसाथ हिटर अन गर्नु हुँदैन । हिटर अन गरेर तातो गाडीभित्र ल्याउन खोज्दा इन्जिनलाई आवश्यक तापक्रम पुग्दैन । यस्तो अवस्थामा गाडीको गति कम हुन्छ र गति बढाउन एक्सिलेटर बढी प्रेस गर्नुपर्छ, जसले गर्दा तेल बढी खर्च हुन्छ । त्यसैले तीन–चार मिनेट कुर्नु उपयुक्त हुन्छ ।
७. इलेक्ट्रिक ब्लांकेट अन गर्दा इलेक्ट्रोम्याग्नेटिक वेभ आउँछ, जुन हानिकारक हुन्छ । त्यसैले सुत्नुअघि नै तताएर अफ गर्नुपर्छ । शिशुका लागि यो अझ बढी संवेदनशील हुन्छ ।
८. तेल, कोइला, ग्यास, दाउरा, मकल, गुइँठा आदि बालेर तातो सिर्जना गर्दा अक्सिजन कम हुन्छ, किनकि ती वस्तु बल्न अक्सिजन पनि बोल्नुपर्छ । यस्तो हिटर आँगन वा दुईतिर झ्याल ढोका खुला भएको कोठामा मात्र सुरक्षित हुन्छ ।
९. इलेक्ट्रिक हिटरले अक्सिजन कम गर्दैन, किनकि हिटर अन हुँदा अक्सिजन बल्ने होइन । विद्युत् ऊर्जालाई अवरोध उत्पन्न गरेर ताप ऊर्जामा रूपान्तरण गर्ने हो । यो विधिको हिटरले आद्रता भने घटाउँछ ।
१०. इलेक्ट्रिक इन्फ्रारेड हिटरले पनि अक्सिजन कम गर्दैन । यसले सिर्जना गर्ने किरण (रे) ले नजिकको वस्तुलाई तताउँछ । यसले सामान्य इलेक्ट्रिक हिटरको तुलनामा कम मात्रामा आद्रता घटाउँछ ।
११. इलेक्ट्रिक हिटर पंखाले पनि अक्सिजन कम गर्दैन तर आद्रता कम गर्छ । यो फरक प्रणाली होइन, अन्य प्रणालीको तातोलाई फैलाउने मात्र हो ।
११. हिटर बाल्नासाथ शिशुलाई हिटर नजिक राख्नु हुँदैन, किनकि धुलीकणहरू उडेका हुन्छन् । दुई–तीन मिनेटपछि हिटर तपाउनु उपयुक्त हुन्छ ।
१२. एयर कन्डिसनर कोठा तताउनका लागि तुलनात्मक रूपमा सुरक्षित र स्वस्थ हुन्छ । यसमा विशेष ग्यासलाई बढी चाप र कम चापमा प्रवाह गरेर ताप सिर्जना गरिन्छ । एसीमा कन्डेन्सर र कम्प्रेसरले एक–अर्काको रुपमा काम गरेर तातो र चिसो दुवै कायम गर्न सक्छन् । इन्भर्टर एसीलेले कमान्ड दिएको तापमान कायम हुने गरी स्व–नियन्त्रण गर्छ । यसले आद्रता खासै घटाउँदैन ।
१३. आयल रेडियटर पनि कोठा तताउनका लागि सुरक्षित र स्वस्थ हुन्छ । यसमा विशेष प्रकारको तेल भरिएको हुन्छ । यसले आँखालाई नोक्सान गर्ने प्रकाश निकाल्दैन । यसले कोठाको आद्रता पनि खासै घटाउँदैन ।
१४. ग्यास गिजरले पानी तताउँदा बाथ रुमको अक्सिजन कम हुन्छ । बाहिरपट्टि भेन्टिलेसन नभएको बाथ रुममा ग्यास गिजर प्रयोज गर्नु जोखिमयुक्त हुन्छ ।
१५. लुगा धुन र नुहाउन भाँडामा धेरै पानी तताउँदा तातेपछि ग्यास वा बिजुली बन्द गर्न बिर्सियो भने कोठाहरूमा बाफ भरिएर लुगा, बेड र दालचामलजस्ता खाद्यान्न ओसिले हुने, ढुसी लाग्ने र फोहोर हुने सम्भावना हुन्छ ।
