मनिषा चम्लागाईँ
शुक्रवार, फाल्गुन १०, २०७५
325

काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आए पनि यो नाका प्रयोग गर्दै बहिरिनेको संख्या भने बढेको छ ।

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ । भारतलगायत तेस्रो देशबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या घटेको हो । सन् २०१७ को तुलनामा २०१८ मा नेपाल भित्रिने पर्यटक ३ सय २२ जनाले घटेको अध्यागमन कार्यालय, काँकडभिट्टाले जनाएको छ ।
सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने पर्यटक ११ हजार ४ सय ९७ थिए । सन् २०१८ मा ११ हजार १ सय ७५ मात्र रहेको अध्यागमन कार्यालय, काँकडभिट्टाको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा ७ हजार ५ सय २८ विदेशी र ३ हजार ९ सय ६९ नेपाली आएको अध्यागमन कार्यालयले जनाएको छ । सन् २०१८ मा ६ हजार ४ सय १८ विदेशी र ४ हजार ६ सय ५७ नेपाली उक्त नाका हुँदै नेपाल भित्रिएका छन् ।

बंगलादेशबाट २ हजार २५ जना, भुटानबाट १ हजार ६ सय १६ जना, अमेरिकाबाट ८ सय २२ जना, दक्षिण कोरियाबाट ४ सय २० जना र फ्रान्सबाट २ सय १२ जना पर्यटक सन् २०१७ मा नेपाल भित्रिएका थिए । त्यस्तै सन् २०१८ मा बंगलादेशबाट १ हजार ९ सय ३२, अमेरिकाबाट ८ सय ५६, भुटानबाट ७ सयय ६९, कोरियाबाट ३ सय ६० र थाइल्यान्डबाट ३८ जना पर्यटक नेपाल आएका थिए । यसमा सबैभन्दा बढी बंगलादेशबाट पर्यटक भित्रने गरेका छन् । तर, अघिल्लो वर्षभन्दा यस वर्ष बंगलादेशबाट नेपाल भित्रिने पर्यटकको संख्या पनि घटेको तथ्याङ्कमा उल्लेख छ ।
यस वर्ष भुटानी पर्यटक पनि तुलानात्मक रूपमा घटेका छन् । गत वर्षभन्दा यस वर्ष ८ सय ४७ जना भुटानी पर्यटक घटेको बताइएको छ ।
पर्यटकको आगमनमा पर्व, महोत्सव र धार्मिक कार्यक्रमले प्रभाव पार्ने जानकारहरू बताउँछन् । काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आए पनि यो नाका प्रयोग गर्दै बहिरिनेको संख्या भने बढेको छ ।
सन् २०१७ र २०१८ को तथ्याङ्क हेर्दा यो नाकाबाट बाहिरिने पर्यटकको संख्या बढेको देखिन्छ । भारतमा ९० दिनका लागि भिसा दिने र उक्त भिसा सकिएपश्चात् भिसा थप्न काँकडभिट्टामा अवस्थित अध्यागमन कार्यालयसम्म तेस्रो देशका पर्यटकहरू आउने गरेका छन् ।
धेरैजसो पर्यटक काँकडभिट्टामा आएर १५ दिनसम्मको भिसा लिने र पुनः अन्य मुलुक फर्कने गरेका कारण फर्कने पर्यटकको संख्या बढिरहेको कार्यालयले जनाएको छ ।
सन् २०१७ मा १० हजार ३ सय ६६ जना तेस्रो मुलुक बाहिरेका थिए । सन् २०१८ मा १० हजार ५ सय ५ जना बाहिरिएका छन् । सन् २०१७ मा ६ हजार ७ सय ४८ जना विदेशी र ३ हजार ६ सय १८ नेपाली पर्यटक उक्त नाका हुँदै बाहिरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यसैगरी, सन् २०१८ मा ६ हजार ४ सय ४५ विदेशी र ४ हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बंगलादेशबाट २ हजार २५ जना, भुटानबाट १ हजार ६ सय १६ जना, अमेरिकाबाट ८ सय २२ जना, दक्षिण कोरियाबाट ४ सय २० जना र फ्रान्सबाट २ सय १२ जना पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।