दिलीपकुमार मुनंकर्मी
आइतवार, पुष २२, २०७५
308

नेपाल स्टक एक्सचेन्जमा १ सय ९९ कम्पनी सूचीकृत छन् र अनौपचारिक तथ्यांकअनुसार ती कम्पनीहरूमा करिब १२ लाख नागरिकले लगानी गरेका छन् । यसरी लगानी गर्नेमध्ये सञ्चालकका रूपमा प्रत्यक्ष रूपमा सहभागी हुने ५ देखि ७ जनाको मात्र व्यावसायिक र वित्तीय सूचनामा पहुँच हुन्छ भने अत्यधिक लगानीकर्ताहरूले कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांश क्षमताजस्ता व्यावसायिक तथा वित्तीय विवरणको सूचना तथा जानकारी पाउने पहिलो आधार भनेको त्रैमासिक विवरण र त्यसपछि वार्षिक साधारण सभा अनि वार्षिक प्रतिवेदन हो । तर, लगानी व्यवस्थापनका हिसाबले वार्षिक मूल्यांकन निकै ढिलो र जोखिमपूर्ण हुनसक्छ ।नेपाल स्टक एक्सचेन्जमा १ सय ९९ कम्पनी सूचीकृत छन् र अनौपचारिक तथ्यांकअनुसार ती कम्पनीहरूमा करिब १२ लाख नागरिकले लगानी गरेका छन् ।
यसरी लगानी गर्नेमध्ये सञ्चालकका रूपमा प्रत्यक्ष रूपमा सहभागी हुने ५ देखि ७ जनाको मात्र व्यावसायिक र वित्तीय सूचनामा पहुँच हुन्छ भने अत्यधिक लगानीकर्ताहरूले कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांश क्षमताजस्ता व्यावसायिक तथा वित्तीय विवरणको सूचना तथा जानकारी पाउने पहिलो आधार भनेको त्रैमासिक विवरण र त्यसपछि वार्षिक साधारण सभा अनि वार्षिक प्रतिवेदन हो । तर, लगानी व्यवस्थापनका हिसाबले वार्षिक मूल्यांकन निकै ढिलो र जोखिमपूर्ण हुनसक्छ ।लगानीको जोखिम व्यवस्थापन तथा लगानीकर्ताको सुसूचित हुन पाउने अधिकार स्वरुप ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ को नियम २६ मा त्रैमासिक वित्तीय विवरणमा तोकिएको सूचना उपलब्ध गराउनैपर्ने व्यवस्था गरेको छ ।


सूचना प्रवाहसम्बन्धी कानुनी व्यवस्था

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ र त्यस्तो प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ । अनुसूची १४ अनुसार,
१. सूचीकृत कम्पनीले गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण सम्बन्धित पक्षहरू बीच भएको कारोबारसम्बन्धी विवरणसमेत खुलाएर त्रैमासिक अवधिको वासलात, नाफा–नोक्सानसम्बन्धी विवरण, न्यूनतम रूपमा प्रमुख वित्तीय अनुपातहरू : जस्तै प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपातसहितको वित्तीय विवरण ।
२. यसका साथै क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण, ख) आगामी अवधिको व्यावसायिक योजना, ग) विगतको अनुभवबाट संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सोको विवरणसहितको व्यवस्थापकीय विश्लेषण ।
