कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
1353


वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरी व्यावसायिक साक्षरता तथा लघुकर्जामार्फत विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति लिनुपर्छ ।

नेपालमा करिब ६२ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा लघुकर्जा र बचतका लागि खुलेका सहकारीहरू अझ धेरै छन् । यी लघुवित्त संस्थाहरूमा करिब ३० लाख व्यक्ति आबद्ध छन् । करिब ६ खर्ब ५३ करोडभन्दा बढी कर्जा प्रवाह भएको अनुमान छ । तथ्यांकले के देखाउँछ भने यी सदस्यहरूबाट उद्यम, व्यापार तथा लघुउद्यमको क्षेत्रमा करिब ११ प्रतिशत मात्र कर्जाको प्रयोग भइरहेको छ । ग्रामीण क्षेत्रमा युवा तथा महिलालाई उद्यम, व्यापार–व्यवसाय तथा उत्पादनसँग जोडिने राम्रो तथा प्रभावकारी माध्यम ग्रामीण क्षेत्रमा सञ्चालित लघुवित्त संस्था र यसमा आबद्ध व्यक्तिहरूको सञ्जाल हुन सक्छ । कमी–कमजोरी तथा बलियो पक्षको विश्लेषण गर्दै नयाँ ढंगले लघुकर्जा कार्यक्रमलाई उद्यम, व्यापार–व्यवसाय तथा उत्पादनसँग जोड्ने गरी कार्यान्वयन गर्नु आवश्यक छ । यसका लागि हामीले गम्भीर बहस गर्नु आवश्यक छ ।
सदस्य संख्या विस्तारमा मात्र जोड दिनु, जसरी पनि वित्तीय प्रगति हासिल गर्नुपर्छ भन्ने मान्यताले कर्जा प्रवाह गर्नु, संस्थाको कर्जा लगानी तथा असुली प्रक्रियामा मात्र केन्द्रित हुनु, कमजोर वित्तीय साक्षरता, उद्यमशीलतालाई लघुकर्जासँग जोड्न नसक्नु, कर्जामा दोहोरोपना हुनु, व्यावसायिक ज्ञान प्रदान गर्न सक्ने दक्षकर्मचारी नहुनु लघुकर्जा कार्यक्रमका मुख्य समस्याहरू हुन् । कर्जा दिएर मात्र उत्पादन बढ्दैन । व्यवसाय र उद्यमको विकास हुँदैन ।
व्यावसायिक साक्षरताअन्तर्गत एउटा उद्यमीलाई के–के व्यावसायिक ज्ञान आवश्यक पर्छ र सो ज्ञानलाई व्यावसायिक कर्जासँगसँगै सदस्यहरूमा प्रवाह गर्ने स्पष्ट विषय वस्तु, व्यावसायिक तालिम प्रवाह गर्ने तरिका तथा लघुकर्जालाई व्यवस्थित तथा उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि लघुकर्जामार्फत व्यावसायिक साक्षरता तथा ज्ञान प्रदान गर्न स्पष्ट दिशानिर्देश गर्न सकेको छैन । मानिसलाई पैसा दियो भने उसले आफ्नो बाटो आफै पहिल्याउँछ भन्ने परम्परागत मान्यताले मात्र कर्जा प्रवाह गर्दा उद्यमशीलता बढ्दैन भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ । एउटा भनाइ छ, चाइनिजहरूको डीएनएमा उद्यमशीलता हुन्छ । दक्षिण एसियामा सबैभन्दा बढी उद्यमशीलता पाकिस्तानी, बंगलादेशी र भारतीयहरूमा पाइन्छ ।
उद्यम, व्यापार तथा व्यवसाय सञ्चालन गर्न कुनै एउटा तत्वले मात्र पुग्दैन । त्यसलाई एउटा व्यक्तिमा रहेको व्यावसायिक ज्ञान तथा सीप जसले व्यवसाय छनोटदेखि व्यवसाय सञ्चालनको क्षमतालाई दर्साउँछ भने अर्कातर्फ व्यावसायिक पुँजी, सीप, प्रविधि, नीतिगत व्यवस्था, पूर्वाधार, एक–अर्कामा आश्रित व्यावसायिक अन्तरनिहित सम्बन्धले पनि प्रत्यक्ष असर पार्छ । कुनै एक व्यावसायिक तत्वले भन्दा पनि समग्र उद्यमशीलताको विकासले नै उत्पादन र उत्पादकत्व वृद्धिले सामावेशी आर्थिक विकासमा सहयोग गर्ने हो ।
