गजेन्द्र बुढाथोकी
मंगलबार, कार्तिक २०, २०७५
434

पैसाका पूजा गरेर लक्ष्मी खुसी होइनन्, त्यो पैसाको बचत र सही परिचालनले मानिस समृद्ध हुने हो, उसको जीवनमा समृद्धि आउने हो ।

नेपालभित्र मनाइने प्रमुख चाडहरूमध्ये तिहार सोमबारबाट आरम्भ भएको छ । तिहारमा धनकी देवी मानिने लक्ष्मीको मात्र पूजा गरिँदैन, राज्य सञ्चालन प्रक्रियामा आइलाग्दा कसरी जनताबाट पैसा उठाएर चलाइन्थ्यो भन्ने कुराको विम्बस्वरूप देउसी–भैलो गाउँदै दक्षिणासमेत संकलन गरिन्छ । नेपालमा मात्र नभएर हिन्दू बाहुल्य भारतसहित अहिले नेपाली र भारतीयहरू बढिरहेका अमेरिका, अस्ट्रेलियासहितका देशमा धनधान्यकी देवी लक्ष्मीको पूजासहित दीपावली (दिवाली) मनाइन्छ । भारतमा दीपावलीका अघिल्लो दिन आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको जन्मदिन कात्तिक त्रयोदशीलाई धनतेरसका रूपमा मानिन्छ । भारतभरि हुने कुल सुनको कारोबारको ३० प्रतिशत किनबेच दीपावलीका अवसरमा हुने गरेको आकलन छ । भारतीयहरूसँग २२ हजार ५ सय टन सुन मौज्दातमा रहेको आकलन छ, भारतले सन् २०१७ मा ८८० टन सुन आयात गरेको थियो ।
नेपालमा पनि धनतेरसको प्रचलन बिस्तारै भित्रिँदै छ, ठ्याक्कै यति नै अनुपातमा तिहारमा सुनचाँदी किनिन्छ भन्ने औपचारिक आँकडा अहिले छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा विवाहको सिजनका समयमा दैनिक औसत ४० देखि ४५ किलो सुन खपत हुने गरेको छ भने अन्य सिजनमा यो खपत दैनिक २५ किलोको हाराहारीमा रहने गरेको छ । नयाँ किनमेल संस्कारले तिहारका बेला पनि औसतमा दैनिक ४० किलोजति सुन किनमेल गर्ने गरिएको अनुमान छ । नेपालमा तिहारका बेला सुनभन्दा तामा र पितलका भाँडाकुडा बढी किन्ने चलनले गर्दा यस्ता धातुको माग बढ्ने गरेको छ ।
तिहार, दीपावलीमा धनधान्यका देवी लक्ष्मीको पूजा गर्ने प्रचलन छ, यो भनेको धनसम्पत्ति वा आर्जनको पूजा हो । यस दिन आफूसँग भएका गरगहना, नगद लक्ष्मीलाई अर्पण गरेर लक्ष्मीको पूजा गरिन्छ । व्यापारी–व्यवसायीहरूले ढुकुटीको पूजा गर्छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको ढुकुटी वा भल्टको समेत पूजा गर्ने गरिएको छ । दीपावलीका दिन घरआँगन सफा बनाई बत्ती बालेर उज्यालो बनाई लक्ष्मी भित्र्याउने प्रचलन छ, यसले हाम्रो समाजमा कायम धनसम्पत्तिको महत्वलाई प्रकाश पार्छ ।
तिहारका बेला नेपालको आफ्नै मौलिक परम्पराजस्तो छरछिमेकमा देउसी–भैलो गाउँदै सांस्कृतिक उत्सव मनाउने गरिएको छ । देउसी–भैलोका परम्पराका बारेमा अनेकन किंवदन्तीहरू छन् । पहिलो पौराणिक मिथकअनुसार राजा बली दानी थिए । सय यज्ञ पूरा गरी सारा मनोकामना पूरा गर्ने अवस्थामा पुगिसकेपछि स्वर्गसमेत हरिने अवस्था आएपछि इन्द्रले भगवान् विष्णुसमक्ष स्वर्ग बचाइदिन अनुरोध गरे । ब्राह्मणका रूपमा आएका विष्णुले तीन पाइला माग्दा आफ्नो सारा राज्य, सम्पत्ति र अन्य उपलब्धिहरू दान गरिसकेपछि राजा बलिलाई राज्य सञ्चालन गर्न संकट आइलाग्यो । त्यसपछि उनले राज्य चलाउन जनतासमक्ष दान माग्न पठाए । त्यही परम्परापछि देउसी–भैलोमा परिणत भयो । किराँत मुन्धुमका अनुसार महादानी राजा बलि (किराँत भाषामा हाङ भनेका राजा हुन्) का समयमा राज्यमा अनिकाल प¥यो, प्रजा बचाउनका लागि बलि हाङले प्रत्येक प्रजाको जेजस्तो छ धानचामल, अन्नपात मागी ल्याउनु भनी पठाए । त्यत्तिकै