सागर परियार
आइतवार, पुष २२, २०७५
581

ततोपानी–२ की शीतली दमाईं, एसईई परीक्षाको तयारी कक्षा अध्ययनका लागि सदरमुकाम खलंगामा भाडाको कोठामा बस्छिन् । पारिवारिक अवस्था निकै कमजोर भएकी उनलाई तीन महिना तयारी कक्षाको खर्च कसरी चलाउने भन्ने चिन्ता छ । घरबाट मात्र २० हजार बोकेर ल्याएकी दमाईको खल्तीमा अहिले एक सुक्को पनि बचेको छैन । तीन महिनाको पढाइ शुल्क ५ हजार, कोठा भाडा ४ हजार ५ सय, अन्य खाद्यान्न खरिद गर्दै ५ हजार खर्च भएको उनले बताइन् ।
बाँकी पैसा बेलाबखत कापीकलम किन्न, भैपरी खर्च चलाउन राखेको पैसा दैनिक ३० रुपैयाँको क्यान्डल किन्दै सकिएको उनी बताउँछिन् । पहिलेका पढ्न आउनेले १०/१५ सबै भ्याउने सुनेकी उनले आफ्नो ६ हजार मात्रै एक महिनाभित्र क्यान्डल किनेर गएको उनको गुनासो छ । गएको कात्तिक अन्तिम साताबाट जुम्ला खलंगामा बत्ती आएको छैन ।

उनले थपिन्, “क्यान्डल नकिनी साँझ अध्ययन गर्न मिल्दैन, प्रत्येक दिन ३० रुपैयाँका दरले कात्तिकदेखि आजसम्म किन्दा कापी–कलम किन्ने पैसा सकिएको गुनासो गरिन । घरबाट मागौं, दिने अवस्था छैन् । आफूसँग कापी–कलम किन्ने पैसा सकियो ।’ खलंगाको लोडसेडिङले हैरानी बनाएको छ ।
क्यान्डलको भरमा एसईई तयारी गर्न निकै मुस्किल परेको अर्की माया दमाईंले बताइन् । उनले भनिन्, “जति पढ्यो दिउँसै पढ्यो, राति पढ्ने अवस्था नै छैन । खलंगामा तयारी कक्षा अध्ययनका लागि आउनुभन्दा त घरमै स्वअध्यायन गर्नुपर्ने रै’छ ।”
चौबीसै घण्टा बत्ती नआउने खलंगामा हजारौं विद्यार्थी एसईईको तयारीका लागि भाडामा बसेका छन् । उद्योगधन्दा सबै प्रभावित त छन् । माया र शीतली उदाहरण मात्रै हुुन्, खलंगामा बस्ने भाडामा बस्ने झन्डै ७ हजार एसईई तयारी गर्ने विद्यार्थी लोडसेडिङको मारमा परेका छन् । दूरदराजका गाउँबाट बाबुआमाले ऋण काढेर एसईईको तयारी गर्न पठाएका छोराछोरीको अवस्था खलंगामा बिजोग छ । यसबाट ७ हजार विद्यार्थी प्रभावित भएका छन् ।
जुम्लाबाट यो वर्ष झन्डै ३३ सय विद्यार्थीले एसईई दिँदै छन् भने । बत्ती नआउँदा एसईईका विद्यार्थी निकै मारमा परेको समान्य एकाइ प्रमुख महेशदत्त देवकोटाले बताए ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, “आफ्नो घरमा भिआईपी लाइन राख्ने उपभोक्ता समितिका पदाधिकारीले ट्युसन सेन्टरमा लाइन दिए पनि विद्यार्थीलाई राहत मिल्ने थियो ।” नयाँ मेसिन जडान तथा मर्मतका नाममा बर्सेनि हिउँदमा सास्ती दिने गरेको भन्दै तत्काल विद्युत् प्रवाह गर्न उनले ध्यानकर्षण गराए । यता इलेक्टोनिक व्यापारी प्रतिमा शाहीले विद्युत् नभएकै कारण महिनाको ५ लाख घाटा भएको बताइन् ।
अहिले भारतबाट आएका तीन जना मेकानिकल र अन्य दुई जनाले मेसिन जडानको काम गरिरहका छन् । भारतको उत्तर प्रदेशबाट आएका इलेक्ट्रोनिक इन्जिनियर सुनिल सोनुले आफूहरूले मेसिन जडानको मात्र जिम्मेवारी पाएको बताए । “हामी अबको दुई–तीन दिनमा पाइप जडानको काम सक्छौं,” उनले ओपियु प्यानल जोड्न तथा अन्तिम परीक्षणका लागि पन्जाबबाट अर्का इन्जिनियर नआएसम्म विद्युत् निश्चित नभएको बताए । तर, कहिले आउने थाहा छैन ।
खलंगा जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार डेढ हप्ताभित्र बत्ती आउन सक्नेछ । गएको डेढ महिनादेखि खलंगा बजार बत्तीविहीन छ । चिसोका कारण काममा ढिलाइ भएको हो । झन्डै २ करोडमा नयाँ मेसिर ल्याएर जडान हुन थालेको तीन महिना पुग्न लागिसक्यो, काम भने कछुवाको गतिमा भइरहेको छ । उपभोक्ताहरू बत्तीको पर्खाइमा छटपटिएका छन् ।