कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
498

जीवन बिमा क्षेत्रलाई थप विस्तार एवं मर्यादित बनाउन सबैले व्यवसाय सञ्चालनमा थप सुझबुझ एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।

नेपालको संविधान, २०७२ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको तथा संविधानका अन्य विभिन्न दफामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, आर्थिक रूपले विपन्न, अशक्त र असहाय, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई समेत कानुनबमोजिम हुने गरी सामाजिक सुरक्षाकोे प्रत्याभूति गरेको छ । यसै परिप्रेक्ष्यमा, नेपाल सरकारबाट २०७४ साउन २९ गते योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ तथा मिति २०७५ मंसिर ३ गते सोको नियमावली जारी गरी यस कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यसैबीच नेपाल सरकारले सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा औपचारिक कार्यक्रम आयोजना गरी ‘नयाँ युगको सुरुवात’ भएको उद्घोषसमेत गरिसकेको छ । नेपालको संविधानमा उल्लिखित प्रावधान कार्यान्वयनका क्रममा नेपाल सरकारबाट तदारुकताका साथ लागू गरिएको यो एक अत्यन्त महत्वपूर्ण र ऐतिहासिक व्यवस्था मान्न सकिन्छ ।
वास्तवमा, सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाले जीवनको अत्यन्त कठिन परिस्थिति एवं आर्थिक रूपमा कमजोर रहेको अवस्थामा समेत आर्थिक रूपमा केही भरथेक गर्ने व्यवस्था गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २६ ले सामाजिक सुरक्षाको सञ्चालन र व्यवस्थापन गर्न समाजिक सुरक्षा कोषको स्थापना गरेको र उक्त कोषले ऐनको दफा १० बमोजिम सामाजिक सुरक्षा योजना सञ्चालन गर्न विभिन्न योजनाको व्यवस्था गरेको छ । जस्तै : औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना आदि । साथै कोषले उपयुक्त देखेको योजनासमेत लागू गर्न सक्ने व्यवस्था गरेको छ । उक्त योजनाहरू सञ्चालनका लागि मिति २०७५ मंसिर ६ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ समेत जारी भइसकेको छ ।

यहाँ चर्चा गर्न गइरहेको विषय के हो भने, नेपालमा परापूर्वकालदेखि गुठीका रूपमा कायम रहेको आर्थिक सुरक्षा प्रणालीबाट विकसित हुँदै जीवन बिमालाई समेत सामाजिक सुरक्षाको एक भरपर्दो माध्यमका रूपमा लागू गर्ने क्रममा नेपालमा मिति २०२९ फागुन ७ गतेदेखि औपचारिक रूपमा सरकारी तवरबाट जीवन बिमाको थालनी भएको देखिन्छ । विश्व इतिहासमा १६ औं शताब्दीदेखि सुरु भए पनि नेपालमा यसको औपचारिक थालनी भएको करिब ४६ वर्ष मात्र भएको छ । यसै अवधिबीच मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरण नीतिका कारण आज निजी क्षेत्र मुलुकको आर्थिक विकासको अभिन्न अंग तथा विकासको संवाहकका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । जीवन बिमाको सन्दर्भमा समेत उदार अर्थनीति कार्यान्वयन भएपश्चात् यस क्षेत्रमा निजी क्षेत्रको तीव्र लगानी आकर्षित भई जीवन बिमाका माध्यमबाट सामाजिक सुरक्षाको बृहत् भावना फैलाउने कार्यमा बिमा कम्पनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । बिमा जागरण अभिवृद्धिका लागि सरकारी प्रयासले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्रको प्रवेशपश्चात् बिमा जागरणमा व्यापक वृद्धि भई मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान क्रमश: बढ्दै गइरहेको छ ।