नमाग्नु, प्रजा खुसी पारेर ल्याउनु भन्ने उनको आदेशअनुसार नाचगान गरी दक्षिणा माग्ने क्रम नै पछि देउसीमा परिणत् भयो । यस्तै, अर्को मिथकअनुसार खस राजा बाल राजा काशीरामले मोरङ राज्यका राजा हिन्दपति सेनलाई पराजित गरे । लडाइँमा धेरै सिपाही मारिए । तिनका विधवा र छोरीलाई केही आर्जन होस् भनेर काशीरामले ‘स्वेच्छिक कर’बुझाउन भैली खेल्ने थिति बसाए भने अपांगता भएका सिपाहीका लागि देउसी । घरघरमा मकै र धान भित्रिसकेको सिजन हुने भएकाले उनीहरूलाई अन्न दान दिन थालियो । यही नै पछि देउसी–भैलोमा परिणत भयो ।
जेजस्तो मिथक भए पनि इतिहासका कुनै कालखण्डमा राज्य सञ्चालनका लागि आवश्यक स्रोत संकलन गर्न देउसेका रूपमा कर्मचारी खटाइएकोमा शायदै दुईमत होला । कात्तिक यस्तो मौसम हो, जतिबेला धानका बाला पाकेर बाली भित्र्याउने अन्तिम तयारी हुन्छ वा धेरै ठाउँमा धान, मकैजस्ता बाली भित्र्याइसकेको हुन्छ । “हामी त्यसै आएका हैनौं, बाली माग्न पठाए” भन्ने नै पछि गएर अपभ्रंश हुँदै ‘बली राजाले पठाए वा बलि हाङले पठाए’ हुँदै गएको हुन सक्ने सम्भावना छ, जसमा पछि अनेकन जनश्रुति जोडिन गए । जनताबाट करका रूपमा स्रोत संकलन गर्ने परम्परा आरम्भ भइ नसकेको समयमा खुसीले दिइने दानबाट राज्य सञ्चालनको यो युक्ति साँच्ची नै सराहनीय थियो ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले अन्य साना राज्यहरू गाभ्नका लागि आवश्यक स्रोत जोहो गर्न यसरी नै जनताबाट स्वेच्छिक योगदान लिने व्यवस्था गरेका थिए ।
यही परम्परालाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा अहिले पनि स्थानीय सामुदायिक क्याम्पस, विद्यालय सञ्चालनका लागि देउसीभैलो खेली रकम संकलन गर्ने गरेको समाचार आउने गरेको छ । कतिपय स्थानमा त देउसीभैलोबाट संकलित रकमले विकास–निर्माणकै कामसमेत भएका उदाहरण छन् ।
अहिले संघीयता कार्यान्वयनका लागि स्रोत संकलनका नाममा एउटा कुखुराको अण्डामा समेत स्थानीय निकायले मनपरी कर तोकेर जनता आजित भएको समयमा यस्तो स्वेच्छिक कर प्रणालीको कुरा गर्नु पक्कै पनि हाँसोको विषय हुन सक्छ । स्थानीय निकायको मनपरी कर निर्धारणबाहेक नेपालमा पछिल्लो समयमा कायम रहँदै आएको कर प्रणाली भने स्वेच्छिक घोषणामा आधारित नै छ । भन्सारमा समेत व्यवसायीले मैले यति सामान ल्याएको छु भन्ने स्व–घोषणाकै आधारमा कर असुल गरिन्छ भने आयकर र मूल्य अभिवृद्धि करसमेत यही प्रणालीमा आधारित छ । कर छल्ने प्रवृत्ति बढेपछि कर अधिकारीहरूले स्व–घोषणामा पुनर्मूल्यांकन गर्ने व्यवस्था लागू गरिएको हो ।

कमजोर बचत प्रवृत्ति
हामी चाडपर्व उत्सवका रूपमा मनाउँछौं, तर त्यसले दिने, सिकाउने मन्त्र भने मनन गर्दैनौं । लक्ष्मी पूजाका दिन नाङ्लाभरि गरगहना, सुनचाँदी र नगद राखेर पूजा गर्ने हामी नेपालीहरूको औसत बचतदर भने निकै कम छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरि हाल बचत खाताहरूको संख्या १ करोड ८२ लाख ८८ हजार रहेको छ, त्यसमध्ये १ करोड ४८ लाख बचत खातामात्रै सक्रिय अवस्थामा छन् । यी बचत खातामध्ये महानगरपालिकाहरूमा औसत बचत ६५ हजार ६ सय रुपैयाँ छ भने उपमहानगरपालिकामा ४१ हजार ४ सय, नगरपालिकामा ३५ हजार ८ सय र गाउँपालिकाहरूमा २५ हजार ९ सय रुपैयाँ छ । कुल जनसंख्याको आधाभन्दा कममा मात्र बैंकिङ पहुँच पुगेको अवस्थामा औसत बचतदर पनि कम देखिनुले हाम्रो कमजोर आर्थिक धरातल स्पष्ट पार्छ ।
