रमेश घिमिरे
आइतवार, माघ ६, २०७५
328

सामाजिक सञ्जालले विश्वका सबै मानिसलाई आफ्ना संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धन गर्ने समान अवसर प्रदान गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने तथा सञ्चार प्रवाह गर्ने प्रविधिको विकासका क्रममा अहिले विश्व सामाजिक सञ्जालको युगमा रहेको छ । सामाजिक सञ्जालको विपक्षमा मत दिने विश्लेषकहरू पनि विश्वमा उल्लेख्य संख्यामा छन् । यस लेखमा सामाजिक सञ्जालले नागरिकमा वास्तविक लोकतन्त्रको अनुभव दिलाएको निष्कर्ष निकालिएको छ ।
सञ्चारको विकासको कुरा गर्दा पहिले भित्ते चित्र, हाउभाउ र आवाज मात्र थिए । मानिसले भाषा, शब्द, अक्षरको विकास गरेका थिएनन् । हजारौं वर्षसम्म त्यस्तो अवस्था कायम रह्यो । भाषा र लिपिको विकास भएपछि भित्ता, ढुंगा र धातुमा लेख्ने तथा मुखले बोलेर सन्देश व्यक्त गरियो । पात, जैविक वस्त्र आदिमा जैविक रंगले चल्ने प्रविधिको विकास भयो ।
लेखेर सञ्चार गर्न सक्ने प्रविधि विकास भए पनि एक ठाउँबाट अर्को ठाउँमा सन्देश पुर्याउन साधन थिएन । मानिस आफैंले हिंडेर, घोडा चढेर वा चराचुरुङ्गीको शरीरमा सन्देश लेखेर छोडिदिने र दोस्रो भूगोलमा रहेका मानिसले त्यो हेरेर थाहा पाउँथे । कपडा वा पातमा सन्देश लेखिन्थ्यो । करिब २ हजार वर्षअघि कागजको आविष्कार भएपछि प्वाँख र बाँसले लेख्ने प्रविधिको विकास भयो । यो प्रविधि सयौं वर्ष चल्यो ।
सन् १४४० मा जर्मनीमा जोहानेस गुटेनवर्गले प्रिन्टिङ प्रेसको आविष्कार गरेपछि आमसञ्चारको युगको सुरुवात भयो । हातले लेखेका सीमित पुस्तकहरूलाई छापेर हजारौं प्रति निकाल्न सकिने भयो । त्यसपछि पत्रपत्रिका पनि प्रकाशित हुन थाले । पत्रपत्रिका र पुस्तकहरूमार्फत गल्ती सन्देश प्रवाह गरेर समाजलाई भ्रमित पार्ने सम्भावना रह्यो । त्यस्तै, शासकहरूले भ्रमित पारेका जनतालाई सत्य सन्देश दिएर जागरुक बनाउने पनि सम्भावना रह्यो ।
पुस्तक र पत्रत्रिका सरकारले नियन्त्रण गर्ने कानुनी व्यवस्था लागू भए । कुनै देश र समाजमा जनतालाई अभिव्यक्ति स्वतन्त्रता दिइयो र जोकोही नागरिकलाई पुस्तक र पत्रपत्रिका लेखेर छाप्न अनुमति दिइयो । आमसञ्चार केही शताब्दी पत्रपत्रिका र पुस्तक युगको रुपमा सीमित रह्यो । सन् १९२० मा रेडियोको आविष्कार भएपछि छाप्ने प्रविधिभन्दा छिटो सन्देश पठाउन सकिने भयो । त्यसको केही दशकपछि चलचित्रसहित सन्देश प्रवाह गर्ने टेलिभिजनको आविष्कार भयो ।
२० औं शताब्दीसम्म आम सञ्चारका रूपमा छापा, रेडियो र टेलिभिजन प्रचलनमा रहे । सन् १९९० मा इन्टरनेटको आविष्कार भएपछि २१ औं शताब्दीमा न्यू मिडिया थपियो । इन्टरनेटमा अक्षर, ध्वनि, चित्र र चलचित्र सबै एकैपटक प्रकाशित गर्न मिल्ने भयो । इन्टरनेट हेर्न जटिल प्रविधि भएको कारण सबै मानिसमाझ यो विस्तार हुन सकेन, तर विश्वको ठूलो जनसंख्यालाई भने यसले सेवा दियो ।
अखबार, टेलिभिजन, रेडियो र अनलाइन माध्यमहरू ठूलो पुँजी भएका व्यक्तिले मात्र सञ्चालन गर्न सक्छन् । सर्वसाधारण जनता यसका अडियन्स मात्र हुन्छन् । २१ औं शताब्दीको पहिलो दशकपछि विश्वमा इन्टरनेटमा आधारित सामाजिक सञ्जालको प्रयोग तीव्र गतिमा बढ्यो ।
मार्क जुकरबर्गले सन् २००४ मा अमेरिकामा स्थापना गरेको फेसबुकका सक्रिय प्रयोगकर्ता अहिले २ अर्ब २७ करोड पुगेका छन् । चाद हर्ली, स्टेभ चेन र जवेद करिमले सन् २००५ मा अमेरिकामा स्थापना गरेको युट्यूबका सक्रिय खाताको संख्या १ अर्ब ८० करोड पुगेको छ । ज्याक डोर्सी, नोह ग्लास, बिज स्टोन र इभान विलियम्सले सन् २००६ मा अमेरिकामा स्थापना गरेको ट्युटरका सक्रिय प्रयोगकर्ता ३३ करोड ६० लाख पुगेका छन् ।
