रजनी श्रेष्ठ
सोमवार, मंसिर २४, २०७५
1853

केही वर्षअघिसम्म एक मात्र केबलकारका रूपमा गोरखाको मनकामना मन्दिर जाने–आउने मात्रै थियो । तर, पछिल्लो समय आएर अन्य मन्दिर तथा स्थानहरू जान–आउनका लागि पनि केबलकार सेवा थपिएको छ । काठमाडौंको चन्द्रागिरि र दोलखाको कालिन्चोक मन्दिर जानआउन केबलकार सेवा पुगिसकेको छ । हुन त केबलकार नै नभने पनि केही विकासवादी संस्थाले ग्रामीण क्षेत्रका कृषि उत्पादन बजारीकरणका लागि रज्जुमार्ग (रोपवे) निर्माण गरिएको पनि पाइन्छ । यसअघि पनि विगतमा सरकारी तबरबाट नै सञ्चालित काठमाडौंको बल्खुक्षेत्र आसपास अहिले पनि लठ्ठालगायत देख्न सकिने सामान ढुवानीको लागि प्रयोग गरिएको रोपवेको अवशेष देख्न पाइन्छ, तर मनकामना मन्दिर जानका लागि केबलकार सेवा सञ्चालनमा आएपछि भने पछिल्लो समय केबलकारको पनि व्यावसायिकता बढेको हो कि भन्ने भान परिरहेको छ । कतिपय अवस्थामा सरकारी स्तरबाट र कतिपय अवस्थामा व्यावसायिक क्षेत्रबाट विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकारका प्रस्तावना राखिएको सुनिन्छ । खासगरी गत स्थानीय निर्वाचनदेखि प्रदेश र केन्द्रीय स्तरको निर्वाचनमा पनि कतिपयले तिनका चुनावी एजेन्डामा धार्मिक तथा पर्यटकीय स्थानमा केबलकारको प्रस्ताव गरेको पनि सुनिएकै हो ।
नेपाल सरकारले केबलकारको व्यवस्थित गर्न ध्यान दिनुपर्ने देखिन्छ । केबलकार पनि यातायातकै क्षेत्र भएकाले यसबाट प्रदान हुने सेवा सुविधाप्रति सरकारी निकायले पक्कै पनि ध्यान दिनुपर्छ । सरकारले लाइसेन्स मात्र प्रदान नगरी केबलकारबाट प्रवाह हुने सेवासुविधा, गुणस्तर, क्षमता र सेवाग्राहीलाई पर्ने प्रभावका बारेमा पनि समयमै ध्यान दिनुपर्छ । यसलाई सरकारी स्तरबाटै नियमन, अनुगमन, मूल्यांकन गरिनुपर्छ ।

दोलखास्थित कालिन्चोक भगवती मन्दिरमा केबलकार सञ्चालनमा आइसकेको थाहा भएपछि पारिवारिक भ्रमणमा गएको थिएँ, तर पनि त्यहाँ अझै सेवा नियमित भइसकेको रहेनछ जसले गर्दा पर्यटक र भक्तजनलाई असुविधा पनि पुगेको पाएँ । गत कात्तिकबाट केबलकार सञ्चालनमा आए पनि सेवा अनियमित भई टाढाटाढाबाट जाने भक्तजन समस्यामा परेको हुनाले सञ्चालक तथा सरकारी निकायको यसमा ध्यान जानुपर्ने देखिन्छ । केबलकार अझै पनि निर्मार्णाधीन अवस्थामै रहेकाले सेवा प्रवाहमा पनि त्यस्तै समस्या आएको स्थलगत रूपमा मात्र थाहा भयो । ६५ वर्षे लक्ष्मीदास कालिन्चोकमा केबलकार सेवा भएको सुनेर आफूसहित आफ्नै सरहका मित्रसहित थानकोटबाट आएको तर दर्शन गर्न नपाउँदा सबैलाई दुःख लागेको बताउँछन् । उनीसँगै आएकी साइँली आमा भन्छिन्, “यति लामो दूरी तय गरेर केबलकार चढेर दर्शन गर्ने आशा आशा नै रह्यो । मन नै रोयो, अब त आउन पनि सकिँदैन होला, आग्रह गर्छु कि जस्तो दुःखी मनले म घर फर्कंदै छु, त्यस्तो मनले अरू फर्किन नपरोस् । सरकारले काठमाडौं मात्र राम्रो र सहज नभएर बाहिरी जिल्लालाई पनि विकास गरिदिनुहुन अनुरोध गर्छु ।” तर केबलकारको प्राविधिक गडबडीका कारण बारम्बारको अनियमितताले केबलकार चल्ने सुनेर आएका अशक्त, वृद्ध, बालबालिका तथा लामो दूरीको पैदल यात्रा गर्न नसक्नेहरू आफू भगवानको पाउसम्म पुगेर पनि कालिन्चोक भगवतीको दर्शन गर्न नपाउँदा निराश भई फर्केको पाइयो ।
कालिन्चोक ३ हजार ८ सय ४२ मिटर अग्लो स्थानमा छ । निकै मनोरम दृश्यको आनन्द लिन सकिन्छ । केबलकार चढ्ने स्थानबाट लोभलाग्दो गौरिशङ्कर हिमाल प्रस्ट देखिन्छ । हिमालको नजिक र सतहभन्दा माथि भएकोले सास फेर्न असहज हुन्छ । चिसो हावाले गर्दा पनि सास फेर्न गाह्रो हुन्छ । लेक लाग्ने सम्भावना पनि धेरै छ । न्यानो लुगा, चस्मा र मास्क अनिवार्य लानुपर्छ । केबलकारमा यात्रा गर्दा रोल्वालिङ र लाङटाङ हिमालको दृश्य देख्न सकिन्छ
कात्तिक १७ गतेदेखि सञ्चालनमा आएको यस कालिन्चोक केबलकारले अझसम्म सन्तोषजनक नतिजा दिन सकेको छैन । पर्यटक तथा भक्तजनहरूले केबलकार सञ्चालन नियमित गराउन माग गरेका छन् ।