राष्ट्रिय लेखा तथ्यांकको विश्लेषण हेर्ने हो भने कुल राष्ट्रिय आयको ८५ प्रतिशत रकम उपभोगमै सकिने गरेको छ भने राष्ट्रिय बचत १५ प्रतिशत हाराहारीमा छ । व्यक्तिगत तवरमा यो रकम अझ कम हुने गरेको छ । औसत आय कम हुनु र जीवन निर्वाहका लागि चाहिने लागत दिनप्रतिदिन बढ्दै जाँदा औसत बचत दर कम हुन पुगेको हो । प्रदेशगत रूपमा हेर्ने हो भने फरक–फरक आय प्रकृति देखिन्छ । कम आय, बढी खर्च हुँदा सोहीअनुसार बचतदर पनि फरक हुनजान्छ ।
राष्ट्र बैंकको एक अध्ययनअनुसार प्र्रदेश नं. ३ मा प्रतिव्यक्ति आय सबैभन्दा धेरै १ हजार ५ सय ३४ अमेरिकी डलर हुँदा प्रदेश नं. १ मा १ हजार २४ डलर, प्रदेश नं. २ मा ७ सय ९९ डलर, गण्डकी प्रदेशमा १ हजार २१ डलर, प्रदेश नं. ५ मा ८ सय ६८ डलर, कर्णाली प्रदेशमा ६ सय ७७ डलर र सुदूरपश्चिम प्रदेशमा ६ सय ६० डलर रहेको छ । यसअनुसार बचत दर पनि सबैभन्दा कम कर्णाली र सुदूरप्रदेश प्रदेशमा नै देखिएको छ ।
लक्ष्मी पूजाले हामीलाई धनसम्पत्ति जोड्न, त्यसको बचत र संरक्षण गर्ने पाठ सिकाउँछ । पैसाका पूजा गरेर लक्ष्मी खुसी होइनन्, त्यो पैसाको बचत र सही परिचालनले मानिस समृद्ध हुने हो, उसको जीवनमा समृद्धि आउने हो ।
चाहे वेद, पुराणको व्याख्या पढौं वा कुरान, बाइबल सबैमा आफ्नो आयको दसांशको एक अंश दान गर्नुपर्छ भनेर लेखिएको–व्याख्या गरिएको पाइन्छ । यसको परिष्कृत संस्करण नै संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) हो । यसअन्तर्गत आयको निश्चित अंश सामाजिक कार्यका लागि छुट्ट्याइन्छ । पछिल्लो समयमा व्यावसायिक क्षेत्रले आफ्नो नाफाको २ प्रतिशत अंश सीएसआरमा छुट्ट्याउनुपर्ने कानुनी प्रावधान नै राखिएको छ । व्यक्तिका हकमा यस्ता कुनै कानुनी प्रावधान नभए पनि परम्परागत संस्कृतिका रूपमा देउसीभैलो हुँदै हिजोआज विभिन्न सामाजिक कार्यमा व्यक्तिगत योगदान गर्ने प्रवृत्ति पनि बढेको छ ।
देउसे–भैलीलाई आफ्नो सान–सौकात, वैभव देखाउन ठूल्ठूलो रकम दान दिने प्रवृत्ति बढ्दै गएपछि विगतमा केही जिल्लामा स्थानीय प्रशासनले दानको रकम सीमा पनि तोकिदिएको समाचार आएको थियो । तर, यो कार्यान्वयन नहुने सदाचार ऐनजस्तै हो । दान, दक्षिणा आफ्नो स्वविवेकको कुरा हो । यसमा कानुनको बन्देज अपरिहार्य छैन । मौलिक सांस्कृतिक, सामाजिक संस्कारमा विकृति र विचलन नआओस् भन्नेमा भने समाजका सबै जिम्मेवार पक्षको ध्यान जानुपर्छ ।

छोड्दै संस्कार
विगतमा तिहार मनाउँदा घरआँगन मात्र नभई वरिपरि छरछिमेक, टोल बस्तीसमेत सफा गर्ने, सिंगार्ने प्रचलन थियो । बस्तीका बीचमा केराका थामहरूको लहर बनाइ तिनलाई बाँसको भाटाले जोडेर तिनमा माटोका पालामा बत्ती बाल्ने चलन तराईका ग्रामीण बस्तीहरूमा अद्यपि छँदैछ । तर, सहरी क्षेत्रमा आफ्नो घरभित्र बाहेक अगाडिको सडकको अंशसमेत सफा नगर्ने, हरेक कुरामा सरकारकै मुख हेर्ने, सरकारलाई नै गाली गर्ने प्रवृत्ति मौलाउँदैछ । यस्तो प्रवृत्तिका बीचमा पोखराको लेकसाइड साँच्चिकै सहरी सभ्यताको उदाहरण बनेको छ । त्यहाँ तिहारका समयमा आफ्नो घर–पसल अगाडि सिनिकै सफा मात्र पारिदैन। आफैंले वरपरका खाल्डाखुल्डी पुरेर सडकसमेत सिंगार्ने गरेको देखिन्छ । यस्ता प्रचलन तराई क्षेत्रका केही अन्य सहरमा पनि छँदैछन् । यसले हाम्रो सभ्यता पनि झल्काउँछ ।