कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
569

व्यक्ति जेमा रमाउँछ, जेमा खुसी हुन्छ त्यसैमा अगाडि जाने बाटो बनाइदिनुपर्छ, घरमा अभिभावकले अनि संस्थामा व्यवस्थापकले ।

सामान्य भाषामा भन्नुपर्दा कुनै पनि निर्धारित लक्ष्यमा पुग्नुलाई सफल भएको मानिन्छ । कुनै पनि व्यक्ति आफूले तोकेको उद्देश्य पूरा गर्न सकेको अवस्थालाई सफलता प्राप्त गरेको भनेर बुझ्ने गरिन्छ । वास्तवमा भन्नुपर्दा कुनै पनि निर्दिष्ट लक्ष्य हासिल हुनुलाई सफलतासँग जोडेर हेर्ने गरिन्छ । सफलताको यही अवधारणा नै जनमानसमा पाइएको छ । बाहिरबाट हेर्दा कुनै उच्च ओहदामा पुगेको, सम्मानित पद धारण गरेको अनि राम्रो आम्दानी गरेको तथा धनसम्पति कमाएको व्यक्तिलाई हामीले सफल व्यक्तिका रूपमा मान्ने गरेका छौं ।
कुनै पनि व्यक्ति जिन्दगीभर नै सफलता प्राप्तिका निमित्त दौडिरहेको हुन्छ । आफूले बनाएको लक्ष्य प्राप्तिका निम्ति ऊ अनवरत रूपमा लागिरहेको हुन्छ । सफल हुँदा ऊ खुसी हुन्छ भने आफूले भनेअनुसारको काम नभइदिँदा अनि काम गरेअनुसारको नतिजा प्राप्त नभइरहँदाको अवस्थामा कहिलेकाहीं उसमा नैराश्यता पनि पैदा भएको हुन्छ । संसारमा जोसुकै व्यक्ति पनि सफलता प्राप्तिका निम्ति नै आफ्नो जिन्दगीलाई समर्पित गरिराखेका हुन्छन् । सम्बन्धित क्षेत्रमा कसरी सफल बनिएला, कुन सूत्र प्रयोग गरेमा सजिलैसँग सफल भइएला अनि केके कार्य गरे अरूभन्दा छिटो सफलता प्राप्त गर्न सकिएला भनेर विभिन्न तरिका, सूत्र तथा विधिहरू प्रयोग गर्नतर्फ व्यक्तिहरू लागेका हुन्छन् । सफल हुन केके गर्नुपर्ला भन्ने सन्दर्भमा व्यक्तिहरूले विभिन्न उपाय अपनाउने गर्छन्, जस्तो कि विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने व्यक्तिका जीवनीसँग सम्बन्धित रही लेखिएका पुस्तकहरूको अध्ययन गरेर, विभिन्न तालिम तथा कार्यक्रमहरूमा भाग लिएर अथवा सफलता हासिल गरेका व्यक्तिहरूको निकटमा रही कार्य गरेर आदि । व्यक्ति जसरी पनि सफल हुनु छ अनि अरूलाई केही काम गरी देखाउनु छ, यसैका लागि ऊ जिन्दगीभरि मेहनत गरिराखेको हुन्छ । हुन पनि सफलता प्राप्तिले व्यक्तिमा काम गर्ने नयाँ जोस, जाँगर, उमंग तथा उत्पे्ररणामा वृद्धि गराइराखेको हुन्छ भने बेग्लै किसिमको आनन्द र आत्मसन्तुष्टि पनि त्यसबाट प्राप्त भैराखेको हुन्छ, जसबाट व्यक्तिको आत्मविश्वास पनि बढ्न पुग्छ भने काम गर्ने थप ऊर्जा शरीरमा जागृत हुन पुग्छ । यी सबै राम्रा प्रभावहरू सफलता प्राप्तिले व्यक्तिमा देखिएका हुन्छन् । जुन सफलता प्राप्त गर्नका निम्ति व्यक्ति जिन्दगीभरि लागिपरेको हुन्छ, त्यसलाई आत्मसात् गर्न पाउँदाको क्षण निजलाई असिम आनन्दको पनि अनुभूति भएको हुन्छ र ऊ सम्झन्छ, मेरो सम्पूर्ण आनन्द र सन्तुष्टि नै यही हो भनेर ।

