कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
481

योजना, संगठन, निर्देशन, नियन्त्रण एवम् समन्वयजस्ता स्थापित व्यवस्थापकीय कार्यहरूभित्रै परिवर्तनलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

संस्थागत उद्देश्य प्राप्तिका लागि संगठनको सिद्धान्त र यसको व्यावहारिक प्रयोगको आवश्यकता रहन्छ । वास्तवमा यसले संगठन संरचना, कार्य सम्पादन स्तर, समूह र समूहमा आबद्ध व्यक्तिहरूको व्यवहारको अध्ययन गरेको हुन्छ । यसले लक्ष्य प्राप्ति, कार्यरत समूहको मनोवैज्ञानिक पक्ष, प्रविधि तथा एकीकृत कार्य व्यवस्थाबीच अन्तरसम्बन्ध स्थापित गर्न खोजेको हुन्छ । संगठनलाई सामाजिक संरचनाका रूपमा प्रस्तुत गर्ने गरिन्छ र यसले अधिकारको शृङ्खला, श्रम विभाजन तथा औपचारिक प्रक्रिया र नियममा विश्वास गर्छ । संगठनको आकार ठूलो हुँदा कार्यप्राणाली र औपचारिकता बढी जटिल हुनुका साथै विभागीय संरचना र स्वरूप पनि विस्तारित हुन पुग्छ । नतिजाउन्मुख नभई प्रक्रियाउन्मुख हुने सम्भावना पनि ठूलो आकारको संगठनमा नै अधिक हुन्छ । यसलाई नै व्यवस्थापनविद्हरूले ब्युरोक्रेसीको संज्ञा दिने गर्छन् । जे होस्, संस्थागत उद्देश्य हासिल गर्ने क्रममा यावत् पक्षहरूको उचित संयोजन र समन्वयको कार्य नै संगठन प्रणाली हो ।
सामान्य अर्थमा व्यवस्थापन भन्नु नै योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रण गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गरिने विभिन्न साधनहरूमध्ये मानव संसाधनलाई अर्थपूर्ण रूपमा लिइएको हुन्छ । अन्य संसाधन, यसको आकार र संरचनामा निर्भर गर्ने हुँदा संस्थामा दक्ष जनशक्तिको आवश्यकता सँधै नै रहिरहन्छ । संस्थालाई निश्चित गति प्रदान गर्ने उच्च व्यवस्थापकको अहम् भूमिका रहन्छ । यस अर्थमा संस्था प्रमुखले अन्तरवैयक्तिक, सूचनामूलक एवम् निर्णयक भूमिकामा रहेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ । व्यवस्थापन समूहलाई समन्वयतात्मक तवरबाट अघि बढाउने प्रमुख जिम्मेवारी पनि कार्यकारी प्रमुखकै हुन आउँछ । तसर्थ, मानव संसाधन व्यवस्थापनलाई समग्र संगठन तथा व्यवस्थापनको एउटा अभिन्न अंगका रूपमा लिने गरिन्छ ।

साझा उद्देश्यका लागि समूह आबद्धता आवश्यक हुन्छ र यस्तो आबद्धताले सामुहिक वा व्यक्तिगत असन्तुष्टि निम्त्याउने अवस्था पनि रहन्छ । यसले द्वन्द्व सिर्जना गर्छ र द्वन्द्वलाई प्राकृतिक रूपमा पनि लिने गरिन्छ । चर्को द्वन्द्वले समन्वयात्मक कार्यमा असर गरेको हुन्छ । तसर्थ, संगठनको अर्को महत्वपूर्ण कार्य द्वन्द्व व्यवस्थापन पनि हो र यसलाई यथाशक्य न्यूनतम स्तरमा राख्दा संगठनात्मक प्रभावकारिता बढेर जान्छ । द्वन्द्व व्यवस्थापनको एउटा उपाय सहभागितामूलक व्यवस्थापन पनि हो । निर्णय प्रक्रियामा विभिन्न तहको यथोचित प्रतिनिधित्व गराउने परिपाटी नै सहभागितामूलक व्यवस्थापन हो ।