सामाजिक सञ्जालमा खाता खोलेर आफ्ना विचार र सन्देश व्यक्त गर्न दर्ता शुल्क, सञ्चालन शुल्क, ठाउँ (स्पेस) खरिद केही पनि लागत पर्दैन । प्रयोगकर्तासँग इन्टरनेटको पहुँच र डिभाइस (कम्प्युटर वा मोबाइल सेट) भए पुग्छ । डिभाइसहरू सस्तोमा पाइने, इन्टरनेटको पनि मूल्य घट्दै तथा सेवा विस्तार हुँदै गएको हुनाले सामाजिक सञ्जाल लोकप्रिय हुन सकेका हुन् ।
सामाजिक सञ्जालहरूले मानिसहरूबीचको भौतिक भेटघाटलाई कम गराई भर्चुअल सोसाइटी अर्थात् अभौतिक समाजको सिर्जना गरिरहेका छन् भनी आलोचना हुने गरेको छ । मानिस–मानिसबीच प्रत्यक्ष भेटघाटबिना समाज नै नबन्ने भएकाले यसलाई सामाजिक सञ्जाल नै भन्न नमिल्ने तर्क पनि यसका आलोचकहरूले गरेका छन् ।
त्यसैगरी, प्रतिष्ठित व्यक्तिहरूको छवि गिराउन जथाभावी चित्र, फोटो र कथन प्रकाशित गर्ने अवसर यस्ता सञ्जालले उपलब्ध गराएको हुनाले यसले समाजलाई अधोगतितर्फ लगिरहेको दाबी पनि आलोचकहरूले गरेका छन् । सामाजिक सञ्जालमार्फत भ्रमको खेती, अपराध, ठगी फस्टाइरहेको उनीहरूको भनाइ छ । अमेरिकालाई विश्वभरिको संस्कृति मासेर आफ्नो संस्कृति विस्तार गर्न सामाजिक सञ्जालको अवधारणा प्रयोगमा ल्याएको भनेर पनि आलोचना भएको छ ।
यस्ता तर्क र दाबीहरूमा कुनै तुक भेटिँदैन । पैदल हिंड्दा सुरक्षित थियौं, मोटर दुर्घटना हुँदा पनि बाँचिने सम्भावना थियो, हवाईजहाज दुर्घटनाबाट मर्ने निश्चित छ भनेर हवाईजहाज चलाउनु हुँदैन भने जस्तो तर्क हो यो । यदि भर्चुअल सोसाइटी चाहिएको छैन भने सामाजिक सञ्जालको किन ? टेलिफोन, इन्टरनेट, चिठीपत्र सबैको विरोध गरे हुन्छ ।
सामाजिक सञ्जालबाट मात्र होइन, भ्रमको खेती पुस्तक, पत्रिका, टेलिभिजन, रेडियो, पर्चा–पम्पलेट, माइकिङ, संगठन विस्तार तथा माउथ टु माउथ सम्पर्कमार्फत बढी भएका छन् । मानिसहरूले जे–जे प्रयोग गर्छन्, ठगी र अपराध गर्नेले त्यसमै प्रवेश गरेर अपराध गर्छ । नगर बसभित्र धनमाल पकेटमारी हुन्छ भने सामाजिक सञ्जालमा फरक प्रकृतिको चोरी हुन्छ ।
विश्वभरका धेरै मानिसले अमेरिकी प्रणाली मन पराउँछन्, अमेरिकामा बसाइँसराइ गर्न चाहन्छन् । उनीहरू अन्धविश्वास, रुढीवाद, कुरीति र कुसंस्कारबाट माथि उठ्न चाहन्छन् । सामाजिक सञ्जालले विश्वका सबै मानिसलाई आफ्ना संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धन गर्ने समान अवसर प्रदान गरेको छ । मानिसहरूलाई पुर्खाले गरेको संस्कार हुबहु मान्नैपर्छ भनेर बाध्य पार्नु हुुँदैन, उसको विवेकले जे गर्न चाहन्छ, त्यो गर्न दिनुपर्छ ।

सामाजिक सञ्जाल भनेको वास्तवमा लोकतन्त्रको प्रमुख र वैज्ञानिक सूचक हो । पैसा, पहुँच र शक्ति नभएका सर्वसाधारण व्यक्तिले पनि आफ्ना विचार व्यक्त गर्न र अरूलाई सुनाउने मौका पाउँछन् ।

अखबार, टिभी र रेडियोबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सही प्रयोग हुँदैन । त्यस्ता आमसञ्चारमाध्यम निश्चित समुदाय, वर्ग र समूहका व्यक्तिको स्वार्थमा चलेका हुन सक्छन् ।
आमसञ्चारमाध्यमले गल्ती सन्देश प्रवाह गरेबापत जहाँ गल्ती सन्देश प्रकाशित भएको हो, त्यही स्थानमा माफी प्रकाशन गरेमा छुट पाउने विश्वव्यापी मान्यता छ । सामाजिक सञ्जालमा कसैले नराम्रो भनेको कुरालाई अरूले कमेन्ट, रिकमेन्ट, नयाँ पोस्ट गरेर तुरुन्तै र सहजै काउन्टर दिन सक्छन् भने सजायको व्यवस्था आवश्यक नै छैन ।