तर व्यक्तिले प्राप्त गरेको सफलता समयक्रमसँगै बिस्तारै धमिलो हुँदै जान्छ अर्थात् अब उसले प्राप्त गरेको सफलता पुरानो हुँदै गएको हुन्छ, सधैं रहिरहँदैन । सफल हुँदा प्राप्त भएको जोस, जाँगर, उत्पे्ररणा तथा ऊर्जामा बिस्तारै कमी आउन थाल्छ । यतिखेर व्यक्तिले पुनः अर्को क्षेत्रमा सफल हुनका निम्ति लाग्नुपर्ने समय आइसकेको हुन्छ । तर, सफलता भन्ने विषय बारम्बार सजिलैसँग प्राप्त भइरहँदैन । कुनै बेला सफल भइएला, कुनै बेला सफल नभइएला, एकाध अपवाद छन् कि कुनै–कुनै व्यक्तिले लगातार सफलताको स्वाद लिइरहेका हुन्छन्, तर सबैमा त्यस्तो हुँदैन । जब सफलताका निम्ति छटपटाइरहेको व्यक्ति सबै विधि, सूत्र, तौरतरिकाको प्रयोगका बाबजुद पनि सफल हुन सक्दैन, तत्पश्चात् व्यक्तिमा मानसिक रूपमा नै आघात पुग्न जान्छ । यतिखेर उसले के गर्ने, के नगर्ने, के सही, के बेठिक आदि छुट्ट्याउन सक्दैन, ऊ विक्षिप्त अवस्थामा पुगेको हुन्छ । यो सबैभन्दा नाजुक र पीडादायक अवस्था हुन्छ व्यक्तिका निम्ति । जहिले पनि सफल बन्नका निम्ति विभिन्न विधिको व्याख्या गरिएको हुन्छ र सिकाइन्छ, सफल हुनैपर्छ र सफल अवश्य बन्न सकिन्छ भनेर तर कहिले पनि सिकाइँदैन, यी सम्पूर्ण उपाएका बाबजुद पनि यदि सफल नभएमा कुन तरिकाहरू प्रयोग गरी आफूलाई विक्षिप्त हुनबाट बचाउन सकिन्छ भनेर अनि लगातार असफलताबाट पार पाउनका निम्ति कुन विधि अपनाएमा मानसिक आघात हुनबाट बच्न सकिन्छ भनेर । यो साँच्चै गम्भीर विषय सफलताको कथा सुनाउँदा छुटिरहेको हुन्छ । अनि जिन्दगीभरि सफलताका लागि लडिरहँदा कुनै सफलता हात पार्न नसकीकनै आफ्नो इहलीला समाप्त भएका कैयन् इतिहास सुनाइँदैनन्, किनभने यो विश्वास गरिन्छ कि यसवाट व्यक्ति आफ्नो मेहनत र परिश्रम गर्नबाट डराउँछ र हच्किन्छ भनेर । तर, कहिल्यै सिकाइँदैन— व्यक्तिलाई जिन्दगीभर सफलताका निम्ति तड्पिरहने होइन कि जिन्दगीलाई आनन्दसँग जिउने खालको बनाउनुपर्छ भनेर । जुन आनन्द व्यक्तिले अनुभूति मात्रै गर्ने हो र त्यो आनन्द प्राप्ति गर्न व्यक्ति अरूको नजरमा सफल हुनु पर्दैन र व्यक्ति आफूले सफलता प्राप्त गर्दा होस् या सफल नहुँदा होस्, त्यो आनन्द महसुस गरिरहेकै हुन्छ, जसबाट व्यक्तिलाई सदैव काम गर्ने जोस, जाँगर, उत्साह, उमंग, ऊर्जा आदि क्षणिक नभई निरन्तर प्राप्त भैराखेको हुन्छ । यो नै सबैभन्दा अमूल्य कुरा हो । कुनै पनि व्यक्तिमा यस्तो प्रकारको गुण कायम राख्न सकिए व्यक्ति अनि निजले कार्य गर्ने संस्था दुवै नै लाभान्वित हुनेछन् । किनभने यो गुणबाट व्यक्तिमा निराशा र बेचैनीको अवस्था कहिल्यै सिर्जना हुँदैन । व्यक्तिलाई घरदेखि नै त्यही सिकाउने गरिन्छ कि जसरी पनि सफल हुनैपर्छ, स्वाभाविक हिसाबले होस् अथवा जबरजस्ती हिसाबले, इच्छा भएर होस् या नभएर पनि । तर कहिल्यै भनिँदैन कि रमाइलो गरी काम गर्नुपर्छ, आनन्दसाथ अध्ययन गनुपर्छ, मन लागेर सिक्नुपर्छ, मन पर्ने क्षेत्रमा नै पूरा समय खर्चिनुपर्छ भनेर एकोहोरो भनिन्छ, मात्र सफल हुनुपर्छ, जसबाट व्यक्तिमा सानैदेखि अस्वस्थ प्रतिस्पर्धाको सोच दिमागमा बस्न पुग्छ कि उसले परीक्षामा अरूले भन्दा राम्रो