बैंक, लघुवित्त तथा सहकारी संस्थाहरूले लघुकर्जासँगै व्यावसायिक साक्षरता र उद्यमशीलतालाई जोड दिनुपर्छ । वित्तीय साक्षरता मात्र पर्याप्त छैन । व्यावसायिक साक्षरताअन्तर्गत व्यवसाय छनोट, व्यावसायिक योजनाको निर्माण, नयाँ सोचमा आधारित व्यवसाय सञ्चालन, वित्तीय साक्षरता, बचत परिचालन, बजार र बजारीकरणका रणनीतिहरू, व्यावसायिक अन्तरसम्बन्ध विस्तार गर्ने तरिका, व्यवसाय दर्ता, कर नवीकरणसम्बन्धी परामर्श, प्रविधि र सीप विकास, मूल्य श्रृखलामा आधारित व्यवसायको प्रवद्र्धन, उत्पादनको व्यावसायीकरणका लागि उत्पादन पकेट क्षेत्रको निर्माण तथा विस्तारका लागि कर्जा प्रवाहजस्ता कार्यहरूबाट लघुकर्जासँग जोड्नुपर्छ । नेपाल राष्ट्र बैंक तथा थोक कर्जा प्रवाह गर्ने संस्था, दातृ निकाय, स्थानीय सरकारले लघुउद्यमी, निरक्षर ग्रामीण महिलाहरूलाई उपयुक्त हुने खालको उद्यमशीलताको समग्र विषयवस्तु समेट्ने गरी मोबाइल र प्रविधिको माध्यमबाट तालिम तथा क्षमता अभिवृद्धिको कार्यक्रममा जोड दिनुपर्छ ।
व्यावसायिक जोखिमलाई न्यूनीकरण गर्न लघु व्यावसायिक बिमा, कृषि बिमा कार्यक्रमहरूलाई लघुवित्तसँग एकीकृत रूपमा जोड्नुपर्छ । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप व्यावसायिक साझा सुविधा केन्द्रको स्थापना गरी उन्नत प्रविधिको विस्तार, प्रशोधन उद्यम, साझा संकलन तथा भण्डारण केन्द्र, पशुपालनको विकासका लागि सामूहिक गोठको निर्माण, नयाँ–नयाँ व्यावसायिक अवधारणा तथा प्रविधिको विस्तार गरी लघुकर्जामार्फत ग्रामीण क्षेत्रको उत्पादकत्वमा वृद्धि गर्नुपर्छ । वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरी व्यावसायिक साक्षरता तथा लघुकर्जामार्फत विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति लिनुपर्छ । यसरी लघुकर्जालाई व्यावसायिक साक्षरतामार्फत आर्थिक समृद्धिका लागि प्रभावकारी माध्यम हुन सक्ने गरी कार्यक्रम सञ्चालन गर्न सबैको ध्यान जानु आवश्यक छ ।
प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वय तथा सहकार्यमा दुई वा तीनवटा उत्पादन पकेट क्षेत्र निर्धारण गर्ने र त्यस्ता उत्पादन तथा सेवाको मूल्य श्रृंखला विकास गर्न वस्तु तथा सेवालक्षित निजी क्षेत्रमा ‘मूल्य श्रृंखलामा आधारित कर्जा कार्यक्रम’ सञ्चालन गर्न सकिन्छ, जसको माध्यमबाट समग्र मूल्य श्रृंखलाको विकास भई उत्पादन बढने, व्यावसायिक सेवा प्रभावकारी हुने, व्यावसायिक अन्तरसम्बन्धको विस्तार हुने, प्रशोधन उद्योगहरूको स्थापना हुने, व्यवसायीकरणको माध्यमबाट लागत घट्न गई प्रतिस्पर्धी क्षमता बढ्ने, धेरैभन्दा धेरै व्यक्तिलाई व्यवसायको माध्यमबाट जोडी उद्यमशीलतालाई अभियानका रूपमा विस्तार गर्न सकिन्छ । परिणामस्वरूप ग्रामीण औद्योगीकरणमार्फत समावेशी आर्थिक विकासका लागि लघुकर्जा र व्यावसायिक साक्षरता एउटा प्रभावकारी माध्यम हुन सक्छ ।
निजी क्षेत्रका लघुकर्जा प्रवाह गर्ने बैंकहरूले पनि आफ्नो व्यावसायिक सोचमा परिवर्तन गरी व्यावसायिक संयोजन गर्नु आवश्यक छ । नेपाल राष्ट्र बैंक, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले पनि स्पष्ट नीति तथा कार्यक्रममार्फत लघुकर्जा र व्यावसायिक साक्षरतालाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । आजभन्दा दस वर्षअघिको सोच र अवधारणामा सञ्चालन भएका लघुवित्त कार्यक्रम तथा संस्थाहरू अबको सन्दर्भमा प्रभावकारी नहुन सक्छ ।

नयाँ व्यावसायिक सोचका साथ लघुवित्त संस्थाहरूले आफ्नो प्रतिस्पर्धी क्षमता विकास नगर्ने हो भने क्रमशः व्यवस्थापकीय क्षमता भएका वित्तीय संस्थाहरूको व्यावसायिक अस्तित्वमै प्रश्नचिह्न खडा हुन सक्छ ।

यस्तो हुनु भनेको ३० लाख घरपरिवार आबद्ध भएको आर्थिक जनसंरचना धरासायी हुनु हो । समावेशी आर्थिक विकासका लागि व्यावसायिक साक्षरता र लघुकर्जालाई सँगसँगै जोडेर लानु आवश्यक छ ।
-सन्दीप पौडेल/ डा. भरतप्रसाद भट्ट