‘सामाजिक सुरक्षा’ विषय जीवन बिमा व्यवसायको बजारीकरणको ‘प्राण’ नै हो भन्दा अत्युक्ति नहोला । किनकि नेपाल सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा उल्लेख गरेका तमाम योजनाहरूमा अन्तर्निहित विषयवस्तुहरू जस्तै : दुर्घटनाबापतको सुविधा, असक्तताबापतको सुविधा, निवृत्तिभरण सुविधा, आश्रित परिवार सुरक्षा सुविधा, सन्ततिले प्राप्त गर्ने शैक्षिक सुविधा आदि जीवन बिमा कम्पनीहरूका बिमा योजनाहरूमा लामो समयदेखि लागू भएका योजनाहरू हुन्, जसबाट धेरै व्यक्तिले लाभ उठाइरहनुभएको छ । यस किसिमका योजनाहरूमा आममानिसको अत्यन्त ठूलो आकर्षण र भरोसा रहँदै आएको छ । अत: जीवन बिमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना हो भन्न सकिन्छ र सोहीअनुरूप बजारीकरण गर्न सकिन्छ । सरकारी स्तरबाट समेत सामाजिक सुरक्षासम्बन्धी योजनाहरू लागू हुँदा आममानिसमा जीवन बिमाप्रति थप भरोसा र विश्वास अभिवृद्धि हुने देखेका छौं ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ दफा ६१ ले ‘कोषले सञ्चालन गरेको कुनै सामाजिक सुरक्षा कार्यक्रम बापत कुनै दायित्व लिएको भए त्यस्तो दायित्व बापतको जोखिम वहन गर्न कोषले बिमा वा पुनर्बिमा गराउन सक्नेछ’ भनी उल्लेख गरेको छ । सरकारी तवरबाट सञ्चालन हुने त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि स्वदेशी जीवन बिमा कम्पनीहरू संग सहकार्य गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सरकारी कार्यक्रम सँग जीवन बिमा कम्पनीहरूको सहकार्य हुँदा यस क्षेत्रको क्षेत्रगत विस्तार हुने मात्र नभई जीवन बिमा व्यवसाय र यसमा आवद्ध सम्पूर्ण लगानीकर्ता, बिमित, अभिकर्ता एवं कर्मचारीहरूप्रति आममानिसमा सकारात्मक भावनाको निर्माण हुने देखिन्छ । साथै जीवन बिमा कम्पनीहरूलाई नयाँ बजारको ढोका खुल्ने देखिन्छ ।
बिमा ऐन २०४९ मा ‘जीवन बिमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झनुपर्छ’ भनी परिभाषित गरेको छ । आधुनिक युग जति सुविधाजनक छ त्यत्तिकै जोखिमपूर्ण पनि छ । मानिसको जीवन सदा एकनास हुँदैन, आम्दानी निरन्तर नहुन सक्छ, कार्य क्षमतामा पनि क्रमश: ह्रास हुँदै जान सक्छ र परिवारको महत्वपूर्ण सदस्यको असामयिक निधन हुँदा आश्रित परिवारमा ठूलो समस्या पर्न जान्छ । यस्तो अवस्थामा जोखिमलाई आर्थिक रूपमा न्यूनीकरणको उपाय नै वास्तबमा जीवन बिमा हो । जीवन बिमाको यही महत्व र आवश्यकताबारे आममानिसको अभिरुचि बढ्दै जाँदा यसका अन्तर्निहित प्राविधिक विषयवस्तुहरूमा समेत आममानिसको सरोकार र जिज्ञासा बढ्दै गएको पाइन्छ । जीवन बिमा कम्पनीहरूले घरदैलोमै जीवन बिमा सेवा पुर्याई जनताको बचतलाई उत्पादनशील क्षेत्रमा प्रयोग हुने वातावरण निर्माण गरी बिमा जागरण अभियानलाई थप सशक्त बनाउँदै लगेकाले गाउँगाउँमा बिमा जागरण सुरु भएको भन्न सकिन्छ । फलस्वरूप जीवन बिमाका प्राविधिक पक्षहरूमा