३. त्रैमासिक अवधिमा संस्थाले वा संस्थाको विरुद्ध मुद्दा दायर भएको भए, संस्थापक वा सञ्चालकले वा संस्थापक वा संचालक विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए, र संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए दायर भएको मुद्दा, मिति, विषय र सम्भाव्य कानुनी उपचारसम्बन्धी विवरण समावेश गरिएको कानुनी कारबाही सम्बन्धी विवरण ।
४. सेयर कारोबारसम्बन्धी व्यवस्थापनको धारणा, त्रैमासिक अवधिको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्यासहितको सेयर कारोबार सम्बन्धी विश्लेषण ।
५. संस्थाले वहन गर्नुपरेको आन्तरिक तथा बाह्य समस्या र ती समस्या समाधानको व्यवस्थापकीय रणनीति ।
६. संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदमहरूको विवरण ।
७. उल्लेखित जानकारी तथा विवरणहरू सत्य, तथ्य र पूर्ण भएको र लगानीकर्ताहरूलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन भन्ने अध्यक्ष वा कार्यकारी प्रमुखको उद्घोषण ।

प्रवाहित सूचनाको सत्यता, एकरुपता र पर्याप्तता
उल्लेखित कानुनी व्यवस्था अनुसार प्रकाशित एवम् संस्थाका कार्यकारी व्यक्तिको सूचनाप्रतिको जिम्मेवारी र सत्यताको उद्घोषका बाबजुद, प्रकाशित त्रैमासिक वित्तीय विवरण प्रति लगानीकर्ताहरू विश्वस्त हुन नसकेको मात्र होइन, लगानी निर्णयका लागि अपुरो र अपर्याप्त महसुस गरिएको छ । हुनत त्रैमासिक वित्तीय विवरण अपरिष्कृत हुनुका साथै सुपरिवेक्षण गर्ने निकाय तथा वाह्य लेखापरीक्षकको निर्देशनको आधारमा उल्लेखित विवरणफरक पर्न सक्ने उल्लेख गरिएको हुन्छ । तर त्यस्तो परिवर्तन कतिसम्म भन्ने मूल कुरा हो । यसका लागि निम्न बुँदाहरूमा ध्यानदिन जरुरी छ :
१. बैंकहरूको आव ७३/७४ को चौथो त्रैमासिक विवरण र आव ७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरण मात्र हेर्ने हो भने पनि जगेडाकोषमा देखिएको उथलपुथलले प्रस्तुत विवरणको विश्वसनियतामा ठूलो प्रश्न चिह्न खडा गरेको छ । असोज मसान्तको वित्तीय विवरणअनुसार नेपाल, कृषि, प्रभु र सिटिजन्सको जगेडा कोष असार मसान्तभन्दा १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ, जबकि बैंकहरूले प्रथम त्रैमासमा करोडौं कमाए छन् । नेपाल बैंकले एफपिओको प्रिमियमबाट थप ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रकम कमाए पनि एकै त्रैमासमा ४.४७ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा प्राय: बैंक नाफामा रहँदा र एनएमबीबाहेक अरूले लाभांश वितरण नगर्दा पनि १७ बैंकहरूको जगेडा कोष गत असारमसान्तको भन्दा घटेको छ । 