माथि उल्लेख गरिएका उपकरण र प्रविधिमध्ये एसी सुरक्षित भए पनि तातो बनाउने प्रयोजनको लागि मात्र महँगो हुन जान्छ । यदि गर्मीका लागि पनि उपयोग गर्नुपर्ने छ भने यो उपयुक्त हुन्छ । एसी जडान गर्न करिब १ लाख रुपैयाँ लागत पर्छ ।
तातो बनाउन मात्र उपकरण चाहिएको हो भने आयल रेडियटर उपयुक्त हुन्छ । यसको मूल्य करिब २० हजार रुपैयाँ पर्छ । यसको क्षमता फिन (पाता) मा गणना हुन्छ । सानो कोठाको लागि ७ फिन र ठूलो बैठकका लागि १३ फिन उपयुक्त हुन्छ ।
इलेक्ट्रिक हिटर, हेलोजिन हिटर, फ्यान हिटर, केरोसिन हिटर, ग्यास हिटर, इन्फ्रारेड हिटरको मूल्य करिब २ हजार रुपैयाँ पर्छ । गोल, दाउरा, मकल अझ सस्तो हुन्छ । यस्ता हिटरमा शिशु र बच्चाबच्ची पोलिन सक्ने, अक्सिजन कम हुन सक्ने, आद्रता घट्ने सम्भावना हुन्छ । यस्ता हिटर चलाउने हो भने कोठाका कुनामा कचौराहरूमा पानी राख्नु वा भिजेका लुगा झुन्ड्याउनुपर्छ ।
अक्सिजन बल्ने हिटरको प्रयोग ठूला फराकिला कोठा छन् भने १५ मिनेटसम्म मात्र झ्याल ढोका नखोली चलाउन सकिन्छ । यस्ता हिटरले मन्द धूवाँसमेत निकाल्ने हुँदा झ्याल ढोका नखोल्दा क्रमशः लुगा, भित्ता कालो हुने र स्वासप्रश्वासमा थप समस्या हुने गर्छ ।
मानिसलाई स्वस्थ रहन हावामा अक्सिनको पर्याप्त मात्रा चाहिन्छ । साथै हावामा २५ प्रतिशतभन्दा बढी सापेक्षित आद्रता चाहिन्छ । हावामा आद्रता ग्रहण गर्ने अधिकतम क्षमताको कम्तीमा २५ प्रतिशत आद्रता हुनैपर्छ । हिउँदमा जमिनबाट वाष्फीकरण कम हुने हुँदा आद्रता स्वतः कम हुन्छ । कोठामा पानीका स्रोतहरू राखेर हिटर बाल्दा केही मात्रामा आद्रता आफैं पूर्ति हुन्छ । नतातेको पानीबाट पनि आँखाले नदेख्ने गरी बाफ उडिरहेको हुन्छ ।
घर कोठामा मानिसको संख्या धेरै छ भने झ्याल ढोका बन्द गर्दा अक्सिजनको मात्रा कम हुने हुँदा जति जाडो भए पनि बेलाबेला झ्यालढोका खोल्नैपर्ने हुन्छ । आयल रेडियटर र एसीबाहेक सबै प्रकारका हिटर रातभर चलाउनु हुँदैन, सुत्ने बेला बन्द गर्नुपर्छ । लामो समय चलाउनुपर्ने छ भने १०/१५ मिनेटको अन्तरमा २/३ मिनेट बन्द गर्नुपर्छ ।
उज्यालो र तातो उत्पन्न गर्ने हिटरहरूमा शिशु र बच्चाबच्चीले आँखा लगाउन मन मराउने हुँदा आँखामा थप समस्या पर्छ । आद्रता कम हुँदा आँखाको आँसु, मुखको थुक ¥याल, घाँटीको ओसिलो, नाकको ओसिलो र छाला सुक्ने समस्या हुन्छ । शिशु र बच्चाबच्चीमा यो तीन गुणा बढी हुन्छ । तसर्थ यी सबै कुरा बुझेर हिटरहरूको छनोट, खरिद र प्रयोग गर्नुपर्छ ।