रमेश घिमिरे
सोमवार, माघ २८, २०७५
384

अवैध धनलाई अवैध रुपमै प्रयोग गरिरहने संख्या पनि ठूलो छ ।

कतिपय ठाउँमा सेवा वा वस्तु बिक्री गर्ने पसल, कम्पनी, फर्म, होटल, रेष्टुरेन्ट, कम्प्युनिकेसन, ट्राभल, क्लिनिक, हस्पिटल, सप्लायर्स, कन्ट्रयाक्टर, सहकारी आदिको संख्या सेवा लिनेको भन्दा धेरै जस्तो देखिन्छ । नेपालमा यत्रा धेरै नाफामूलक बिजनेश किन सञ्चालन भएका देखिन्छन् ? यस लेखमा यसबारे खोतल्ने प्रयास गरिएको छ ।
कारोबारसमेत गर्ने र बोर्ड मात्रै टाँसेका बिजनेशको संख्या नै बढी देखिन्छ । दर्ता भएका बिजनेशको संख्या हे-यो भने झनै अस्वाभाविक देखिन्छ । औपचारिक संस्थाबिना नै कालो कारोबार गर्नेको संख्या यहाँ ठूलै छ । त्यसबाहेक संस्थाको समेत प्रयोग गरेर कालो, खैरो र सेतो पैसा मिसमास गर्नेको संख्या पनि ठूलो छ ।