समेत आममानिसले क्रमश: ध्यान दिन थालेका छन् । जीवन बिमामा बिमितले प्राप्त गर्ने बोनस भनेको बिमा अवधि समाप्त वा बिमितको असामयिक निधन भएमा पाउने बिमांक रकमसहित प्राप्त हुने थप आर्थिक लाभ हो, अर्थात् बिमकको आर्थिक हिसाबकिताब तथा दायित्व मूल्यांकन गरेपश्चात् प्राप्त हुने बचतलाई बिमकका महत्वपूर्ण हिस्सेदारहरू बिमित तथा लगानीकर्तालाई कानुनबमोजिम बाँडफाँड गर्ने क्रममा बिमितलाई प्रदान गरिने प्रतिफल नै वास्तवमा बोनस हो । अत: उच्चतम बोनस भन्नु नै बिमितले प्राप्त गर्ने उच्च प्रतिफल हो ।
उच्च बोनसदर निर्धारणका लागि विभिन्न तत्वले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । जस्तो कि : न्यून मृत्युदर, लगानीमा उच्च प्रतिफल, व्यवस्थापन खर्चमा मितव्यतिता, न्यून व्यतीत तथा समर्पण बिमालेख संख्या आदि । अत: बोनसदर कम्पनीको वित्तीय एवं व्यवस्थापकीय क्षमता मापन गर्ने साधन हो । जीवन बिमालाई जोखिम हस्तान्तरण एवं लगानी दुवै दृष्टिकोणबाट हेर्दा कम्पनीले बिमितहरूलाई दिने भनी घोषणा गरेको बोनसदर नै महत्वपूर्ण पक्षका रूपमा रहने तथ्यप्रति आमनागरिक जानकार हुन आवश्यक छ ।
जीवन बिमा क्षेत्रमा थप कम्पनीहरूको प्रवेशले रोजगारी सिर्जना, राजस्व परिचालन तथा बिमा पहुँचमा सकारात्मक योगदान पुर्याइरहेको छ भने बिमितहरूलाई छनोटको अवसर प्राप्त भएको छ । यस्तो तीव्र प्रतिस्पर्धात्मक वातावरणमा फराकिलो बन्दै गइरहेको जीवन बिमा क्षेत्रलाई थप विस्तार एवं मर्यादित बनाउन सबैले व्यवसाय सञ्चालनमा थप सुझबुझ एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ । जीवन बिमा दीर्घकालीन प्रकृतिको व्यवसाय भएकाले क्षणिक लाभमा मात्र ध्यान नदिई दिगो व्यावसायिक गतिविधिमा जोड दिँदै नवीनतम बिमा योजना र क्षेत्रहरूमा व्यवसायको पहुँच पुर्याउन सके आमनेपाली जीवनले सुरक्षा र समृद्धि हासिल गर्न सक्ने एवं मुलुकको सामाजिक सुरक्षासम्बन्धी हकको बृहत्तर लक्ष्य हासिल गर्न सघाउ पुग्ने देखिन्छ ।
मानवीय संवेदनशीलता, सामाजिक परिस्थिति तथा जोखिमपूर्ण अवस्था बढिरहेको वर्तमान अवस्थामा जीवनको सहाराका रूपमा बिमालाई आत्मसात् गर्नु प्रत्येक व्यक्तिका लागि अपरिहार्य भइसकेको छ । एकातर्फ अनिवार्य बचतका रूपमा स–सानो रकम परिचालित भई भविष्यमा लगानीयोग्य स्वदेशी पूंजीको निर्माण तथा मृत्युपर्यन्त आश्रित व्यक्तिहरूको आर्थिक सुरक्षा प्रदान गर्ने जीवन बिमा आधुनिक सभ्य समाजको जीवन पद्धतिकै रूपमा विकास गर्नु आवश्यक छ । संगठित संस्था तथा औद्योगिक प्रतिष्ठानहरूले जीवन बिमालाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीका रूपमा अगाडि बढाउन सके औद्योगिक सुसम्बन्ध कायम राख्नसमेत मद्दत मिल्छ । यसैगरी कतिपय क्षेत्रमा जीवन बिमालाई अनिवार्य सर्तका रूपमा राख्ने तथा आयकर छुटको सीमालाई थप वृद्धि गर्ने जस्ता रचनात्मक सुधारहरूबाट यस क्षेत्रको विस्तारमा थप सघाउ पुग्ने देखिन्छ । राष्ट्रिय पुँजी निर्माणको वैकल्पिक क्षेत्रका रूपमा जुर्मुराइरहेको जीवन बिमा क्षेत्रको समुचित विकासका लागि व्यवसायमैत्री वातावरण निर्माणमा सबैको सकारात्मक सहयोग आवश्यक छ ।
-ओमप्रकाश पुडासैनी