सुदर्शन अधिकारी
शुक्रवार, फाल्गुन १०, २०७५
379

सहरीकरणको विकास द्रुत र अव्यवस्थित भएका कारण ध्वनि प्रदूषण पनि वातावरणीय स्वास्थ्य समस्याका रूपमा धेरैजसो सहरमा देखिएको छ ।
योजनाबद्ध र व्यवस्थित सहरीकरणको प्रक्रियाबाट विकासका आयामहरू थपिन्छन्, औद्योगीकरणको प्रक्रिया अगाडि बढ्छ भने सामाजिक अन्तक्र्रिया तथा अन्तरसम्बन्धको दायरा पनि व्यापक बन्दै जान्छ ।


सामान्यतया सहरीकरण हुनुलाई विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रका रूपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हुन्छ । हाम्रो सन्दर्भमा भन्नुपर्दा जहाँ सहर भइसकेको छ त्यही अझै बढी मानव बस्ती विकास हुने क्रम बढ्दो छ अनि ग्रामीण क्षेत्र भने सहरीकरणमा परिवर्तन हुन नसकिरहेको अवस्था छ । यसरी हेर्दा सहरमा दिन–प्रतिदिन समस्या थपिँदै गएको छ भने विकास पनि केन्द्रीकृत बन्दै गएको देखिन्छ । गाउँलाई सहर बनाउनुपर्नेमा सबै बनिसकेको सहरमा मात्रै आकर्षित हुँदा समस्या जटिल बन्दै सहरी जीवन कष्टकर हुँदै गएको देखिन्छ ।
मानवीय ज्ञान, बुद्घि र विवेकबाट पूर्ण बनाइए पनि मानवमा सोचाइ, सामूहिक प्रगति र उन्नतिको बाटोलाई समात्न नसक्दा प्रकृति हेपिँदै र खिइँदै गएको हामी सबैले देखे–भोगेकै हो । अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन सहरीकरणले सहरी सम्पदा र प्राकृतिक सुन्दरतामा ह्रास ल्याएको छ । सहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई सहरी जनसंख्यालाई सोही क्षेत्रका स्रोतसाधन तथा पूर्वाधारले वहन गर्न सके मात्र त्यसले फाइदा पु¥याउँछ । तर, हाम्रो सन्दर्भमा ठीक विपरीत भएको देखिन्छ, जसका कारण फाइदाभन्दा बेफाइदालाई निम्त्याइरहेको छ । विगत चार दशकमा सहरी जनसंख्या पाँच गुणाले वृद्धि भएको तथ्यांकले देखाएको छ । जनसंख्या वृद्धिकै कारण प्रकृतिले मानव कल्याण र स्वस्थ जीवनका दिएको स्वच्छ हावाको गुणात्मक सुन्दरता प्रदूषित बनेको छ ।
वायु प्रदूषणले सहरी वातावरणलाई नराम्ररी गाँजेको छ । यातायातका साधनको वृद्धिसँगै ट्र्याफिक व्यवस्थापन पनि चुनौतीपूर्व बन्दै गएको छ । पुराना सवारी साधनबाट निस्कने धूवाँ उद्योग–कलकारखानाबाट निस्कने धूवाँ–धूलो, कच्ची र खाल्डाखुल्डी सडक सबै अव्यवस्थित सहरीकरणका कारण हुन् । समग्र वातावरणलाई तिनै धूवाँ–धूलो र सूर्यका किरणले गर्दा विभिन्न अस्वस्थकर ग्यासको उत्पादन भई मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । यस्ता प्रदूषणयुक्त ग्यास वायुमण्डलमा फैलिएपछि एकातर्फ पारिस्थितिक प्रणालीमा असर पर्छ भने अर्कातर्फ जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ । वायु प्रदूषणले मानवदेखि जीवजन्तु, रूखबिरुवा तथा ऐतिहासिक धरोहरमाथि समेत हानि पु¥याउँछ ।
सहरी क्रियाकलापबाट निस्केको धूवाँले दृश्य क्षमता घटाउँदै ओजन तहको विनाश गरेर मानवीय विपत्ति निम्त्याउँछ भने हरित गृह प्रभावको माध्यमबाट पृथ्वीको तापक्रम बढाउँछ, जसले गर्दा अम्लवर्षा हुन्छ । त्यसले बोटविरुवा तथा जलचरलाई मार्नेदेखि माटोको उत्पादकत्व समेत घटाउने कार्य गर्छ । सहरीकरणको विकास र विस्तार हुने क्रम अठारौँ शताब्दीको औद्योगीकरणपश्चात् भएको मानिन्छ । सहर विकासका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य हुन्छ, जसअन्र्तगत व्यापारिक केन्द्रको विकास, व्यापार र उद्योगको विकास, बाटो, विद्युत्, यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार आदि क्षेत्रको विकास पर्छन् । विभिन्न प्रशासनिक एकाइको गठन, कार्यविशिष्टता, सेना–प्रहरी आदिको विकास हो ।