सूचना तथा प्रविधिको क्षेत्रको आएको तीव्र विकास र विस्तारसँगै दैनिक कार्यशैली, कार्यप्रणाली एवम् संगठन संरचनामा तदनुरूप समायोजन तथा परिवर्तन गर्नुपर्ने आवश्यकता रहन्छ र यो एउटा निरन्तर क्रम पनि हो । मानवीय जीवनशैलीका यावत् पक्ष एवम् दिनचर्यामा आउने स्वाभाविक परिवर्तनले गर्दा परिवर्तित सन्दर्भअनुरूप चल्नुपर्ने आवश्यकता जुनसुकै क्षेत्रमा रहन्छ । हिजोको सन्दर्भमा उपयुक्त ठहराइएको नीति तथा कार्यक्रम आज उपयोगी नहुनुका साथै त्यसलाई पूर्ण रूपमा विस्थापित गरी नयाँ सिर्जनाबाट अगाडि बढ्नुपर्ने अवस्था रहन्छ । यस्तो आवश्यकता आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जुनसुकै क्षेत्रमा रहन्छ । त्यसैले, परिवर्तनको व्यवस्थापनले जहिले पनि महत्व पाइरहेको हुन्छ ।
वास्तवमा परिवर्तनले विद्यमान कार्यप्रणाली तथा कार्यविधिमा परिवर्तन गरी संगठनात्मक सुधार गर्नुलाई बुझाउँछ । विश्वव्यापीकरणको बढ्दो क्रम एवम् नवीन प्रविधिमा आएको तीव्रतासँगै बजार वातावरणले गर्दा विश्वमा उल्लेख्य परिवर्तन आएको छ । यसको सामना मात्र नगरी उसका लागि नेतृत्वको विकास गर्नुका साथै व्यवस्थापनका लागि अग्रगामी हुन पति त्यत्तिकै आवश्यक छ । परिवर्तनका लागि पहल गरिंदा संगठनको कार्यप्रक्रिया, कार्यप्रणाली, संरचना र पदीय भूमिकामध्ये कुनै एक वा बढीमा परिवर्तन वा अनुकुल समायोजन गर्न खोजिएको हुन्छ । संगठन सुधारका लागि जुनसुकै औजार वा उपाय अवलम्बन गर्दा पनि अन्ततः संस्थाका यिनै पक्षहरूमा समायोजनको आवश्यकता रहेको हुन्छ । आन्तरिक वा बाह्य कारणबाट सिर्जित कुनै एउटा समस्या वा अवसरको अवस्थालाई सकरात्मक प्रक्रियाका रूपमा सम्बोधन गरिनु नै परिवर्तन हो र यसरी गरिएको सम्बोधनबाट वञ्छित नतिजा हासिल गर्नु यसको व्यवस्थापन हो ।
परिवर्तनका लागि यसको योजना बनाउने, व्यवस्थापन गर्ने तथा परिवर्तनलाई स्थापित गर्ने र कार्यरत कर्मचारी वर्गमा सहज अनुभूत गराउने प्रमुख जिम्मेवारी संस्थाको उच्च व्यवस्थापन र कार्यकारी तहमा रहेको हुन्छ । परिवर्तनको सफलता तथा प्रभावकारिता उच्च व्यवस्थापनको प्रतिबद्धता, स्पष्ट र सबैले ग्रहण गर्न सक्ने दूरदृष्टि वा लक्ष्य, आवश्यक साधन र क्षमता एवम् यस सम्बन्धी कार्य–योजनामा निर्भर गर्छ ।