नम्बर ल्याउनैपर्छ र अरूलाइ जित्नैपर्छ भनेर । तर ऊ प्रथम भएर पनि कति ज्ञान हासिल गरेको हुन्छ । त्यो मतलब गरिँदैन । अनि अर्को व्यक्ति प्रथम नभएर पनि कति बुझेर अध्ययन गरेको छ र कति ज्ञान ऊभित्र बसेको छ भन्ने विषयलाई बेवास्ता गरिन्छ । जसरी पनि सफलता प्राप्त गर्नैपर्छ भन्ने सोचको जन्म यसरी सानैदेखि भएर पछिसम्म संस्थामा कार्य गर्दाको समयसम्ममा देखिइरहन्छ । तर यसबाट निम्तिन सक्ने नकारात्मक पक्षलाई त्यतिखेर बेवास्ता गरिन्छ, जसबाट नै नसोचेको घटनाहरू प्राप्त हुन पुग्छन् ।
व्यक्ति जेमा रमाउँछ, जेमा खुसी हुन्छ त्यसैमा अगाडि जाने बाटो बनाइदिनुपर्छ, घरमा अभिभावकले अनि संस्थामा व्यवस्थापकले । सफल–असफल भन्ने कुरा दिमागमा नराखी ऊ आफूलाई आनन्द लाग्ने कार्य गर्छ भने जिन्दगीभरि नै ऊभित्र कार्यसम्पादन गर्नेे ऊर्जा कायम रहिरहन्छ । यदि व्यक्ति सफलताको मात्र पछाडि दौडिरहेमा, कारणवश ऊ असफल भयो भने निकै पीडाको सामना गर्नुपर्ने हुन्छ । तर, ऊ यसको चक्करमा नपरीकन निरन्तर आफ्नो कार्यमा सन्तुष्ट भई लागिरहन्छ भने उसलाई असफलताले केही असर पार्न सक्दैन । काम गर्ने व्यक्तिले सन्तुष्टि लिई काम ग¥यो भने त्यसको नतिजा पनि राम्रो आउने गर्छ । अन्यथा अरूको नजरमा ऊ सफल मानिएको छ, राम्रो जागिरमा छ, बाहिरवाट हेर्दा ऊ निकै सफल देखिएको छ, तर जुन मुख्य व्यक्ति भित्रबाट खुसी छैन, भित्रभित्रै छटपटी छ, बेचैनी छ र निराशाकोे वातावरणमा रुमल्लिरहेको रहेछ भने त्यो सफलताको कुनै मूल्य हँुदैन । अरूको नजरमा छारो हाल्ने कामबाहेक अरू केही हुँदैन, जब व्यक्ति भित्रबाट खुसी छैन, सन्तुष्ट छैन र आनन्दको अनुभूति गर्न सकेको हँुदैन तब उसको बाहिरी सफलताको कुनै मूल्य हँुदैन अनि त्यस्तो फोस्रो र खोक्रो सफलता आत्मसात् गरी बाँचिरहनु र निरन्तर असफलता भोगेको व्यक्ति जिइरहनुमा खास अन्तर देखिँदैन । सफल भएपछि जीवनमा खुसी आउनुपर्ने हो, यो सामान्य मान्यता हो, तर सफल व्यक्तिहरू पनि जिन्दगीमा खुसी भएर बाँच्न नसकेका कैयौं घटना संसारमा देखिएका छन् । यस अर्थमा भन्न सकिन्छ कि सफल व्यक्तिहरू खुसी हुन्छन् नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । सफलताको मात्र पछि दौडनेहरूको व्यथा यस्तै नै हुँदो रहेछ । तर, व्यक्तिले जिन्दगीभरिमा प्राप्त गर्न खोज्ने कुरा भनेको क्षणिक सफलताभन्दा पनि अन्तिममा खुसी, आनन्द र सन्तुष्टि नै हो । खुसीबिनाको आनन्द र सन्तुष्टिबिनाको सफलताको कुनै मूल्य हँुदैन । त्यसकारण सफलतालाई सम्पूर्ण कुरा नमानी सन्तुष्टिको एक अंग मात्र मानेर कार्यमा अग्रसर भए अवश्य पनि व्यक्ति जिन्दगीभरी नै प्रफुल्ल रही कार्य सम्पादन गर्न सक्षम हुन्छ । यो नै व्यक्तिको कार्य सम्पादन गर्नका लागि आवश्यक पर्ने अविरल ऊर्जा र अमूल्य सम्पत्ति पनि हो, जसबाट व्यक्तिले कहिल्यै निराश हुनु पर्दैन र जहिले पनि खुसी, उमंग, आनन्द र सन्तुष्टि मात्रै जीवनमा प्राप्त भइरहन्छ ।
-प्रदीप खनाल