भारतीय र नेपाली नागरिकको बिजनेश छुट्याउन नसकिने गरी गाँसिएको हुन्छ भने चिनियाँको बिजनेशको आकार पनि ठूलै छ । सानादेखि ठूला बिजनेशसम्म यसरी सञ्चालन भएको देखिन्छ । यहाँ कमाएको पैसा भारतमा जम्मा गर्ने वा भारतमा कमाएको पैसा यहाँ जम्मा गर्ने सामान्य जस्तै छ । दोहोरो नागरिकता हुनेको संख्या लाखौं छ ।
यस्ता कारोबार विश्वभर हुन्छन् । तर, नेपाल र भारतको हकमा यसको हिस्सा निकै ठूलो छ । औपचारिक अर्थतन्त्रसँग तुुलना गर्दा ४० प्रतिशत यस्तो अर्थतन्त्र रहेको अर्थशास्त्रीहरु अनुमान गर्दछन् । जसअनुसार भारतमा छायाँ र कालो अर्थतन्त्रको आकार १० खर्ब डलर र नेपालको ८ अर्ब डलर रहेको देखिन्छ ।
कुनै बेला भारतीयले नेपालमा क्यासिनो खेलेर जितेको भनी कर तिरेर कालोधनलाई सेतो बनाउँथे । त्यस्तै, नेपालमा एकल वा संयुक्त व्यापार व्यवसाय गरी नाफा भएको देखाएर भारतमा आर्जन गरेको अवैध धनलाई वैध बनाउँछन् भन्ने आरोप पनि छँदैछ । यस्तै, नेपालीले पनि यहाँ अवैध आर्जन गरेको पैसा भारत वा तेस्रो मुलुक पु-याएर त्यहाँबाट यहाँ ससानो रकम ट्रान्सफर गरी वैध बनाउँछन् ।
नेपालमा भ्रष्टाचारबाट कमाएको पैसा सीमित प्रशासक र राजनीतिकर्मीले तेस्रो मुलुकमा लगेका छन् भने अधिकांशले भारतमा घरजग्गा, उद्योग व्यवसाय र बैंक बचतमा लगानी गरेका छन् । नेपाली आफैंले भारतमा सम्पत्ति किन्न सक्ने सुविधा त्यहाँको सरकारले दिएको छ । भारतीयले यहाँ घरजग्गामा भने लगानी गरेको पाइदैन ।
टिभी, मोबाइल, ल्याबटप, कम्प्युटर, ब्राण्डेड हिटर, माइक्रोओभन जस्ता विद्युतीय सामान र होम एप्लायन्सेसहरु करिब ३० प्रतिशत औपचारिक बिलबिना कारोबार हुने गर्दछ । लत्ताकपडा, हार्डवेयर समान, खेलौना, विद्युतीय सामान र होम एपलाइन्सका पार्टस्, मोटोर पार्टस, किराना, फुटकर आइटमहरु कति बिलबिना वा कति कम मूल्यांकनमा बिलिङ्ग हुन्छ भन्ने अनुमान नै गर्न सकिंदैन ।
उपभोग र विलासमा खर्च गर्ने धनलाई वैध बनाउन नै परेन, बचत गर्ने वा लगानी गर्ने सम्पत्तिलाई वैध बनाउनुपर्ने आवश्यकता हुन्छ । त्यसैले प्रतिव्यवसायी वार्षिक लाखौंमा हुने अवैध मुनाफालाई कुनै समस्या छैन, करोडौं मुनाफालाई लुकाउन वा वैध बनाउन भने मिहेनत गर्नुपर्दछ । त्यसो त अवैध धनलाई अवैध रुपमै प्रयोग गरिरहने संख्या पनि ठूलो छ ।
सपिङ कम्प्लेक्सहरु र सडक छेऊ सटर निर्माण गर्न जग नपुर्दै बुक हुन्छन् । बुक गर्न तिरिने सलामी रकम ६ महिनादेखि १ वर्षको भाडा बराबर हुने गर्दछ । जसले गर्दा बिजनेशको लागत अत्यन्तै उच्च हुन जान्छ । त्यहाँ बिजनेश गर्नेले आप्mनो नोक्सान असुल्न महँगोमा दोस्रोलाई बिजनेश बेच्ने मात्र विकल्प हुन्छ । एवम् रितले आफू ठगिने र अरुलाई ठगेर सन्तुलनमा आउने प्रवृत्ति हुन्छ ।
कतिपय फेन्सी पसलमा दिनभरमा एउटै ग्राहक नपसेको देखिन्छ । उसले एक हप्तामा एउटा ग्राहक आयो भने सयौं वा हजारौं प्रतिशत मुनाफामा सामान बेचेर लागत असुल्छ । उपभोक्तामा पर्याप्त सूचना नभएको वा बिक्रेतामा अधिक सूचना भएको अवस्थामा ग्राहक यसरी ठगिन्छन् । अर्थशास्त्रमा यसलाई एसिमेट्रिक सूचनाको प्रभाव भनिन्छ ।
कतिपय निजी ससाना हस्पिटलको आम्दानीको प्रमुख स्रोत गर्भपतन हुन्छ । १८ हप्ता नाघेको र गोप्य राख्नुपर्ने गर्भपतनका लागि त्यस्ता अस्पतालले ५ लाख रुपैयाँसम्म लिन्छन् । त्यस्तो गर्भलाई हस्पिटलले लुकाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि ठूला अस्पतालको फोहोर जलाउने जिम्मेवारी पाएको व्यक्तिसँग मिलेमतो गरिन्छ । त्यस्तै, सस्तो बेड चार्जमा बिरामी भर्ना गर्ने र पछि चिकित्सकहरुसँग मिलेर अनावश्यक अपरेसन वा वास्तविक लागतभन्दा महँगोमा अपरेसन गर्ने वातावरण मिलाई लाखौं असुल गर्ने गर्दछन् ।
नेपालको कानुन अनुसार नेपालीले यहाँको सम्पत्ति बिक्री गरेर विदेश लैजान पाउँदैनन् । तर अष्ट्रेलिया, अमेरिका र क्यानाडामा स्थायी बसोबासको प्रमाणपत्र पाएका नेपाली प्रायः सबैले यहाँको सम्पत्ति बिक्री गरेर लगेकै छैन । हुण्डी कारोबार र यहाँबाट जाने नेपालीसँग पटके रुपमा थोरै थोरै डलर मगाएर उनीहरुले सम्पत्ति लगेका छन् ।
हुण्डी मात्रै गर्ने एउटा व्यवसाय त छँदैछ । साथै मनी ट्रान्सफर, मनी चेन्जर र सहकारी संस्थाहरुले समेत यो कारोबार गर्ने गरेको पाइन्छ । भारतमा काम गरेर भारु ल्याउने नेपाली धेरै नै छन् । उनीहरुसँग १६५ को दरले भारु किनेर भारतमा लगानी गर्ने गरिन्छ । एउटै समूहको भारत र नेपालमा कारोबार हुने हुँदा यहाँ नेरु बुझ्ने र संकेत नम्बर लिएर भारतमा भारु बुझ्ने सेवा पनि यहाँ उपलब्ध छ ।
विश्वभरि नै छिटो र बढी धन कमाउन केही मानिसहरुले नैतिकता विपरीत अवैध कारोबार गरेको पाइन्छ । तर नेपाल र भारत जस्ता मुलुकमा इमान्दारपूर्वक व्यावसायिक प्रतिस्पर्धामा अब्बल सावित भए पनि नाफा सुनिश्चित नभएका कारण समेत यस्ता व्यवसाय गरेका पाइन्छ । सरकारले सुरक्षा दिन सक्दैन, जसले गर्दा टोले गुण्डालाई सहयोग गरेर टाठाका गुण्डाबाट सुरक्षा प्राप्त गर्नु बिजनेशम्यानका लागि बाध्यता छ ।
पहुँचवाला व्यक्तिले कर छली गरेर मुनाफा गरिरहेका हुन्छन् । आफूले इमान्दारपूर्वक गर्दा जिविकोपार्जन हुँदैन । गुणस्तरीय सेवा र सामान बेच्ने, ठगी नगर्ने र व्यावसायिक सेवा दिनेलाई सरकारले संरक्षण र प्रोत्साहन गर्न सकेको छैन । छिमेकी पसलेले अवैध व्यापारसँग मिसाएर कुनै सामन निकै सस्तोमा बिक्री गरेको हुन्छ, इमान्दारले कसरी प्रतिस्पर्धा गर्ने ?
विभिन्न अवैध ढंगले आर्जन भएको धनलाई ग्राहकभन्दा बढी संख्यामा देखिने गरी खुलेका नाफामूलक बिजनेशमार्फत व्यवस्थापन गरिन्छ । घाटामा चल्ने बिजनेश वा कारोबार नै नहुने बिजनेशलाई उच्च नाफा देखाइन्छ । कालो वा छायाँ कारोबार गर्दैमा सबैले उच्च मुनाफा गर्छन् भन्ने हुँदैन । किनकि त्यस्तो बजारमै यहाँ तीव्र प्रतिस्पर्धा छ । एउटै व्यक्तिले वैध र अवैध दुवै व्यापार गरेर आप्mनो मुनाफालाई सन्तुलन पनि गर्दछन् ।
सरकारले भारत वा अन्य देशमा जाँदा आवश्यक पर्ने विदेशी मुद्रा साटेर लैजान पनि असहज स्थिति सिर्जना गरेको छ । विदेशमा आप्mनो सम्पत्ति लैजान वा व्यवसाय विस्तार गर्न रोक लगाएको छ । त्यसैले नेपालमा कालो र खैरो बजारको उपस्थिति निसन्देह ठूलो छ, जुन मुलुकको शान्तिसुरक्षा, सामाजिक न्याय र समृद्धिको लागि राम्रो होइन । यसको कारण कारोबारीको गलत नियत मात्र नभई निजी क्षेत्रमैत्री वातावरणको अभाव पनि हो ।