एउटै प्रकृतिको संगठन संरचना र कार्यप्रणाली सदाका लागि उपयुक्त हुँदैन भन्ने गरिन्छ । बजारको प्रतिस्पर्धा, बाह्य वातावरण, वस्तु तथा सेवाको गुणस्तर एवम् परिमाणका सुधारको आवश्यकता तथा नयाँ ढंगमा बजार प्रवेशको रणनीतिजस्ता आन्तरिक र बाह्य कारकहरूले परिवर्तनलाई अनिवार्य गराएको हुन्छ । सूचना, प्रविधि एवम् व्यवस्थापकीय सोचमा आएको नवीन प्रयोग र अभ्यासले यसको महत्वलाई अरू बढावा दिएको अवस्था छ । यस क्रममा मानवीय पक्षको व्यवस्थापन अरू महत्वपूर्ण हुनुका साथै जटिल र चुनौतीपूर्ण पनि हुन आउँछ ।
योजना, संगठन, निर्देशन, नियन्त्रण एवम् समन्वयजस्ता स्थापित व्यवस्थापकीय कार्यहरूभित्रै परिवर्तनलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यसैले परिवर्तनको व्यवस्थापन पनि व्यवस्थापनको स्वीकृत सामान्य सिद्धान्तअनुरूप नै चल्नु आवश्यक छ । विद्यमान उद्देश्य, संरचना, कार्यशैली, प्रक्रिया र प्रणालीमा संशोधन, समाजयोजन तथा पुनर्संरचनाको आवश्यकतालाई परिवर्तनको व्यवस्थपनले इंगित गरेको हुन्छ । परिवर्तनको व्यवस्थापन एउटा प्रक्रिया हो, जुन आन्तरिक वा बाह्य कारण वा समस्याबाट सुरु भई संगठनभित्र एउटा नयाँ रणनीतिको कार्यान्वयन हुन गई उक्त प्रक्रियाको अन्त्य हुन पुग्छ ।
एउटा नाफामूलक व्यावसायिक संस्थाका लागि आफ्नो प्रतिस्पर्धीभन्दा बढी दक्ष एवम् प्रभावकारी रूपमा बजारमा उपस्थिति जनाउने सन्दर्भमा परिवर्तनको व्यवस्थापन एउटा निरन्तर प्रक्रिया हो, जसले संस्थालाई असर पार्ने बाह्य र आन्तरिक अवस्थाहरूको मूल्याङ्कन गर्दै संगठनात्मक सुधारका लागि ध्यान दिएको हुन्छ । परिवर्तनको व्यवस्थापनले संगठनको एउटा समस्या वा अवसरको अवस्थाबाट समाधानतर्फ डोराउने काम गर्छ । स्वाभाविक र नियोजित गरी परिवर्तनका दुईवटा स्रोतका बारेमा चर्चा गर्ने गरिन्छ । कानुनी संरचना, सामाजिक मूल्य–मान्यता तथा प्रतिस्पर्धाको अवस्थाजस्ता बाह्य वातावरणमा आधारित भई स्वाभाविक रूपमा गर्नैपर्ने प्रकृतिको परिवर्तनलाई पहिलो वर्गमा लिइन्छ । अर्थात् परिवर्तित वातावरणमा समायोजित हुन नसक्दा संगठनको निरन्तरतामाथि नै प्रश्नचिह्न खडा हुने अवस्था पनि रहन्छ र यसमा व्यवस्थापकीय नियन्त्रणको मात्रा भने न्यून हुन्छ । पूर्वानुमानका आधारमा नियोजित एवम् व्यवस्थित ढंगमा गरिने परिवर्तन नियोजित परिवर्तन हो र यसका संवाहक आन्तरिक तथा बाह्य दुवै हुन सक्छन् ।
संगठनभित्र कार्यरत कर्मचारी वर्गको सामुहिक कार्यसम्पादन स्तर सुधार गर्दै सम्बद्ध सरोकारवाला सबैसँग कार्यगत भावना जगाउनु अर्को परिवर्तनलाई दिगो बनाउने अस्त्र हो ।