कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
469

तेल उत्पादक अरू कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ ।

लन्डन : संयुक्त राज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरूले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।
विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ ।

इनर्जी आस्पेक्टमा आवद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए । उनले अमेरिकी नाकाबन्दीका बाबजुद इरानी तेल कालोबजारी हुने खतरासमेत रहेको बताएका छन् ।
इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ताविरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ ।
इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । ओपेकसँग आबद्ध राष्ट्रमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो ।
संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रतिदिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । “संयुक्त राज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउनेछ,” यूबीएस विश्लेषक जिओभानी स्टाउनोभोले बताए । उनले तेलको मूल्य बढ्ने चेतावनीसमेत दिए ।
तर, एक महिनाकै अवधिमा तेलको मूल्यमा झन्डै १५ अमेरिकी डलरले कमी आएको छ । गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्षयताकै उच्चबिन्दु अर्थात् प्रतिब्यारेल ८५ डलरसम्म पुगेको थियो ।
संयुक्त राज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरे पनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेका थिए । तर, उनले ती देशको नाम सार्वजनिक गरेका छैनन् ।
टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो ।
“हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्चअघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,” नेटिक्सिसका विज्ञ जोल हान्ककले बताए ।
तेल उत्पादक अरू कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरेबराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापक साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन् ।
“साउदी अरेबियाले प्रतिदिन १ करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्छ, तर यसका लागि ठूलो लगानी गर्नुपर्नेछ,” हान्ककले बताए । अहिले प्रतिदिन साउदी अरेबियाले १ करोड १० लाख ब्यारेल तेल उत्पादन गरिआएको छ ।
उनको विचारमा साउदी अरेबियासँग अहिले ३ लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ । हान्ककले भने, “इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन ।”
विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्त राज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञले बताएका छन् ।