२. सरकार र नियामकीय व्यवस्थाअनुरूप बैंकहरूले आव ७४/७५ का चौथो त्रैमासदेखिका वित्तीय विवरण नेपाल वित्तीय लेखामान (एनएफआरएस) विधिबाट तयारी र प्रकाशित गरेसँगै चुक्ता पुँजी, डिवेन्चर, ब्याज तथा कमिसन शुल्क आम्दानी, सम्पत्तिको मूल्यांकन र लेखांकनजस्ता पक्षहरूमा लेखा विधिमा परिवर्तन ल्याएसँगै चुक्ता पुँजी, डिबेन्चर, ऋण, आम्दानीहरूमा फरक देखियो तर बैंकहरूले त्यसको प्रक्रिया, प्रभाव, थप स्पष्टीकरण उल्लेख गर्नसमेत आवश्यक ठानेनन् । उदाहरणका लागि कृषि विकास र एभरेस्ट बैंकले अग्राधिकार सेयरका कारण चुक्ता पुँजी बढेको र अग्राधिकार सेयर संख्यासमेत उल्लेख गरेनन् । 
३. बैंकहरूले न त उल्लेख्य रूपमा जगेडा कोष बढ्दा कसरी बढ्यो बताए, न त अर्बौंले घट्दा नै कारण बताउन आवश्यक ठाने ।
 ४. एउटै लेखा विधि अपनाएका सूचीकृत २८ वाणिज्य बैंकहरूमध्ये नेपाल एसबीआई र सिटिजन्स बैंकले कुल विस्तृत आयबाट र अन्यले अवधिको खुद मुनाफबाट नियामकीय समायोजन गरी वितरणयोग्य मुनाफा प्रस्तुत गरे जसले एकरूपताको समस्या झल्काएको छ ।
५. कृषि विकास, एभरेस्ट नियमानुसारका वित्तीय अनुपातहरू प्रकाशित गरेनन् भने नेपाल बैंकले नियामावलीअनुसारको कुनै पनि जानकारी नभएको केवल नेपाल राष्ट्र बैंकको खाकाअनुसारको वित्तीय विवरणमात्र प्रकाशित गर्यो । कृषि विकासले भने पछि भूल सुधारसहितको पूरक जानकारी प्रकाशित गरेको थियो ।सुशासित र नियमन गरिएको बैंकहरूको त्रैमासिक विवरणहरूसमेत शंकास्पद र अस्पष्ट हुँदा भएको अवस्थामा नियामक नभएको जलविद्युत्, होटल, उत्पादन क्षेत्रका कम्पनीहरूको त्रैमासिक विवरणको विश्वसनियतामा प्रश्न उठनु स्वभाविक हुनसक्छ । तर विडम्वना, आजसम्म त्रैमासिक वित्तीय विवरणमा उल्लेखित सूचना, वित्तीय विवरण तथा उद्घोष र पर्याप्ताका सम्बन्धमा न कसैले ध्यान दियो न गलत वा अपर्याप्त सूचनाका लागि धितोपत्र बोर्डले भने कुनै बैंकहरू वा कम्पनीलाई स्पष्टीकरण सोधेको वा कारबाही गरेको जानकारी भने छैन । लगानीकर्ताहरूको विचारमा जलविद्युत्, उत्पादन, क्षेत्रका कम्पनीहरूले प्रकाशित विवरणअनुसार न कम्पनी न सम्भावित मुनाफा र दायित्व स्पष्ट हुने अवस्थासमेत रहन्न ।

सुधार र शुद्धीकरण
लगानीकर्तालाई सुसूचित गर्दै लगानी निर्णयमा यथार्थमा नै सघाउने हो भने सबैभन्दा पहिले प्रकाशित हुने विवरण शुद्ध र सत्यतथ्य हुनु अपरिहार्य हुन्छ र यसमा कम्पनीले उक्त त्रैमासको व्यावसायिक र वित्तीय अवस्थाको यथार्थ विवरण, लेखाजोखाका साथै आगामी दिनको दिशानिर्देश गर्न सक्ने पर्याप्त सूचनाहरूसमेत समावेश गरिनुपर्छ । त्रैमासिक विवरणहरूलाई सरल, स्पष्ट, एकरूपता र पारदर्शी बनाउन नियामकीय निकायहरूबीच समन्वय, कानुनी व्यवस्थाका साथै निम्नसु्धार आवश्यक देखिन्छ :
१. अहिले प्रकाशित भइरहेका त्रैमासिक विवरणहरूको पुनरावलोकन गरी बैंकिङ, विमा, जलविद्युत्, होटल, उत्पादन क्षेत्रका कम्पनीहरूको व्यावसायिक प्रकृतिका आधारमा लगानीकर्ताहरूले लगानी निर्णय गर्दा अत्यावश्यक सूचना तथा जानकारीको अध्ययन गरी आवश्यक विवरण र सूचना समावेश गर्ने ।