सहरीकरणका लागि अर्को आधार जनसंख्याको आकारमा वृद्धि हो । घना जनसंख्या पनि सहरको विशेषता नै हो । अर्को पक्ष भनेको एउटा सामाजिक संस्कृतिक प्रक्रिया हो, जहाँका व्यवहार, सामाजिक सम्बन्ध, क्रियाकलाप, सोचाइ र जीवनशैली ग्रामीण जीवनशैलीभन्दा भिन्न हुन्छन् । वर्तमान समयमा नेपालको सहरी क्षेत्रलाई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । तीनै प्रकारका नगरपालिका बन्नका लागि निश्चित पूर्वाधार तयार हुनुपर्छ भनिए पनि त्यस्ता पूर्वाधारहरूको विकास भएको देखिँदैन । न्यूनतम पूर्वाधारसमेत विकास नगरी नगरपालिका घोषण गरिएका छन् । नेपालको असन्तुलित विकास अथवा सहरकेन्द्रित आर्थिक, प्रशासनिक र शैक्षिक विकासका साथै स्वास्थ्य, रोजगार आदिका क्षेत्रको विकास पनि सहरकेन्द्रित हँुदा सहरी बसोबास, जनचाप बढेको छ ।
सहरी क्षेत्रमा बसोबास गर्दा वर्तमान सञ्चारका साधनको प्रयोग गर्न सकिने, अन्तराष्ट्रिय कारोबार गर्न सकिने तथा सुरक्षित जीवन बिताउन सकिने मान्यताले गर्दा मानवको मनोविज्ञान नै सहरी क्षेत्रमा बसोबास गर्न प्रेरित भइरहेको देखिन्छ । दसवर्षे जनयुद्धकालमा धेरै ठूलो संख्यामा विविध कारणले गाउँ छाडेर सहरमा बाँच्न विवस भए । नेपालमा सहरीकरणको प्रकृतिल हेर्दा कैँयौ पूर्वाधारबिना नै सहरी विकास भएको मानिएको छ । न्यूनतम सहरी आधारभूत सुविधाको समेत अभाव देखिन्छ, तर सोही स्थान सहरका नामले चिनिन्छ । हाम्रो सहरीकरणमा बसाइँसराइ र भारतीय प्रवासीहरूले सीमा क्षेत्रको जनसंख्यामा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ । यसबाट सहरी जनसंख्या अनियोजित रूपमा बढेको छ ।
जे–जति उद्योग, व्यवसाय तथा कलकारखाना विकास भएका छन् ती सबै सहरी क्षेत्रमै केन्द्रित हुँदा भविष्यमा पनि सहरी क्षेत्रमा मानवको चाप बढ्ने निश्चित नै छ । अव्यवस्थित सहरी करणले जल प्रदूषणलाई अत्यधिक मात्रामा बढाएको छ । जल प्रदूषण मूलत औद्योगिक फोहोरमैला घरायसी फोहोरमैला, सहरीमेल र वरिपरिबाट आउने रसायनयुक्त कृषिमलबाट हुन्छ । हाम्रा धेरै नगर तथा बजार क्षेत्रमा ढलको अभाव छ र फोहोरमैला व्यवस्थापनको प्रबन्ध मिलाउन सके पानीका स्रोतमा पुग्नुअगावै तिनलाई प्रशोधनको प्रक्रियाद्वारा सफा गराउन सकिन्थ्यो । तर, हाम्रा वहन गर्ने क्षमता नाघिसकेका सहरबाट निस्केका ढल तथा फोहरमैला बिनाप्रशोधन नदीनाला, ताल एवं पोखरीमा पुग्ने गरेका छन् । त्यसैकारण हाम्रा प्रमुख सहरवरिपरिका नदीलाई नदी नभनेर ढल नै भन्नुपर्ने अवस्था आएको छ ।
सहरीकरणको विकास द्रुत र अव्यवस्थित भएका कारण ध्वनि प्रदूषण पनि वातावरणीय स्वास्थ्य समस्याका रूपमा धेरैजसो सहरमा देखिएको छ । वातावरण सम्बन्धी अध्ययनको तथ्याङ्कले काठमाडौँलाई सबैभन्दा प्रदूषित सहरका रूपमा देखाएको छ । सहरमा विशेष गरी ट्राफिक, औद्योगिक क्रियाकलाप, निर्माण कार्य र भीडको कोलाहल ध्वनि प्रदूषणका कारण हुन् । काठमाडौँ उपत्यका सहर र बाहिरका प्रमुख सहरलगायत राजमार्ग आसपासका सहरी क्षेत्रमा यो प्रमुख समस्या बन्दै गएको छ । सहरीकरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ भने लुटेरा, डकैती भ्रष्टाचारी, नैतिक पतन, सामन्तीजस्ता समूहहरूको क्रीडास्थल पनि बन्न गएको छ । सहरीकरणकै कारण मानवमा व्यक्तिवादीपनसमेत बढेर गएको छ भने पारिवारिक ढाँचामा पनि परिवर्तन आएको छ ।
सडक बालकको संख्यामा वृद्धि भएको छ, वृद्धहरू अपमानित भएका छन् भने सामूहिकता हराएको छ । दुराचार, दुव्र्यसन, चोरी, ठगी, बेरोजगारी, आत्महत्या, यौनशोषण, एकाङ्कीपन आदि पक्षको विकास भएर गएको छ । यसको असर परिवार, समुदाय र राष्ट्रिय स्तरमा समेत पर्दै गएको छ, जसले मुलुकको सर्वाङ्गीण विकासमा प्रत्यक्ष–अप्रत्यक्ष असर गर्छ । सही र सन्तुलित तथा व्यवस्थित सहरी विकासलाई भने नकारात्मक मान्न सकिँदैन । योजनाबद्ध र व्यवस्थित सहरीकरणको प्रक्रियाबाट विकासका आयामहरू थपिन्छन् । औद्योगीकरणको प्रक्रिया अगाडि बढ्छ भने सामाजिक अन्तक्र्रिया र अन्तरसम्बन्धको दायरा पनि व्यापक बन्दै जान्छ, जसका लागि सहरीकरण गर्नुअगाडि पर्याप्त पूर्वाधारको विकास र सहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्न सके मात्र सहरीकरणले फाइदा पु-याउँछ ।