२. छुट्टै नियामक भएका बैंक तथा वित्तीय संस्था, बिमाहरूको सम्बन्धमा नेपाल राष्ट्र बैंक, बिमा समिति र धितोपत्र बोर्डले संयुक्त रूपमा त्रैमासिक विवरणको खाका तयार गरी तुलनायोग्य, एकरूपता, शुद्धता ल्याउने । नियामक नभएको अवस्थामा बोर्डले पुनरावलोकन र एकरूपता कायम गर्न पहल गर्ने ।
३. सेयरधनीको तत्कालीन सम्पत्ति र दायित्व, मुनाफा र लाभांश जस्ता कुरामा स्पष्ट बुझिने गरी वित्तीय अनुपातहरूमा प्रतिसेयर आम्दानी, वितरणयोग्य प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, प्रति सेयर इक्विटीमा प्रतिफल (आरओई), प्रतिसेयर कुल सम्पत्तिको मूल्य, प्रतिसेयर सम्पत्तिमा प्रतिफल (आरओए) र तरलता अनुपातसहितको वित्तीय विवरण । हाल नेटवर्थ, आरओइ, आरओए, स्प्रेड, जस्ता विवरण प्रकाशित हुन छोडेको छ ।
४. बैंकहरूको प्रफिट सेगमेन्ट भौगोलिक वा व्यवसायको क्षेत्र निक्र्योल गरी एकरूपता कायम गर्ने ।
५. लगानीका दृष्टिकोणले सबैभन्दा महŒवपूर्ण व्यवस्थापकीय विश्लेषणमा गत त्रैमासको व्यवसाय, मुनाफा र प्रतिफलको लेखाजोखाका साथै आगामी त्रैमासको व्यावसायिक अवस्था, सम्भावित मुनाफा र लगानीमा प्रतिफल अनिवार्य उल्लेख गराउने । यसमा क) बैंक तथा वित्तीय संस्थाहरूका लागि निक्षेप र कर्जा, खुद मुनाफा र वितरणयोग्य मुनाफा, लाभांश क्षमता, ख) विमानहरूका लागि थप बिमा लेखको बिक्री र आर्जन, ग) जलविद्युत् कम्पनीहरूलाई आयोजनाको त्रैमासिक इनर्जी उत्पादन क्षमता, उत्पादन र बिक्रीसम्बन्धी जानकारीका साथै मुख्य आयोजनाको लाइसेन्स अवधि, सहायक कम्पनीहरूको जडित क्षमता र लगानी, घ) होटलहरूलाई अकुपेन्सीजस्ता विवरणहरू स्पष्ट उल्लेख गर्न लगाउने ।
६. कम्पनीहरूले कानुनी तथा अन्य कारण हुन सक्ने अतिरिक्त मुनाफा र सम्भावित दायित्व स्पष्ट उल्लेख गराउने । जस्तै, केही कम्पनीले विगतको करसम्बन्धी मुदा, ठूला काउन्टर ग्यारेन्टी, ह्याकिङको कुरा उल्लेख गरेको देखिंदैन, तर त्यसले आर्थिक दायित्व सिर्जना भएको देखिन्छ ।लगानी निर्णयका लागि आवश्यक सम्पूर्ण आधारभूत वित्तीय विवरणहरूको अभावमा गरिने विश्लेषण पनि अपुरो र गलत हुने सम्भावना उच्च रहन्छ र यसले कम्पनीको व्यावसायिक अवस्थाका कारण निम्तिने जोखिमभन्दा बढी जोखिम निम्त्याउने सम्भावना रहन्छ ।
लगानीकर्ताहरूको लगानी निर्णयमा सघाउन मात्र होइन, सूचनाका आधारमा हुन सक्ने गलत निर्णयको जोखिम घटाउनसमेत त्रैमासिक विवरण शुद्ध र सत्यतथ्य हुनैपर्छ । यसमा पहिलो जिम्मेवारी कम्पनी र लगानीकर्ता हित संरक्षकका रूपमा धितोपत्र बोर्डको समेत उत्तिकै जिम्मेवारी रहन्छ ।